काठमाडौं। वीरगञ्जका व्यवसायीहरु मिलेर नयाँ हाउजिङ परियोजना ल्याएका छन्। राधेकृपा हाउजिङ एन्ड इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडले वीरगञ्जमा राधेकृपा हाउजिङ सोसाइटी ल्याउन लागेकाे हाे।
सोसाइटीमा ३ बीएचके, फोरबीएचके, फाइभबीएचके र पेन्ट हाउससहित ४८ युनिट भवनहरु निर्माण गरिरहेको छ। हाउजिङ परियोजना बनाउन १ अर्ब २ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
जसअनुसार ६१ करोड ५० लाख रूपैयाँ बैंकबाट ऋण र बाँकी ४१ करोड रूपैयाँ संस्थापकहरूले स्वपुँजी (इक्विटी) लगानी गरेका छन्। हालसम्म ५५ करोड रूपैयाँ ऋणको व्यवस्थापन भएको छ।
हालसम्म संस्थापकहरूबाट इक्विटीको ४० प्रतिशत अर्थात १६ करोड ६० लाख रूपैयाँ लगानी भएको छ। परियोजनामा संस्थापकको ४० र बैंकको ऋण ६० प्रतिशत हुने गरी लगानी संरचना तयार पारिएको छ। हालसम्म परियोजनाको ८० प्रतिशत काम सकिएको छ। कम्पनीले आउँदो भदौमा हाउजिङ परियोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ।
राधेकृपाले ७० करोड रूपैयाँ ऋणको रेटिङ गराएको छ। यसैगरी ग्राहकहरूबाट हाउजिङमा बुकिङ खुला भएको जनाएको छ। सरकारले चालू आर्थिक वर्षको बजेटमा रियलस्टेट लाभकर ५ प्रतिशतबाट बढाएर साढे ७ प्रतिशत पुर्याउँदा आर्थिक मन्दीले यस व्यवसाय सुस्ताएको छ।
राधाकृपा सन् २०१९ मा स्थापना भएको हो। हाउजिङ परियोजना सिमराबाट २२ किलोमिटर दुरीमा रहेको छ। हाउजिङको आसपासमा उद्योग, अस्पताल, बैंक, खुद्रा व्यापार रहेका छन्।
कम्पनीको प्रवन्ध सञ्चालकमा प्रभात रुङगटा रहेका छन्। प्रभात मारुती फर्माका प्रवन्ध सञ्चालक हुन्। अर्का लगानीकर्ता मनिष अग्रवाल ग्यालेक्सी प्याकेजिङ र रिज्भी ट्रेडिङ प्रालिका सञ्चालक हुन भने पशुपतिकुमार कन्डेवाला श्रीयस एक्जिमका प्रवन्ध सञ्चालक हुन्।