काठमाडौं। सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले यही वर्ष चार होटल सञ्चालनमा ल्याउने घोषणा गरेको छ।
साढे दुई दशकदेखि होटल, रिसोर्ट तथा रेस्टुरेन्ट सञ्चालन तथा व्यवस्थापन गर्दै आएको सिद्धार्थ ग्रुपले नेपाली नयाँ वर्ष २०८० लक्ष्य गरी यही वर्ष २०७९ मा चार होटल सञ्चालनमा ल्याउन लागेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्ण न्यौपानेले जानकारी दिए।
आगामी चैतभित्र पाँचतारेदेखि लक्जरी रिसोर्टसम्म सञ्चालन गर्ने गरी आवश्यक तयारी थालेका हुन्। सिद्धार्थ होटल तथा रिसोर्टका नाममा एकसाथ भैरहवा, सौराहा, दाङ लमही र विराटनगरमा सञ्चालन गर्न लागेको हो।
ग्रुपकै ‘ड्रिम प्रोजेक्ट’ का रुपमा भैरहवामा डिलक्स पाँचतारे होटल माघ २३ बाट उद्घाटन हुँदैछ भने दाङ लमहीमा माघभित्रै चारतारे होटल सञ्चालनमा ल्याउन लागेको छ। भैरहवाको पाँचतारे होटलमा आफ्नै लगानी छ भने लमहीको चारतारे होटलको भने व्यवस्थापनमात्र हेर्ने छ।
योसँगै चितवन सौराहामा आफ्नै लगानीमा लक्जरी रिसोर्ट सञ्चालन गर्न लागेको छ। सौराहा आउने आन्तरिक एवं वाह्य पर्यटक लक्ष्य गरी लक्जरी रिसोर्ट सञ्चालनका लागि अन्तिम तयारी भइरहेको सिइओ न्यौपानेले बताए। सौराहामा सिद्धार्थको ग्रुपको पहिलो प्रवेश हो।
यस्तै विराटनगरमा पनि होटल सञ्चालनमा ल्याउँदै छ। व्यवस्थापन हेर्ने जिम्मेवारी लिएर आवश्यक काम अगाडि बढाइसकेको र चैतभित्रै सञ्चालनमा आइसक्ने ग्रुपले जनाएको छ।
चार होटल थपिएपछि सिद्धार्थ ग्रुपको मात्र २ सय १० नयाँ कोठा थपिने छ। ग्रुपका अनुसार भैरहवाको होटलमा ८५, लमही ६०, सौराहा २५ र विराटनगरको होटलमा ४० कोठा सञ्चालनमा आउने छ। पछि पनि अझै कोठा थपिनेछन्। नयाँसहित सिद्धार्थका होटल, रिसोर्ट र क्याफे गरी ३० पुग्ने छ। होटलमात्र १९ छन्।