सुर्खेत। दिलबहादुर सुनार २० वर्षकै उमेरमा काम गर्न बाध्य भए। जसका कारण उनले पढ्न पाएनन्। स्थानीय बराहाताल गाउँपालिका–५ का सुनारको परिवारको आर्थिक अवस्था नाजुक थियो।
उनले ८ कक्षा पढ्दापढ्दै बीचमै पढाइ छोड्नुप¥यो। परिवारले खेती किसानी गर्दै आए पनि पर्याप्त जग्गा नहुँदा अरूको जग्गा अधिया लगाउथे। त्यसरी गरेको खेतीले पनि उनीहरुको परिवारलाई खानसम्म पुग्दैन थियो।
उनको बुवा रोजगारीका लागि भारत जान्थे। भारतको कालापहाड गएर कमाएको पैसाले पनि उनीहरुको परिवार जसोतसो पालिएको थियो।
आर्थिक अवस्था नाजुक भएकै कारण आफूले बीचमै पढाइ छोड्नुपरे पनि भाइबहिनीको पढाइ नरोकियोस् भन्ने उद्देश्यले उनी आफै कमाउन योजना बनाए। तर उनीसँग पढाइ तथा कुनै अनुभव नभएका कारण उनले कतै पनि काम पाएनन्।
नेपालमै कतै काम नपाएपछि उनी कालापहाड जाने निर्णय गरे। त्यसका लागि उनी भारतको सिम्ला गए। त्यहाँ पनि उनले सोचजस्तो काम त पाएनन् बरु अनेक दुःख पाए । जसका कारण उनी छ महिनापछि नेपाल फर्किए।
उनको घरको अवस्था उस्तै दयनीय थियो। आफूसँगैका साथी कापीकिताब बोकेर विद्यालय गइरहेका हुन्थे । साथीसँग पढ्न जाने उनको पनि इच्छा थियो। तर उनको काँधमा घरको जिम्मेवारी थियो ।
गाउँमा उद्यमशीलतासम्बन्धी तालिम सञ्चालन हुँदैछ भन्ने सुनेर सुनारले आवेदन दिए। वडा कार्यालयले उनको नाम सिफारिस गरेर पठायो। गाउँपालिकासँगको समन्वय र सेभ द चिल्ड्रेनले साझेदारीमा समाज जागरण केन्द्र (स्याक) नेपालले सञ्चालन गरेको पावर परियोजनामार्फत १८ वर्षदेखि २४ वर्षसम्मका युवालाई उद्यमशिल बनाउने तालिम सञ्चालन गरेको थियो।
तीन महिनासम्म कपाल काट्ने सीप सिकेपछि केही गर्न सक्छु भन्ने आँट आयो उनले भने, ‘कपाल काट्ने सीप सिके पछि केही गर्न सक्छु भन्ने लागेर कपाल काट्ने व्यवसाय सञ्चालन गर्ने योजना बनाएँ।’
कपाल काट्ने योजना त बनाएँ पनि उनीसँग पैसा थिएन। पावर परियोजनाले दएिको २८ हजार रकमबाट उनले व्यवसाय सञ्चालन गरे। त्यही पैसाले गाउँपालिकाको बड्डीचौर बजारमा कपाल काट्ने व्यवसाय सञ्चालन गर्न सफल भएको उनले सुनाए।
सुरू सुरूमा त खासै चलेन तर केहीसमय पछि सोचेको भन्दा धेरै आम्दानी हुन थालेको उनले बताए। अहिले कपाल काटेरै दैनिक १५ सय कमाइ हुने उनी बताउँछन्। सरकारले आफूजस्तै युवालाई सीप सिकाएर स्वदेशमै रोजगारी सिर्जना गराउनसके विदेश जानुपर्ने बाध्यता हट्ने उनको सुझाव छ ।
दिलबहादुर मात्रै होइन भोजराज ठाडाको समस्या पनि उस्तै थियो । उनी बोल्न सक्दैनन्। आर्थिक अवस्था कमजोर त्यसमाथि उनी सुस्त श्रवण भएका छोरा हुँदा भोजराजको बुबा चिन्तित थिए।
पावर परियोजनामार्फत नै कपाल काट्ने सीप सिक्ने अवसर पाएपछि उनले पनि बड्डीचौरमै कपाल काट्ने पसल खोले। भोजराजलाई पनि परियोजनाले व्यवसाय सञ्चालन गर्न २८ हजार रुपैयाँ सहयोग गरेको थियो । अहिले उनले मासिक ३० हजार रुपैयाँ कमाउँछन्।
‘छोराको धेरै चिन्ता थियो,’ उनका बुवाले भने ‘छोराले सीप सिकेर सजिलै पैसा कमाइरहेकाले अहिले म धेरै खुसी छु।’ पैसा कमाउने भएपछि छोरो पनि जिम्मेवार बन्दै गएको अनुभव उनले सुनाए।
गरिबीको रेखामुनि रहेका र आर्थिक अभावकै कारण पढाइ छाडेका व्यक्तिलाई स्थानीय सरकारसँग मिलेर उद्यमशीलतासम्बन्धी विभिन्न सीप सिकाएर उद्यमशील बनाइएको पावर परियोजनाका संयोजक तेज सोनामले जानकारी दिए।
अहिले सुर्खेतको बराहाताल र वीरेन्द्रनगरमा यो कार्यक्रम लागू छ। बराहातालका ६५ र वीरेन्द्रनगरका ५५ जना गरी एक सय २० युवायुवतीलाई कपाल काट्ने, ब्युटीपार्लर, कुखुरापालन, बाख्रापालनलगायत सीप सिकाएर उद्यमी बनाइएको उनको भनाइ छ।
तालिम लिएका सबै प्रशिक्षार्थीलाई व्यवसाय सञ्चालन गर्न २८ हजार रूपैयाँका दरले रकमसमेत सहयोग गरिएको र यसबाट स्वरोजगार बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्वरोजगारमूलक कार्यक्रममा स्थानीय सरकारको पनि सहयोग र साझेदारी रहने जनप्रतिनिधिले बताएका छन्। रासस