काठमाडौं। सन् २०२२ मा अर्थतन्त्रको आकारका आधारमा नेपाल विश्वको १००औं स्थानमा परेको छ। नेपालको भन्दा ९२ देशका अर्थतन्त्रको आकार सानो छ। अहिले नेपालको अर्थतन्त्रको आकार ३९ अर्ब अमेरिकी डलरबराबर छ। नेपाल विश्वको दोस्रो ठूलो चीन र पाँचो ठूलो अर्थतन्त्र भारतको बीचमा छ ।
नेपालभन्दा अघि ९९औं स्थानमा युरोपेली मुलुक स्टोनिया छ। स्टोनियाको अर्थतन्त्रको आकार ३९.१० अर्ब डलरबराबर छ। यस्तै नेपालपछि १०१औं स्थानमा अफ्रिकी मुलुक जिम्बाबे परेको छ जसको अर्थतन्त्र ३८.३० अर्ब डलरबराबर छ।
विश्वअर्थतन्त्रको आकार बढेर १ हजार १६ खर्ब (१०१.६ ट्रिलियन) डलर पुगेको छ। यो अर्थतन्त्रको आकार १ सय ९२ देशको हो। युक्रेन र अफगानिस्तान यसमा समावेश गरिएको छैन।
सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाको छ। अमेरिकी अर्थतन्त्रको आकार २ सय ५० खर्ब ३५ अर्ब डलर (२५ ट्रिलियन) भन्दा बढी छ। विश्वअर्थतन्त्रको एक चौथाइ हिस्सा अमेरिकाको छ।
सबैभन्दा सानो अर्थतन्त्र भएको देश ओसियानामा रहेको टुभालु हो। टुभालुको अर्थतन्त्र ६ करोड ४० लाख डलरमात्र छ।
विश्वको दोस्रो स्थानमा छिमेकी चीन छ। चीनको अर्थतन्त्रको आकार १ सय ८३ खर्ब २१ अर्ब डलर (१८.३२ ट्रिलियन) छ। ४३ खर्ब डलर (४.३ ट्रिलियन) सहित तेस्रो स्थानमा जापान छ। चौथो स्थानमा जर्मनी छ। उसको अर्थतन्त्र ४० खर्ब ३१ अर्ब डलर (४ ट्रिलियन) को छ।
त्यस्तै छिमेकी भारत पाँचौं स्थानमा उक्लिएको छ। भारतको अर्थतन्त्र ३४ खर्ब ६८ अर्ब डलर ( ३.४६ ट्रिलियन) को छ। ३१ खर्ब ९८ अर्ब (३.१९ ट्रिलियन ) डलरसहित बेलायत छैठौं, २७ खर्ब ७८ अर्ब (२.७७ ट्रिलियन) डलरसहित फ्रान्स सातौं, २२ खर्ब ४० अर्ब (२.२ ट्रिलियन) डलरसहित क्यानडा आठौं स्थानमा छ भने नवौं स्थानमा रुस छ। रुसी अर्थतन्त्र २१ खर्ब ३३ अर्ब (२.१३ ट्रिलियन) डलरबराबर छ। १०औं स्थानमा परेको इटालीको अर्थतन्त्र १९ खर्ब ९७ अर्ब (१.९ ट्रिलियन) डलरबराबर छ।
रुसले आक्रमण गर्नुअघि युक्रेनको अर्थतन्त्र २ खर्ब डलरबराबर थियो। युद्धले युक्रेनको अर्थतन्त्र ध्वस्त भएको छ। त्यही भएर युक्रेनको अर्थतन्त्र यो सूचीमा समावेश छैन।अमेरिका, चीन, जापान, जर्मनी, भारतले विश्वको कूल अर्थतन्त्रको आधा हिस्सा ओगटेका छन्।
विश्वअर्थतन्त्रमा १० देशले मात्रै ६६ प्रतिशत र २५ देशले ८४ प्रतिशत हिस्सा ओगटेका छन्। बाँकी १ सय ६७ देशको हिस्सा १६ प्रतिशतमात्र छ।
२०२२ मा भारतले बेलायतलाई प्रतिस्थापन गरेर विश्वको पाँचौ ठूलो अर्थतन्त्र बनेको छ। आगामी पाँच वर्षमा विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने लक्ष्यमा भारत छ। विभिन्न २० साना देशका अर्थतन्त्रको आकार १ अर्ब डलरभन्दा कम छ।
दक्षिण एसियामा नेपाल पाँचौं
दक्षिण एसियामा नेपाल पाँचौं स्थानमा रहेको छ। पहिलो स्थानमा छिमेकी भारत छ। भारत विश्वको पाँचौ ठूलो अर्थतन्त्र भएको देश हो।
दोस्रो स्थानमा बंगलादेश छ। विश्वमा ३५औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियामा दोस्रो स्थानमा छ। बंगलादेशको अर्थतन्त्र ४ खर्ब ६० अर्ब ८० करोड डलर छ।
यस्तै ४२औं स्थानमा रहेको पाकिस्तान दक्षिण एसियामा तेस्रो स्थानमा छ। पाकिस्तानको अर्थतन्त्र ३ खर्ब ७६ अर्ब ५० करोड डलरको छ। ७७ औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियामा चौथो स्थानमा छ।
श्रीलंकाको अर्थतन्त्र ७३ अर्ब ७० करोड डलरको छ। विश्वमा १००औं स्थानमा रहेको नेपाल दक्षिण एसियाको पाँचौं ठूलो अर्थतन्त्र हो।
दक्षिण एसियामा छैठौं स्थानमा अफगानिस्तान छ। अफगानिस्तानको अर्थतन्त्र २० अर्ब १२ करोड, माल्दिभ्स ५.९ अर्ब र भुटानको २.७ अर्ब डलरबराबर छ।
२०२३ मा पनि विश्व अर्थतन्त्रमा संकट कायम रहने अनुमान अर्थशास्त्रीको छ। विश्वको जनसंख्या बढेर ८ अर्ब पुगेको छ।
भिजुअल क्यापटलिस्टको सहयोगमा