काठमाडौं। केरुङ–काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिकको टोली पुस अन्तिमसम्म फिल्डमा पुग्ने भएको छ। मंगलबार नेपाल आएको चिनियाँ प्राविधिकको टोलीले बुधबार रेल विभागसँग छलफल गरेर पुस अन्तिमसम्म फिल्डमा जाने जनाएको हो।
तर, तत्कालै अध्ययनको काम भने सुरु हुने छैन। रेल विभागका महानिर्देशक (डिजी) रोहितकुमार विसुरालका अनुसार एक पटक फिल्ड हेरेर उक्त टोली काठमाडौंमा फिर्ता हुनेछ। त्यसपछि आवश्यक तयारी गरेर मात्रै विस्तृत सम्भाव्यता अध्ययनको काम गर्ने चिनियाँ टोलीले बताइएको छ।
काठमाडौंमा कार्यालय रहने
बुधबार दिउँसो रेल विभागको कार्यालय विशालनगर काठमाडौंमा भएको छलफलमा चिनियाँ टोलीले काठमाडौंमा छुट्टै कार्यालय राख्ने जनाएको छ। रेल विभाग रहेको विशालनगरनजिकै कार्यालय राख्ने तयारी छ।
क्यापिटल नेपालसँग डिजी विसुरालले भने, ‘अहिले अध्ययन सुरु गरिहाल्नेभन्दा पनि कार्यालय राख्ने र एकपटक फिल्ड पुगेपछि मात्रै बाँकी अध्ययन अगाडि बढाउने कुरा भयो। सम्भाव्यता अध्ययन सुरु हुन केही समय लाग्ने देखिन्छ।’
चीनको ‘चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुप’बाट ६ जनाको टोली नेपाल आएको छ। तत्कालका लागि अध्ययन कार्य ६ जनाले नै गर्ने छन्। नेपालका प्राविधिकहरु चीनले प्रयोग गर्दैन्। अन्य आवश्यक सहयोग मात्रै नेपालले गर्ने छ।
यसअघि कै योजनाअनुसार अध्ययन सुरु भएको ४२ महिना अर्थात् साढे ३ वर्षमा विस्तृत सम्भाव्यता अध्ययनको काम सम्पन्न हुनेछ। केरुङ–काठमाडौं क्षेत्रमा पहाड तथा चट्टान पर्ने भएकाले रेल सञ्चालनका लागि पुल निर्माण तथा पहाड छेड्नु पर्ने हुन्छ। २०७८ चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका बेला नेपाल र चीनका उच्च अधिकारीबीच छिट्टै अध्ययन गर्ने समझौता भएको थियो।
तर, कोरोना संक्रमणको कारण देखाउँदै लामो समयसम्म चिनियाँ टोली नेपाल आएको थिएन। उक्त सम्झौतापछि मंगलबार चिनियाँ टोली नेपाल आएको हो। यसअघि भएको प्रारम्भिक अध्ययनअनुसार केरुङ–काठमाडौं रेलमार्गको लम्बाइ ७२ किलोमिटर हुने अनुमान छ। यद्यपि सो लम्बाइ विस्तृत सम्भाव्यता अध्ययनको रिपोर्ट आएपछि परिवर्तन हुन सक्नेछ।
सो रेलमार्ग निर्माणको लागि २ खर्ब ७१ अर्ब ३६ करोड ८० लाख रुपैयाँ लाग्ने आकलन गरिएको छ। रेलमार्ग अध्ययनको सम्पूर्ण काम र लागत चीनले नै गर्ने छ। विस्तृत सम्भाव्यता अध्ययनको खर्च भने खुलाइएको छैन।