काठमाडौं। सिन्धुपाल्चोकका रत्नप्रसाद श्रेष्ठ र सिर्जन श्रेष्ठले ‘प्योरोलिसिस फ्युल’ को आइडियाका माध्यमबाट प्लास्टिकबाट हुने प्रदूषणलाई कम गर्न लागि परेका छन्।
प्लास्टिकलाई पुनः तरल पदार्थमा परिवर्तन गरेर इन्धनको रुपमा प्रयोग गर्न मिल्ने बनाउने उनीहरूकाे तयारी छन। अहिले प्लाष्टिकबाट निकालिएको तेल इन्धन सरह नभए पनि यसबाट सवारीसाधन चल्ने तेल उनीहरूले उत्पादन गरिसकेका छन्।
प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालमा प्लास्टिकजन्य सामग्री मात्रै दैनिकरूपमा हजारौं टन भित्रिएको रत्नप्रसाद श्रेष्ठ र सिर्जन श्रेष्ठले पाए। नेपालमा ठूलोमात्रामा भित्रिएका प्लास्टिकको कारणले कृषियोग्य जमिनमा असर परी उत्पादनमा ह्राल ल्याएको विषयमा उनीहरु जानकार थिए।
त्यस्तै प्लास्टिकलाई जलाउने, जथाभावी फाल्ने कारणले वातावरणमा प्रतिकुल असर पर्ने कुराहरु उनीहरुलाई थाहा थियो। त्यसैले उनीहरुले यस्तै समस्या समाधान गर्न र प्लास्टिकबाट हुने वातावरणीय असर कम गर्ने विकल्पहरु खोज्न थाले।
सोही क्रममा उनीहरुले महँगो मूल्य तिरेर ल्याएको प्लास्टिकलाई पुनः प्रयोग गर्नेबारे सोचे। त्यसपश्चात उनीहरुले प्लास्टिकलाई तरल पदार्थमा परिवर्तन गरी इन्धनको रुपमा विकास गर्नेबारे काम गर्न सुरू गरे। यस विषयमा अध्ययन गर्दै जाँदा उनीहरुले प्लाष्टिकबाट सवारीसाधन चल्ने सम्मको तेल निकालीसकेका छन्।
प्लास्टिकबाट उत्पादन गरिएको तेल उर्जाको स्रोत बनाइ इन्धन आयातलाई घटाउने सोच उनीहरको छ। ‘नेपालले ठूलोमात्रामा तेल आयात गर्नुपर्ने बाध्यता रहेको छ,’ रत्न प्रसाद श्रेष्ठले क्यापिटल नेपालसँग भने ‘ प्लास्टिकबाट उत्पादन गरिएको तेल उर्जाको स्रोत बनाइ इन्धन आयातलाई घटाउने सोचकासाथ हामी काम गरिरहेका छौं।’
ठूलो परिणाममा भित्रिने गरेको प्लास्टिकलाई पुनः प्रयोग गरी इन्धनको रुपमा विकास गर्न सके इन्धनआयातबाट हुने व्यापार घाटालाई कम गर्न सकिने उनको दाबी छ।
प्लास्टिकजन्य वस्तुहरु जलाउँदा प्रदूषण बढाउने तथा यो नकुहिने पदार्थ भएकाले वातावरणमा पर्ने असरलाई कम गर्ने मुख्य लक्ष्य उनीहरुको रहेको छ। प्लास्टिकबाट उत्पादन गरेको तेललाई ऊर्जाको श्रोतको रुपमा विकास गरी बाहिरी इन्धनको आयातलाई रोक्न आफूहरु तयार रहेको उनीहरुले बताएका छन्।