काठमाडौं। नेपाल इन्भेस्टमेन्ट बैंक (एनआइबिएल) र मेगा बैंक नेपाल मर्ज भएपछि बन्ने बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) मा दुईको नाममा छलफल चलिरहेको छ।
मेगा बैंककै पूर्वसिइओ अनुपमा खुन्जेली र ग्लोबल आइएमई बैंकका वरिष्ठ डेपुटी सिइओ महेश ढकालको नाममाथि छलफल भइरहेको हाे।
बैंक स्रोतका अनुसार एकीकृत कारोबार गरेपछिको बैंकमा खुन्जेली वा ढकाल नै डेपुटी सिइओका रूपमा एक रहनेछन्। दुई बैंक मर्ज प्रक्रियाको परामर्शदाताका रूपमा काम गरिरहेका नबिल बैंकका एक पूर्वसिइओले खुन्जेली र ढकालमध्ये जसलाई लिए पनि हुने सुझाव दिएका छन्।
एनआइबिएलमा हाल कार्यरत सिइओ ज्योतिप्रकाश पाण्डे नै मर्जपछिको बैंकमा सिइओ हुनेछन्। त्यसपछिको नेतृत्व सम्हाल्ने गरी खुन्जेली र ढकालको नामलाई सहमति दिन सक्ने बताइएको छ।
तै पनि, ढकाल भने ग्लोबल आइएमई बैंकमै कार्यरत रहे पनि ग्लोबलमा बैंक अफ काठमाडाैं (बिओके) मर्ज भएपछि उनी सम्भवतः तेस्रो वरियतामा झर्ने सम्भावना छ। त्यसैले पनि ढकाल एनआइबिएल जान खोजेको चर्चा छ। ढकालले यसअघि ग्लोबलमै निमित्त सिइओ भएर लामो समय काम गरेका थिए।
बिओकेका सिइओ श्रवणलाल मास्के ग्लोबल आइएमईमा वरिष्ठ डेपुटी सिइओ हुनेछन् भने ग्लोबलका हालका सिइओ रत्नराज बज्राचार्य सिइओकै रूपमा क्रियाशील हुनेछन्।
उता मेगा बैंकको सिइओ चलाइसकेकी खुन्जेली भने हाल फुर्सदमा छिन्। एउटा बैंकको सिइओ भइसकेका व्यक्ति डेपुटी सिइओका रूपमा क्रियाशील हुन चाहे एनआइबिएलले भित्र्याउने छ। मर्जपछि एकीकृत कारोबारपछिको सञ्चालक समितिले डेपुटी सिइओको निर्णय गर्न सक्ने बताइएको छ।
संयुक्त मर्जर कमिटीमा सहमति भयाे भने एकीकृत कारोबारअघि नै पनि एनआइबिएलले डेपुटी सिइओ नियुक्त गर्ने छ।