काठमाडौं। हवाई उड्डयन क्षेत्रको साढे सात दशक लामो अवधिमा मुलुकले तीनवटा आन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने मौका पाएको छ। तीमध्ये आज (पुस १७) बाट दोस्रो ठूलो पर्यटन गन्तव्य पोखरामा ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल’ सुरु भएको छ।
पहिलो अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा त्रिभुवन अन्तर्राष्ट्रिय र भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय यसअघि नै सञ्चालनमा छन्। त्रिभुवन विमानस्थल सञ्चालनमा आएपछि भैरहवा र पोखरा थपिन साढे सात दशक लागेको छ।
विभिन्न समयमा आएका बाधा र अड्चन पार गर्दै झन्डै चार दशकको प्रतिक्षापछि पोखरेलीले आफ्नै आँगनमा अन्तर्राष्ट्रिय विमानस्थल पाएका छन्। जुन आज आइतबार उद्घाटन भएर व्यावसायिक उडान सुरु गर्दैछ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरेर अन्तर्राष्ट्रिय सञ्जाल फैलाउनुपर्छ भन्ने परिकल्पना २०३४ सालमै भएको थियो। तर, बीच-बीचमा आएका राजनीतिक परिवर्तनका असरले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न बजेट विनियोजन हुन सकेन।
मुलुकमा गणतन्त्र प्राप्तिपछि विकास निर्माण तीव्र हुन थाल्यो। त्यही मेसोमा फेरि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चर्चा चल्यो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिले २०६८ चैत ११ मा विज्ञप्ति प्रकाशन गर्दै संघर्षका कार्यक्रम सुरु गरे। पोखरेलीले २०६९ सालको दसैं–तिहारजस्ता चाडपर्वमा समेत १ सय ५३ शृंखलासम्म २ हजार ४ सय २ जनाले ‘रिले अनसन’ समेत गरेका थिए।
आन्दोलनकै बलमा पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन तत्कालीन सरकार तयार भयो। चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ वैशाख १ गते शिलान्यास गरे। निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी सिएमसिईले पायो। चीनको एक्जिम बैंकको ऋण तथा अनुदान सहयोगमा करिब २२ अर्ब रुपैयाँको लागतमा विमानस्थल निर्माण भएको हो। विमानस्थल करिब ३ हजार ७ सय रोपनी क्षेत्रफलमा निर्माण भएको छ।
विमानस्थल शिल्यान्यास हुँदा रविन्द्र अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सरोकार समितिका संयोजक थिए। पछि सांसद हुँदै उनी मन्त्रीसमेत बने। सांसद भएकै बेला विकास समिति सभापति बनेर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा परिणत गरेका थिए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका बेला २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर अधिकारीको निधन भयो।
अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउन, संसदीय सार्वजनिक लेखा समिति सदस्य, विकास समिति सभापति हुँदै विमानस्थल निर्माण उच्चस्तरीय समितिको संयोजक भई कुशलतापूर्वक भूमिका निभाएको भन्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नाम नै ‘रविन्द्र अन्तर्राष्ट्रिय विमानस्थल‘ राख्न पोखरेलीले मागसमेत गरेका थिए।
नेपाल पर्यटन बोर्डका पूर्वसदस्य एवं पर्यटन व्यवसायी विप्लव पाैडेल पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई अहिलेको अवस्थासम्म ल्याउन महत्वपूर्ण भूमिका स्वर्गीय अधिकारीको रहेको बताउँछन्। ‘विमानस्थल सञ्चालनमा आएर पोखरेलीको सपना पूरा भएको छ। यो सपना पूरा गर्न स्वर्गीय अधिकारीको महत्वपूर्ण भूमिका छ,’ व्यवसायी पोखरेलले क्यापिटल नेपालसँग भने, ‘उहाँको योगदानलाई कहिल्यै भुल्न सकिँदैन।’
अधिकारी पर्यटनमन्त्री बनेपछि पनि धेरै समय पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकै विषयमा चासो र चिन्ता राख्ने गरेका थिए। उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रोकिएको कामसमेत तीव्र गतिमा अगाडि बढाएका थिए भने पोखरा विमानस्थललाई विशेष प्राथमिकतामा राखेर काम गरेका थिए।
पोखरा विमानस्थल निर्माण गर्न कुनै पनि समस्या र अवरोध हुन नदिन सधैं पोखरेलीसँग अधिकारीले अनुरोध गर्ने गरेको व्यवसायी रमेश थापा सम्झिन्छन्। ‘अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि जति हामी खुसी छौं, सायद उहाँले यो खुसीलाई कतैबाट नियाल्दै हुनुहुन्छ होला,’ व्यवसायी थापाले भने। उनै अधिकारीले विमानस्थल निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणका बेला आउने मुआब्जाको समस्यासमेत समधान गरिदिएका थिए।
‘उहाँले देखाउनुभएको अग्रसरताले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको सपना पूरा भएको छ,’ पर्यटन व्यवसायी हरि भुजेलले भने, ‘उहाँ अहिले सशरीर हामीमाझ नरहे पनि उहाँको आर्दश र पोखराको विकासमा दिएको योगदानलाई भुल्न सकिँदैन।’
चीनको निर्यात आयात (एक्जिम) बैंकको २२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएको हो। यो ऋणको २५ प्रतिशत रकम नेपालले अनुदानस्वरूप पाउने छ। अनुदानबाहेक रकमको ब्याज नेपालले वार्षिक २ प्रतिशतका दरले तिर्नुपर्छ।
चिनियाँ निर्माण कम्पनी सिएएमसिईले गत वर्ष चैतमा चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणकै अवसरमा विमानस्थल नेपाललाई हस्तान्तरण गरेको थियो। ३ हजार ७ सय रोपनी क्षेत्रफलमा निर्माण भएको विमानस्थलमा न्यारोबडी (एयरबस ३२०) आकारका जहाज उडान र अवतरण गर्न सकिन्छ। यस विमानस्थलमा ८ ठूला र ८ साना गरी ११ वटा जहाज पार्किङ क्षमता छ। धावनमार्ग भने २ हजार ५ सय मिटर लम्बाइ र चौडाइ ४५ मिटर छ।