काठमाडौं। इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को आयोजना हुने भएको छ।
फाउन्डेसनले राजधानीमा आयोजित कार्यक्रममा प्रतियोगिताका लागि विश्वभरका मानिसले इन्ट्रा नेसनल एपमार्फत आवेदन दिन सक्ने जानकारी दिएकाे हाे। १८ वर्ष माथिका व्यक्तिले यस प्रतियोगिताका लागि आवेदन दिन सक्नेछन्।
यी 'शो' मा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरूले इन्ट्रा फाउन्डेसनको एप डाउनलोड गरेर रजिस्टर गर्न सक्छन्।फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले भने 'हामी हाम्रो संस्कृति जोगाउन एकजुट भएर लाग्नुपर्छ। हाम्रो पहिचान नै हाम्रो भाषा, संस्कृति, र दुखमा परेकाहरूलाई मद्दत गर्नुमा छ। फाउन्डेसनको मुख्य उद्देश्य पनि नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउनु हो।'
यो 'शो' मा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरूले अनलाइन आवेदन दिन सक्नेछन्। प्राथमिक छनौट प्रक्रिया पछि फाउन्डेसनले विश्वका विभिन्न स्थानमा अडिसन सञ्चालन गर्नेछ। यी दुवै शोहरूको आवेदन दिने मिति जनवरीको अन्तिम तारिक तोकिएको छ।
कम्पनीका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स’ को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधानजस्ता वरिष्ठ गायकहरू समावेश छन्। साथै मेरो डान्स यूनिभर्स’ को निर्णायक मण्डलमा मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बिसी, केकी अधिकारी, प्रियंका कार्की, र नरमन राई हुने जनाइएको छ।
यी शोहरू एलिन श्रेष्ठले निर्देशन गर्ने भएका छन्। उनले यसअघि पनि धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रियालिटी शोहरूको निर्देशन गरिसकेका छन् जस्तै नेपाल आइडल, बूगी—वूगी, नेपाल लोक स्टार, सारेगमपा लिल् च्याम्पस्।
यी दुई शोहरू नेपालकै सर्वाधिक धेरै धनराशी भएको रियालीटी शो हुन्। फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स’ का विजेताले एक करोड रूपैयाँ पाउनेछन्। साथै फस्ट रनरअपले ३० लाख रूपैयाँ र सेकेन्ड रनरअपले २० लाख रूपैयाँ पुरस्कार पाउनेछन्।
यस्तै, ‘मेरो डान्स यूनिभर्स’को विजेताले पनि एक करोड रूपैयाँ पुरस्कार पाउनेछन्। भने फस्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख रूपैयाँ पुरस्कार पाउनेछन्।
फाउन्डेसनले नेपाल बाहेक, म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अस्ट्रेलिया, अमेरिका, क्यानडा लगायत युरेपेली देशहरूबाट पनि नेपाली भाषीहरुको बृहत् सहभागिताको अपेक्षा राखेको छ।