काठमाडौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने यात्रु नै नपाएपछि हिमालय एयरलाइन्सले तत्कालका लागि मलेसियाको उडान रोकेको छ।
एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले केही दिनदेखि गौतमबुद्धबाट उड्ने यात्रु नै नपाएपछि उडान रोकेको जानकारी दिए।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध विमानस्थलबाट अनिवार्य उडानका लागि जोड दिएपछि हिमालयले चार्टर्ड उडान सुरू गरेको थियो।
श्रमलगाएतका समस्या समाधान नभएको भन्दै त्यहाँबाट उडान गर्ने जजिरा एयरले पनि लामो समयदेखि समाधान गर्नका लागि अनुरोध गर्दै आएको थियो।
काठमाडौंबाट एयरलाइन्सकै खर्चमा भैरहवासम्म यात्रुहरू लगेर उडान गर्नुपर्ने बाध्यता रहेको थियो। अहिले भने हिमालयले यात्रुहरू नै नपाएको भन्दै केही दिनबाट उडान रोकेको हो। ‘अब कहिलेबाट उडान हुन्छ भन्ने निश्चित छैन,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘यात्रु पाए उडाउँछौं नभए स्थगन नै रहन्छ।’
खाडी मुलुकमा रोजगारीमा जानेहरूलाई लक्ष्य गरेर हिमालयले गत कात्तिक १७ गतेबाट दैनिक चार्टर्ड उडान सुरू गरेको थियो। ग्राउण्डह्याण्डलिङसहितको सुविधा माग गर्दै हिमालयले भैरहवाबाट उडान गरेको थियो। तर प्राधिकरणले सेल्फ ग्राउण्डह्याण्डलिङ समेत दिएको छैन।
गौतमबुद्धबाट उडान गर्ने एयरलाइन्सहरूलाई विभिन्न छुटको प्रलोभन देखाएपनि जजिरा बाहेक अन्यले उडान सुरू नै गर्न सकेका छैनन्। जजिराले पनि त्यहाँबाट उडान रोक्ने चेतावनी दिँदै आएको छ। जजिराले कुवेतमा उडान गर्दै आएको छ।
नेपाल एयरलाइन्सले भारतको नयाँ दिल्लीमा उडान गर्ने भने पनि भारतीय सरकारले अनुमति दिएको छैन। त्यो बाहेक अन्य गन्तव्यमा उडान गर्ने वा नगर्ने भन्ने विषयमा कुनै निर्णय गरेको छैन।