काठमाडौं । नेपाल धितोपत्र बोर्डले एसएमई इन्डेक्स सञ्चालनमा ल्याउन तयारी थालेको छ । बोर्डले छुट्टै इन्डेक्स कार्यान्वयनमा ल्याउन नियावलीको मस्यौदा (ड्राफ्ट) तयार पारेको छ । साना कम्पनीहरूको सेयर मूल्यमा हुने अस्वाभाविक उतारचढावलाई रोक्न छुट्टै इन्डेक्समार्फत कारोबार गर्न एसएमई प्लेटफर्म सञ्चालनमा ल्याउन लागेको हो ।
सेयर बजारमा साना कम्पनीको सेयर संख्या थोरै हुने हुँदा केही समूह मूल्य घटाउने÷बढाउने चलखेलमा लाग्ने भएकाले यसलाई रोक्न छुट्टै इन्डेक्स सञ्चालन गर्न लागेको बोर्डले जनाएको छ । साना कम्पनीको छुट्टै इन्डेक्समार्फत कारोबार गराउने गरी नियमावलीको ड्राफ्ट तयार पारेको नेपाल धितोपत्र बोर्डका एक अधिकारीले जानकारी दिए ।
एसएमई प्लेटफर्म सञ्चालन नियमावलीको ड्राफ्ट तयार पारेको ती अधिकारीले क्यापिटल नेपाललाई बताए । मन्त्रिपरिषद्बाट नियमावली पास भएपछि कार्यान्वयनमा आउने भएको छ । उनका अनुसार नियमावली पास गराएर माघभित्र साना कम्पनीको कारोबार एसएमई इन्डेक्समार्फत हुनेछ ।
‘२० करोड रुपैयाँसम्म वा कम पुँजी भएका कम्पनीको छुट्टै इन्डेक्स हुन्छ,’ उनले भने, ‘त्यो इन्डेक्समा लघुवित्त संस्थालगायत केही साना कम्पनी तथा साना जलविद्युत् कम्पनी सूचीकृत हुन्छन् ।’
छोटो समयमै साना कम्पनीहरूको सेयर मूल्यमा उतारचढाव हुँदा जोखिम बहन गर्नेले यस इन्डेक्समा रहेका कम्पनीको सेयर खरिद गर्न सक्नेछन् । बाँकी मेन इन्डेक्समार्फत कारोबार गर्न पाउनेछन् ।
एसएमई प्लेटफर्मको नयाँ भने होइन । संसारका थुप्रै मुलुकमा यसको सुरुवात भइसकेको छ । साना कम्पनीहरूमा हुने सेयर मूल्य आउने उतारचढावलाई लिएर विश्वका धेरै मुलुकमा एसएमई प्लेटफर्ममार्फत कारोबार हुने गरेको छ ।
साना कम्पनीहरूमा बढी जोखिम हुन्छ । सर्वसाधारण नडुबुन भन्ने उद्देश्य जोखिम बढी भएका कम्पनीहरूको छुट्टै इन्डेक्समार्फत कारोबार गरिने गरेको पाइन्छ ।
नेपालमा अर्थमन्त्री, गभर्नरलगायत केही व्यक्तिको अभिव्यक्तिका कारण सेयर बजारमा घट्ने बढ्ने गर्छ । त्यसैले जोखिम भएको कम्पनीको कारोबारका लागि छुट्टै इन्डेक्स आवश्यक रहेको जानकार बताउँछन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सुचना अधिकारी मुराहरी पराजुलीले बोर्डले एसएमई इन्डेक्सका लागि नियमावली बनाउन बोर्डसँग छलफल गरेको बताए ।
‘नयाँ इन्डेक्स बनाउन बोर्डले नियमावली बनाउनुपर्छ,’ उनले भने, ‘बोर्डले नियमावली बनाइसकेपछि नेप्से र सिडिएससीले कारोबार विनियमावली र सूचीकरण विनियमावली तयार पार्ने छौं ।’
बोर्डले नियमावली बनाएपछि एसएमई प्लटफर्मको लागि कारोबारको विनियावली कस्तो हुनुपर्छ ? सूचीकरण विनियावली कस्तो हुनुपर्छ र राफसाप विनियमावली कस्तो हुनुपर्छ ती सबै कुरालाई नियमावलीले गाइड गर्ने पराजुलीले बताए ।