काठमाडौं। नेपालमा रोजगारीको अभाव देखाउँदै दिनहुँ सयौंको संख्यामा नेपालबाट युवाहरु बाहिरिने गरेका छन्। बाहिरिनेहरूको असंख्य भिडमा नेपालमै बसेर व्यावसायिक जीवन बिताएर राम्रै आयआर्जन गर्ने व्यक्तिहरू पनि थुप्रै छन्।
सयौं युवाले नदेखेको र नपत्याएको क्षेत्रमा व्यवसाय गरेर थुप्रै मानिसहरू उदाहरणीय बनेको विषय पनि चर्चामा आउने गरेको छ। त्यस्तै मध्येका एक हुन् मकवानपुरका सनतप्रसाद अर्याल, जसले गाउँमै कृषि पेसाको माध्यमबाट नेपालमै केही गर्न सकिने भनि सम्भावनाको ढोका देखाइदिएका छन्।
सनतप्रसाद अर्यालले मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नम्बर ६ को ढल्ट थली भन्ने ठाउँमा ‘अर्याल वाइल्ड लाइफ एन्ड एग्रो फार्म स्टे’ सञ्चालन गरिरहेका छन्। उनले आफ्नो साथमा अन्य केही साथीहरूलाई लिएर कालिज फर्म सञ्चालन मात्र गरेका छैनन् सो बाट राम्रै किसिमको आम्दानी लिइरहेका छन्।
हाल उनी यस फर्मलाई थप व्यवस्थित बनाउँदै उत्पादनको मात्र बढाई यसबाट बन्ने परिकार आफैंले बनाई बाहिर सप्लाई गर्ने सम्मको सोच बनाएर काम गरिरहेका छन्। उनले विगत २ वर्षदेखि उपभोक्ताको रुची र चाहनाअनुसार कालिजको मासु, अन्डा र चल्ला उत्पादन गरी बिक्री वितरण गर्दै आइरहेका छन्।
‘कालिज नेपालमा पाइने वन्यजन्तुमध्ये एक हो। यो हाल होटल, रेष्टुरेन्ट, रिसोर्टलगायतका ठाउँमा निकै लोकप्रिय मानिदै आएको छ,’ अर्यालले भने ‘यही कालिजलाई व्यवसायीकरूपमा पालेर स्थानीयस्तरमा रहेका होटल, रिसोर्टहरूमा अन्डा, मासु उपलब्ध गराउँदै आएकाे छु।’
उनले बाहिरबाट मासु ल्याउनुपर्ने बाध्यतालाई कम गरी आफ्नै स्थानमा रहेका मासुलाई बिक्री वितरण गरी आफ्नो स्थानीयस्तरको रकम बाहिर नपठाउने सोच रहेको जानकारी दिए। यसैका लागि सक्रिय ढंगबाट लागिरहेको उनको भनाइ छ।
उनले यस फर्मलाई थप व्यवस्थित बनाउँदै तथा कालिजको संख्या थप्ने, कालिज पाल्न इच्छुकलाई सुपथ मूल्यमा चल्ला उपलब्ध गराउने सोच बनाएका छन्। आफ्नो फर्ममा रहेका काजिलको विभिन्न परिकार बनाई प्याकेजिङ र लेवलिङ गरी बजार विस्तार गर्ने र यसमा अन्य व्यक्तिलाई रोजगारी दिने हिसावमा काम गर्ने उनको लक्ष्य छ।
कालिजको मासु तथा अन्डा खुवाएर पर्यटकलाई लोभ्याइ पर्यटकका संख्या वृद्धि गरी स्थानीयको आर्थिक अवस्था उकास्ने काममा आफू तल्लिन भएर लाग्ने उनले जानकारी दिएका छन्।