काठमाडौं। केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्न मंगलबार नेपाल आएको चिनियाँ प्राविधिकको टोलीले आज छलफल गर्ने भएको छ। रेल विभागका महानिर्देशक (डिजी) रोहितकुमार विसुरालका अनुसार बुधबार दिउँसो विभागको कार्यालय विशालनगर काठमाडौंमा छलफल हुँदैछ।
‘चिनियाँ प्राविधिक टोली हिजो नेपाल आएको हो, आज दिउँसो छलफल हुन्छ। त्यसपछि मात्रै कसरी अध्ययनको काम अगाडि बढाउने भन्ने थाहा हुन्छ’, डिजी विसुरालले भने।
मंगलबार केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्न ‘चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुप’बाट ६ जनाको टोली नेपाल आएको छ। हालसम्मको योजनाअनुसार अध्ययन सुरु भएको ४२ महिनामा सम्भाव्यता अध्ययनको काम सम्पन्न गर्ने तयारी छ। यद्यपि आज दिउँसो हुने छलफलले अध्ययन सुरु हुने मिति, अध्ययनको लागत तथा अध्ययन प्रतिवेदन बुझाउने मिति तय गर्ने छ।
केरुङ–काठमाडौं क्षेत्रमा पहाड तथा चट्टान पर्ने भएकाले रेल सञ्चालनका लागि पुल निर्माण तथा पहाड छेड्नुपर्ने हुन्छ। २०७८ चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका बेला नेपाल र चीनका उच्च अधिकारीबीच छिट्टै अध्ययन गर्ने समझौता भएको थियो।
तर, चिनियाँ टोली हिजो मात्रै नेपाल आएको हो। प्रारम्भिक अध्ययनअनुसार केरुङ–काठमाडौं रेलमार्गको लम्बाइ ७२ किलोमिटर हुने अनुमान छ। यद्यपि सो लम्बाइ सम्भाव्यता अध्ययनको रिपोर्ट आएपछि परिवर्तन हुन सक्नेछ।
सो रेलमार्ग निर्माणका लागि २ खर्ब ७१ अर्ब ३६ करोड ८० लाख रुपैयाँ लाग्ने आकलन गरिएको छ। रेलमार्ग अध्ययनको सम्पूर्ण काम चिनियाँ प्राविधिकहरुले नै गर्ने छन्। अध्ययनका लागि आवश्यक अन्य सहयोग मात्रै नेपालले गर्ने छ।