काठमाडौं। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) ले ४ सय केभी क्षमताको सबस्टेसन बनाउने भएको छ।
सबस्टेसन बनाउन एमसिएले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्न लागेको छ। ढिलोमा आगामी फागुनसम्म उक्त क्षमताको सबस्टेशन बनाउन बोलपत्र आह्वान हुने एमसिएले जनाएको छ।
एमसिए नेपालका अनुसार सबस्टेसनका लागि जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको छ। एमसिएले काठमाडौंबाट पश्चिमतर्फ तीन स्थानमा सबस्टेसन निर्माण गर्न लागेको हो। नुवाकोट रातमाटे, तनहुँ दमौली र रुपन्देही बुटवलमा सबस्टेसन निर्माणको तयारी छ।
तीन स्थानमा ४ सय केभीको सबस्टेसन निर्माण हुनेछ। जसमध्ये नुवाकोट रातमाटेमा ४ सय रोपनी जग्गा अधिग्रहण भएको एमसिए नेपालको भनाइ छ। नुवाकोटको उक्त जग्गाका लागि १ अर्ब ४२ करोड रुपैयाँ मुआब्जासमेत वितरण भइसकेको एमसीए नेपालका सूचना अधिकारी राजीव दाहाल बताउँछन्।
अन्य स्थानमा भने मुआब्जा वितरणबारे एमसिए नेपालले प्रष्ट पारेको छैन। नेपालको प्रशारण लाइन पूर्वाधार क्षेत्रमा लगानी गर्ने उक्त परियोजनाले काठमाडौंसहित विभिन्न १० जिल्लामा प्रशारण लाइन तथा सबस्टेसन राख्ने जनाएको छ।
यसअघि २०२२ नोभेम्बर २८ मा एमसिए नेपालले प्रशारण लाइन निर्माण ठेक्का आह्वान गरेको थियो। विश्वव्यापी आह्वान गरिएको ठेक्कामा जुनसुकै देशका निर्माण कम्पनीले सहभागी हुन पाउनेछन्। जसको म्याद २०२३ मार्च २७ सम्म छ। प्रशारण लाइन पनि १ सय १७ किलोमिटर, ९० किलोमिटर र १ सय ८ किलोमिटर गरी तीन प्याकेजमा निर्माण हुनेछ।
लप्सिफेदी–रातमाटे–हेटौंडा (१ सय १७ किलोमिटर), रातमाटे–न्युदमौली (९० किलोमिटर) र न्युदमौली–भारत सीमासम्म (१ सय ८ किलोमिटर) प्रशारण लाइन निर्माण हुनेछ। प्रशारण लाइन निर्माणका लागि २२ करोड ८२ लाख ४७ हजार डलर लाग्ने एमसिए नेपालको अनुमान छ। एमसिए नेपालले निर्माण गर्ने सबैभन्दा बढी लागतको निर्माण कार्य प्रशारण लाइन नै हो।
एमसिए नेपालले फागुनमा आह्वान गर्न लागिएका सडक र सबस्टेसन लाइन निर्माण लागत प्रशारण लाइनभन्दा कम छ।
प्रशारण लाइनभन्दा सबस्टेसन निर्माण गर्न सजिलो र छिटो हुने एमसिए नेपालका सूचना अधिकारी दाहाल बताउँछन्। उनका अनुसार तीनवटा सबस्टेसन निर्माण गर्न ११ करोड ४० लाख २२ हजार अमेरिकी डलर खर्च हुनेछ।
सबस्टेसनका लागि थोरै जग्गा अवश्यक पर्ने र अधिग्रहणको काम पनि सम्पन्न भएकाले ठेक्का आह्वान गर्ने तयारी अन्तिम चरणमा पुगेकोे छ। नुवाकोट रातमाटेमा निर्माण हुने सबस्टेसनमा प्रस्तावित रसुवागढी–केरुङ ४ सय केभी क्षमताको प्रशारण लाइन पनि जोडिने छ।
काठमाडौं लप्सीफेदीबाट नुवाकोट रातमाटे पुग्नेछ। त्यहाँबाट एउटा लाइन धादिङ हुँदै हेटौंडा पुग्ने छ। यस्तै रातमाटेबाट अर्को लाइन गोरखा, तनहुँ, नवलपरासी हुँदै बुटवल पुग्ने छ। बुटवल–गोरखपुर ४ सय केभी प्रशारण लाइनमा जोडिने छ। प्रशारण लाइनको लम्बाइ ३ सय १४ किलोमिटर हुनेछ।
सबस्टेसन निर्माणको काम पनि तीन चरणमा हुनेछ। साथै, तीन सबस्टेसन बनाउने निर्माण कम्पनी पनि छुट्टाछुट्टै हुनसक्ने छन्। एमसिए नेपालले एउटै निर्माण कम्पनीलाई धेरै आयोजनाको जिम्मेवारी दिँदा काममा सुस्तता हुन सक्ने भन्दै फरक–फरक कम्पनीसँग सहकार्य गर्ने योजना अगाडि सारेको छ।
सूचना अधिकारी दाहालका अनुसार प्रशारण लाइन, सबस्टेसन र सडक निर्माणका लागि आह्वान हुने ठेक्का प्रक्रियामा छुट्टाछुट्टै मापदण्ड रहनेछन्।