काठमाडौं। बिमा प्राधिकरणले आर्थिक वर्ष २०७७/०७८ को पशुपंक्षी बिमा अनुदान बापतको २७ करोड रूपैयाँ प्रिमियम वितरण गर्ने निर्णय गरेको छ।
प्राधिकरणले यसै साता पशुपंक्षी बिमा अनुदान बापतको सो प्रिमियम वितरण गर्ने जनाएको छ। बिमा कम्पनीले डाटा सेम्पलिङमा बदमासी गरेको भन्दै लामो समयदेखि रोकेको पशुपंक्षी बिमाको प्रिमियम बल्ल आएर प्राधिकरणले वितरण गर्ने भएको हो।
बुधबार बिमा प्राधिकरणको सञ्चालक समितिले पशुबिमा अनुदान बापतको प्रिमियम वितरण गर्ने निर्णय गरेको बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए।
‘२०७७/०७८ को पशुबिमाअन्तर्गतको २७ करोड रूपैयाँ वितरण गर्ने निर्णय भएको छ,’ उनले भने, ‘कम्पनीहरूले डाटा मिस्टेक पठाएकाले वितरणमा ढिलाई भयो।’
प्राधिकरणले साही वर्षको पशुबिमाअन्तर्गतको ३४ करोड वितरण गर्नुपर्ने पौडेलले बताए ।
‘डाटा मिलेको २७ करोड रुपैयाँ यसै साता वितरण गदैछौं,’ उनले भने, ‘ बाँकी डाटा नमिलेको ७ करोड डाटा मिलाइसकेपछि वितरण गर्नेछौं।’
यता बिमा कम्पनीले लामो समयदेखि कृषि तथा पशुपक्षी बिमा बापतको प्रिमियम दुई वर्षदेखि नपाएको गुनासो गर्दै आइरहेका थिए। सरकारले समयमै अनुदानको भुक्तानीमा ढिलाई गर्दा कम्पनी समस्यामा रहेको बताउँदै आएका थिए।
सरकारले भने अनुदानअन्तर्ग प्रिमियम गत वर्ष नै पठाइसकेको थियो। सरकारले आर्थिक वर्ष २०७८/०७९ चैतसम्मको कृषि तथा पशुपंक्षी बिमाअन्तर्गत अनुदान दिइसकेको छ।
सरकारले पशुबिमा अनुदानअन्तर्गतको मात्र १ अर्ब ३६ करोड बिमा प्राधिकरण पठाइसकेको छ। त्यसैगरी कृषि बिमाको मात्र ७८ लाख पठाइसकेको छ।
पशुबिमाको प्रिमियम वितरण गरिसकेपछि गत वर्षको असोजसम्म कृषि बिमाको ७८ लाख वितरण गर्ने पौडेलले बताए।
प्राधिकरणले कृषि अनुदानअन्तर्गत ७५ प्रतिशत अनुदानको प्रिमियम मात्र वितरण गर्ने जनाएको छ। गत वर्षको असोज ६ गतेपछि कृषि तथा पशुपक्षी बिमा अनुदान सिमा ८० प्रतिशत रहेको छ।
गत असोज ६ गते अघि कृषि तथा पशुपक्षी बिमाअन्तर्गत सरकारले अनुदान ७५ प्रतिशत दिने गरेको थियो।