काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंक (एनआइबीएल) र मेगा बैंक नेपाल मर्ज भएपछि बन्ने बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) मा दुई जनाको नाममा छलफल चलिरहेको छ।
मेगा बैंककै पूर्व सिइओ अनुपमा खुन्जेली र ग्लोबल आइमएई बैंकका वरिष्ठ डेपुटी सिइओ महेश ढकालको नाम माथि छलफल भइरहेको छ।
बैंक श्रोतका अनुसार एकिकृत कारोबार गरेपछि बैंकमा खुन्जेली वा ढकालनै डेपुटी सिइओका रूपमा एक जना रहनेछन्। दुई बैंक मर्ज प्रक्रियाको परामर्शदाताको रुपमा काम गरिरहेका नबिल बैंकका एक पूर्व सिइओले खुन्जेली र ढकालमध्ये जसलाई लिए पनि हुने सुझाव दिएका छन्।
एनआइबीएलमा हाल कार्यरत सिइओ ज्योतिप्रकाश पाण्डे नै मर्जपछिको बैंकमा सिइओ हुने छन्। त्यसपछिको नेतृत्व सम्हाल्ने गरी खुन्जेली र ढकालको नामलाई सहमति दिन सक्ने बताइएको छ।
यदपी,ढकाल भने ग्लोबल आइएमई बैंकमै कार्यरत रहेपनि ग्लोबलमा बैंक अफ काठमाडु (बीओके) मर्ज भएपछि उनि सम्भवत तेस्रो वरियतामा झर्ने सम्भावना छ।
त्यसैले पनि ढकाल एनआइबीएलमा जान खोजेको चर्चा छ। ढकालले यस अघि ग्लोबलमै निमित्त सिइओ भएर लामो समय काम गरेका थिए।
बीओकेका सिइओ श्रवणलाल मास्के ग्लोबल आइएमईमा वरिष्ठ डेपुटी सिइओ हुने छन् भने ग्लोबलका हालका सिइओ रत्नराज बज्रचार्य सिइओकै रुपमा क्रियाशिल हुने छन्।
उता मेगा बैंकको सिइओ चलाईसकेकी खुन्जेली भने हाल फुर्सदमा छिन्। एउटा बैंकको सिइओ भैसकेका व्यक्ति डेबुटी सिइओका रुपमा क्रियाशिल हुन चाहे एनआइबीएलले भित्र्याउने छ। मर्जपछि एकिकृत कारोबारपछिको सञ्चालक समितिले डेपुटि सिईओको निर्णय गर्न सक्ने बताइएको छ।
संयुक्त मर्जर कमिटिमा सहमति भएमा भने एकिकृत कारोबार अघिनै पनि एनआइबीएलले डेपुटी सिइओ नियुक्त गर्ने छ।