काठमाडौं। कृषि भन्ने बित्तिकै नाक खुम्च्याउने युवाजमातका लागि इलामका जीवन बुढाथाेकी एक उदाहरण हुन्। उनी कृषी क्षेत्रमै आफ्नाे सुन्दर भविष्य खाेजीरहेका छन्।
अहिले ‘बुढाथोकी कृषि तथा पशपुन्छी फार्म’ सञ्चालन गरिरहेका छन्। उनले किवी, चिया, खुर्सानीको साथमा बहुमूल्य जडिबुटी र पशुपंछीसम्मको व्यवसाय गर्छन्।
‘डेकुरेटेक अर्गानिक एग्रो टुरीजम’ बनाउने लक्ष्यका साथ उनले व्यवासाय अगाडि बढाइरहेका छन्। उनीसँग करिब १५ वर्षकाे कृषि अनुभव छ। फार्म खाेल्नुअघि उनी कृषि क्षेत्रमै संलग्न थिए।
लामो समय निर्वाहमुखी खेतीमा संलग्न रहेका उनले पछि व्यवसायलाई व्यवसायिक खेतीमा परिणत गरेका हुन्। चिया उत्पादनबाट आफ्नो खेती यात्रा सुरू गरेका उनले पछि किवी, बाख्रा, दूध उत्पादन गर्न सुरू गरे।
‘भर्खरै माछा पालन, कुखुरा पालन, टर्की खेती आदि जस्ता केही उत्पादन थपेका छौं,’ बुढाथोकीले भने ‘नयाँ उत्पादन प्रारम्भिक चरणमा छन् र बिक्री उत्पन्न गर्ने बाटो लामो छ।’
बुढाथोकीसँगै उनकी श्रीमती र आमा पनि यो व्यवसायमा सक्रिय छन्। उनले आफ्नाे आमा कृष्णमाया बुढाथोकीको नाममा कम्पनी दर्ता गरेका छन्।
करिब ७५ लाख रूपैयाँ लगानी गरेकाे यस फार्मकाे ३० लाख रूपैयाँ ऋण रहेको थियो। त्यसको केही ऋण उनले चुक्ता गरिसकेका छन्। अहिले उनले २४ लाख ५० हजार ऋण चुक्ता गर्न बाँकी रहेको छ।
उनकाे फार्मले ५६ रोपनी क्षेत्र ओगटेको छ, जसमध्ये ५० रोपनी ग्रामीण र ६ रोपनी सहर क्षेत्रमा फैलिएकाे छ। उनले तीन नगरपालिका र एक गाउँपालिकामा रिसर्चका लागि जमिनको व्यवस्था समेत गरेका छन्।
फार्ममा पाँच टन जति किवि उत्पादन हुन्छ। जसमा हाल दुई टन जति किवि भने उनीसँगै छ भने साढे तीन टन जति बिक्री भइसकेको छ। मौसमी रूपमा आवश्यकक्ताअनुसार कामदार राखेर व्यवसाय सञ्चालन गरिरहेका छन्।
आफनै उत्पादन भएकाले आफैले होलसेल स्थापना गरेर बिचौलियालाई विस्थापन गर्ने पनि उनेको याेजना छ। यस व्यवसायलाई बढाउँदै उत्पादीत वस्तुलाई बजारीकरणदेखि बिक्री वितरणसम्मको काम आफैले गर्ने योजना उनले बनाएका छन् ।