काठमाडौं। हवाईजहाज यात्रा अहिले मुलुकमा सामान्यजस्तै बनिसकेको छ। खासगरी सडकमार्ग पहुँच सहज नभएकै कारण धेरैको रोजाइमा हवाई यात्रा पर्न थालेको छ। त्यसमाथि वायुसेवा कम्पनीले ‘बस भाडासरह’ नै टिकट दिन थालेपछि जहाज चढ्न सहज भएको छ।
उही मूल्यमा छिटो र भरपर्दो यात्रा गर्न पाउने भएपछि धेरै यात्रु जहाजमार्फत नै यात्रा गर्दै आएका छन्। जहाँ वायुसेवाको पहुँच छैन, त्यहाँ भने सार्वजनिक यातायातकै सहारा लिनुपर्ने बाध्यता छ।
त्यतिमात्र होइन, एयर एम्बुलेन्सका रूपमा हेलिकोप्टर र जहाजलाई समेत प्रयोग गर्न थालिएको छ। दुर्गम भेगबाट उपचारका लागि काठमाडौंसम्म आउँदा ढिला हुने भएकाले हेलिकोप्टर प्रयोग सर्वसाधारणले समेत गर्न थालेका छन्।
तर, पेट्रोलियम पदार्थ आयात तथा बिक्री वितरणमा एकछत्र राज गर्दै आएको सरकारी स्वामित्वको नेपाल आयल निगमले हवाई इन्धनमा अधिक नाफा लिएकै कारण हवाई भाडा अधिक महँगो हुँदै गएको छ।
आयल निगमले आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवासँग प्रतिलिटर ७८ रुपैयाँ १६ पैसा नाफा लिँदै आएको छ। जुन कालोबजार तथा केही सामाजिक अपराध सजाय ऐन २०३२ विपरीत हो।
ऐनमा ‘सरकारले तोकेका कुनै पनि माल वस्तु र व्यापारको प्रचलनअनुसार सामन्यतया सयकडा २० भन्दा बढी नाफा लिएर बिक्री गर्न पाइँदैन। २० प्रतिशतभन्दा बढी नाफा लिएको अवस्थामा अथवा अभावको मौका छोपी वस्तुको समुचित नाफा लिई बिक्री गरेमा निजलाई पाँच वर्षसम्म कैद वा जरिवाना वा दुवै हुनसक्छ’ उल्लेख छ। तर, यही ऐन आयल निगमलाई भने लागू भएको छैन।
आयल निगमले ‘जहाज चढ्नेहरू धनीमात्र हुन्छन् र सबैको पहुँच पनि पुग्दैन’ भन्दै अन्तर्राष्ट्रिय बजारअनुसार हवाई इन्धन मूल्य समायोजन नगरेको तर्कहीन जवाफ दिँदै आएको छ। हवाई इन्धनबाहेक इन्धन भने अन्तर्राष्ट्रिय बजारमा थपघट भएअनुसारै तत्काल समायोजन हुने गरेको छ।
तर, हवाई इन्धनको मूल्य निरन्तर घटेर आउन्दा पनि निगमले यहाँ घटाउन कुनै चासो देखाएको छैन। उल्टै ‘धनीले मात्र जहाज चढ्ने भएका कारण मूल्यले कुनै प्रभाव नपर्ने’ प्रतिक्रिया निगमका प्रवक्ता विनितमणि उपाध्यायले दिँदै आएका छन्।
उपाध्याय जहाजमा सबैको पहुँच नपुग्ने र सर्वसाधारणको पहुँचमा रहेका पेट्रोल, डिजेल र मट्टितेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा थपघट हुने बित्तिकै समायोजन गर्ने गरिएको बताउँछन्।
धनीमानी र उच्च वर्गले मात्र जहाजमा यात्रा गर्ने गरेकाले हवाई इन्धनको भाउ घटाउने विषय निगमको प्राथमिकतामा नपरेको प्रवक्ता उपाध्यायको भनाइ छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांकअनुसार सन् २०२२ को १० महिनासम्ममा ३७ लाख १५ हजार ८ सय ३२ यात्रुले आन्तरिक हवाई यात्रा गरेका छन्। निगम अधिकारीका विश्लेषणलाई आधिकारिक मान्ने हो भने ती ३७ लाख यात्रु सबै धनीमात्र हुन् भन्ने प्रश्न खडा हुन्छ।
निगमको भनाइप्रति काठमाडौं मेरियट होटलका सञ्चालक एवं उद्योगी शशिकान्त अग्रवालले आपत्ति जनाएका छन्। हवाई यात्रुप्रति सरकारी कर्मचारीको बुझाइ कमी भएको र बसमा यात्रा गर्ने सधैं बसमा मात्र चढ्नुपर्छ भन्ने नभई तिनलाई जहाजमा चढ्न सक्ने वातावरण बनाउनुपर्छ भन्ने धारणा सरकारी कर्मचारीका मानसिकतामा नआउनु नै गलत भएको उनको टिप्पणी छ।
मानिसका बढ्दो आर्थिक अवस्था मध्यनजर गरी निगम अधिकारीहरूले काम नगरेकै कारण हवाई इन्धनको मूल्य महँगो भएको र त्यसको प्रभाव हवाई भाडामा परिरहेको छ।
‘एलपी ग्यासमा दिँदै आएको अनुदान रकम हवाई इन्धनबाट पूर्ति गरिरहेका छौं भन्नु नै गल्ती हो,’ उद्योगी अग्रवालले भने, ‘हवाई इन्धनको मूल्यमात्र होइन, हवाई भाडामा पनि नेपाली र विदेशीबीचको भिन्नता अन्त्य गर्नुपर्छ। विदेशीको एउटै गुनासो भनेकै हाम्रो भाडामा किन फरक भन्ने हुन्छ, यो अन्त्य गर्नुपर्छ।’
आन्तरिक वायुसेवा कम्पनीका छाता संगठन वायुसेवा सञ्चालक संघका प्रवक्ता एवं गुण एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) योगराज कँडेलले सरकार आफैंले बनाएको कालोबजारी ऐन उल्ल्ंघन गर्दै आएको बताए।
लामो समयदेखि निगमले हवाई इन्धनमा अधिक नाफा लिँदा व्यवसायीमात्र नभई यात्रुसमेत मारमा परेको कँडेल बताउँछन्। इन्धन मूल्य बढेकै कारण हवाई भाडा समेत चर्को भएकाले सरकारले तत्कालै निगममा हस्तक्षेप गरी मूल्य समायोजन गर्नुपर्ने प्रवक्ता कँडेलको भनाइ छ।
‘हामीले निश्चिन नाफा लिएर हवाई इन्धन बिक्री गर्न आयल निगमलाई पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरिरहेको छ,’ उनले भने, ‘जुन यात्रुका लागि समेत घात भइरहेको छ’।
यता, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं आयल निगम सञ्चालक समिति अध्यक्ष तोयम रायाले चाँडै हवाई इन्धन मूल्य समायोजन हुने बताए।
‘निगमको ग्यासको घाटा पूर्तिका लागि हवाई इन्धनको मूल्य समायोजन नभएको हो। तर, अब समायोजना हुन्छ,’ उनले भने। उपभोक्तालाई राहत दिने उद्देश्यले निगमले यसअघि सस्तोमा इन्धन उपलब्ध गराउँदा सञ्चित घाटा हवाई इन्धनबाट पूर्ति गरिरहेकाले केही समय मूल्य समायोजनका लागि ढिलाइ भएको सचिव रायाको भनाइ छ।
दुर्गम भोगमा यातायातको प्रमुख साधन नै हवाईजहाज भएका कारण धनीले मात्र चढ्ने भनेर निगम पन्छिन नमिल्ने सचिव रायाले बताए।
‘अबको केही समयमा मूल्य समायोजनबारे बैठक बसेर नयाँ निर्णय गर्नेसमेत रायाले जानकारी दिए। निगमले सरकार र इन्डियन आयल कर्पोरेसन लिमिटेड (आइओसी) लाई २०२२ डिसेम्बरमा नियमित भुक्तानीसहित १९ अर्ब तिर्न बाँकी उल्लेख गरेको छ।
अहिले आन्तरिक उडानमा बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, गुण एयर, नेपाल वायुसेवा निगम (नेवानि), तारा एयर, सीता एयर र समिट एयरलाइन्सले आन्तरिक उडान गर्दै आएका छन्।
हेलिकोप्टरतर्फ कैलाश, प्रभु, सिम्रिक, अल्टिच्युड, एयर डाइनेस्टी, फिस्टेल एयर, हेलिएभरेस्ट, मनाङ एयर, माउन्टेन हेलिकोप्टर, मुस्ताङ हेलिकोप्टर र श्री हेलिकोप्टरले आन्तरिक उडानमा सेवा दिँदै आएका छन्।