काठमाडाैं। नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले दुई सय ६७ ग्राहकलाई कालोसूचीमा राखेको छ। प्राधिकरणले लाइन काटेको छ महिनासम्म पनि सम्पर्कमा नआएका कारण उनीहरूको नाम कालोसूचीमा राखेको हो।
कार्यालयका अनुसार उनीहरूबाट ७६ लाख ७५ हजार दुुई सय ८१ रूपैयाँ उठाउन बाँकी छ। कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार आर्थिक वर्ष २०६४/०६५ सालदेखि कालोसूचीमा रहेका ग्राहकसमेत छन्। कालोसूचीमा पर्नेमा दुई सय १५ गार्हस्थ्य ग्राहक छन्।
औद्योगिक क्षेत्रका ४० ग्राहक, गैरव्यावसायिक छ वटा, व्यावसायिक दुई वटा, मन्दिर, पानी आपूर्र्ति, यातायात, सिँचाइ एक/एक वटा ग्राहक कालोसूचीमा रहेका छन्। कालोसूचीमा रहेका ग्राहकको तीनपुस्तेसहित सार्वजनिक सूचना निकालेर राखिएको उनले बताए।
यस केन्द्रअन्तर्गत ६३ हजार नौ सय ४९ ग्राहक रहेका छन्। उनीहरूबाट ३७ करोड ६४ लाख ४४ हजार एक सय ३३ रूपैयाँ बक्यौता उठ्न बाँकी रहेको छ। बक्यौता सबैभन्दा धेरै सरकारी कार्यालयको रहेको छ। कार्यालयको १३ करोड ७७ लाख ८२ हजार एक सय ५४ रूपैयाँ रहेको तथ्यांकले देखाएको छ। तथ्यांकअनुसार सडक बत्तीको नौ करोड ५८ लाख ८९ हजार पाँच सय ३५ रूपैयाँ बक्यौता रहेको छ।
व्यावसायिक भवनको एक करोड ५३ लाख ६२ हजार तीन सय ७८ रूपैयाँ, गैरव्यावसायिक एक करोड २७ लाख छ हजार चार सय १९ रूपैयाँ, औद्योगिक क्षेत्रको दुई करोड ९९ लाख ४३ हजार छ सय ५६ रूपैयाँ बक्यौता रहेको छ।
चालू आर्थिक वर्षमा वितरण केन्द्र भरतपुरले नौ सय तीन ग्राहकको लाइन काटिदिएको छ। उनीहरूबाट तीन करोड १२ लाख ९१ हजार चार सय १६ रूपैयाँ असुली गर्नुपर्ने रहेको छ। तीमध्ये आठ सय ५२ जनाले पुनः जडान गरेका छन्। उनीहरूबाट दुई करोड ७७ लाख ८३ हजार दुई सय ३७ रूपैयाँ असुली गरिएको छ।