काठमाडौं । चौधरी ग्रुपको लगानीमा सञ्चालित सम्राट सिमेन्ट कम्पनी प्राइभेट लिमिटेडको सिमेन्ट व्यापारमा चमक आएको छ । उद्योगको सिमेन्ट व्यापार ३१.६१ प्रतिशत बढेर ४ अर्ब ८७ करोड ७५ लाख रुपैयाँ पुगेको छ । २०२१ मा उद्योगले ३ अर्ब ७० करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो ।
एक वर्षको अवधिमा उद्योगको कारोबार १ अर्ब १७ करोड रुपैयाँ बढेको सम्राटले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । २०२० मा उद्योगको सञ्चालन आम्दानी २ अर्ब ११ करोड ३० लाख रुपैयाँ मात्र थियो ।
३ वर्षको वित्तीय विवरण हेर्दा उद्योगको सञ्चालन अम्दानी बढ्दै गएको छ । उद्योगले १२ अर्ब ६४ करोड ५७ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । उद्योगको कुल ऋण १३ अर्ब रुपैयाँ माथि छ ।
उद्योगले गजराज, गजराज प्रिमियम, बजाज, बजाज प्रिमियम,बादसाह, सम्राट र सम्राट प्रिमियम ब्राण्डमा ओपीसी र पीपीसी सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
सन २०१३ मा स्थापना भएको सम्राटले सिमेन्ट उत्पादन क्षमता दोब्बर बनाएर दैनिक ३ हजार ६०० टन पुर्याएको छ । गएको असारदेखि नयाँ प्लान्टबाट सिमेन्ट उत्पादन सुरु भएपछि उद्योगको आम्दानी बढेको हो । यस्तै उद्योगले दैनिक ४ हजार टन क्लिकर उत्पादन गर्ने प्लाण्ट पनि सन् २०२१ को जनवरीदेखि सञ्चालनमा ल्याइसकेको छ ।
उद्योग दाङको घोराहीमा रहेको छ । पश्चिमको बजारलाई लक्षित गरेर सम्राटले सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गरिरहेको छ । उद्योग भन्दा ५० किलोमिटरको दुरीमा चुनढुङा खानी रहेको छ ।