काठमाडौं। अंग्रेजी नयाँ वर्ष २०२३ पहिलो दिन उद्घाटन हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्कालै अन्तर्राष्ट्रिय उडान भने नहुने भएको छ। अन्तर्राष्ट्रिय नभए पनि आन्तरिक उडान गर्दै आएका वायुसेवाले भने जनवरी १ बाट उडान गर्ने गरी आवश्यक तयारी गरेका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले अहिलेकै अवस्थामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने टुंगो अझै नलागेको जानकारी दिए।
नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरवेज, हिमालय एयरलाइन्स र बुद्ध एयरले अन्तर्राष्ट्रिय उडानका लागि चासो देखाएको प्रवक्ता निरौलाले जानकारी दिए।
‘केही वायुसेवाले चासो देखाए पनि उडानको टुंगो लागिसकेको छैन,’ निरौलाले क्यापिटलन नेपालसँग भने, ‘अहिलेको अवस्थामा आन्तरिक उडानमा मात्र सीमित हुने देखिएको छ।’
बुद्धले पोखराबाट भारतका तीन सहरमा उडान गर्न चासो देखाए पनि अनुमति पाउन सकेको छैन। यस्तै हिमालयले चीनका विभिन्न सहरमा उडान गर्ने तयारी थालेको छ। त्योसँगै जजिराले भने कुवेत सिधा उडान गर्ने गरी प्राधिकरणमा छलफल भए पनि टुंगो नलागेको निरौलाले जानकारी दिए।
हिमालयले पोखराबाट उडान गर्न ‘ग्राउन्ड ह्यान्डलिङ’ को सर्त राख्दै आएको छ। यता, जजिराले भने भैरहवाबाट उडान कटौतीसमेत गरिसकेको अवस्थामा पोखरामा पनि चासो देखाएको छ। तै पनि, अन्तर्राष्ट्रिय उडानका लागि अहिलेसम्म कुनै वायुसेवाको तयारी भने देखिएको छैन।
अन्तर्राष्ट्रिय उडान नहुने भएपछि अहिले आन्तरिक उडान गर्दै आएका वायुसेवाले धमाधम काउन्टरसहित कार्यकक्ष निर्माण गरिरहेका छन्। केहीले त सूचना नै जारी गरेर जनवरी १ बाट नयाँ विमानस्थलबाट उडान हुने जानकारी यात्रुलाई जानकारी दिइसकेको छन्।
अहिले पोखराको आन्तरिक विमानस्थलमा बुद्ध, यती, श्री र गुण एयरले उडान गर्दै आएका छन्। नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि भने सौर्य एयरले पनि उडान गर्ने बताइसकेको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘न्यारोबडी’ जहाज (ए३१९ वा सोसरह) मात्र उडान हुनेछ। जसका कारण ठूला जहाज भएका वायुसेवाले त्यहाँबाट उडानका लागि चासो नदेखाएको हुनसक्ने अनुमान छ।
करिब २२ अर्ब रुपैयाँबराबर लागतमा निर्माण सम्पन्न भएको उक्त विमानस्थलमा चीन सरकारको लगानीमा चिनियाँ कम्पनी सिएएमसीले नै निर्माण गरेर २०७८ चैतमा नेपाललाई हस्तान्तरण गरिएको थियो।