काठमाडौं। ‘चालू पुँजी कर्जा मार्गदर्शन २०७९’ स्थगन गर्न नमिल्ने भएपछि केन्द्रीय बैंकले अप्ठ्यारा फुकाउने भएको छ। गत कात्तिक १ देखि कार्यान्वयनमा आइसकेकाले अब स्थगन गर्दा केन्द्रीय बैंकको विश्वसनियतामाथि नै प्रश्न उठ्ने भएपछि चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनका कारण आइपरेका तत्कालीन अप्ठयारा फुकाउन निजी क्षेत्र र बैंकरले दिएका सुझाव केलाइरहेको छ।
‘हामीले केही समयअघि बैंकर र सरोकारवालासँग सुझाव मागेका थियौं,’ केन्द्रीय बैंकका एक उच्च अधिकारीले क्यापिटल नेपालसँग भने ‘कतिपय ठाउँमा कार्यान्वयन चरणमा जटिलता देखिएका छन्। हामी त्यसलाई सम्बोधन गर्छौं।’
नेपाल राष्ट्र बैंकले कार्यान्वयन भएको एक महिनापछि (कात्तिक ३० गते) १० दिन समय दिएर सुझाव मागेको थियो। त्यही सुझाव केन्द्रीय बैंकले विश्लेषण गरिरहेको छ।
कात्तिकमा लागू भएकाले ढिलोमा तेस्रो सातासम्म यससम्बन्धी मार्गदर्शन सच्चिएर आउन सक्ने ती अधिकारीको भनाइ छ। ‘स्थगनको सम्भावना छैन,’ ती अधिकारीले भने, ‘जे जति अप्ठयारा छन्, हामी खुला छलफलमा छौं। यस विषयमा नयाँ अर्थमन्त्री र अन्य पक्षसँग पनि आवश्यक सहकार्य हुन्छ।’
व्यवसायीले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन स्थगन माग गर्दै निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई पटक–पटक गुहारेका थिए। शर्माले पनि सार्वजनिक रुपमै मार्गदर्शनका अप्ठयारा फुकाउन गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिएका थिए।
सार्वजनिक रूपमा आफ्नो अपमान हुने गरी पूर्वअर्थमन्त्री शर्माले निर्देशन दिएको भन्दै गभर्नर अधिकारी व्यवसायीहरुसँग रुष्ट बनेका थिए। जसका कारण संशोधनका लागि तयार भइसकेका गभर्नर फेरि ‘ब्याक’ भएका थिए।
मंगलबार नेपाल उद्योग वाणिज्य महासंघ नेतृत्वले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई छुट्टाछुट्टै भेट गरी आफ्ना गुनासा राखेका थिए। अर्थमन्त्रीसँगको भेटमा गभर्नर अधिकारी उपस्थित थिए।
अहिले व्यवसायीले चालू पुँजी कर्जाका कारण व्यवसाय उठाउनै नसक्ने स्थिति आएको भन्दै स्थगनको माग गरिरहेका छन्। व्यवसायीका गुनासालाई अर्थमन्त्री पौडेलले छलफल गरेर समाधान खोज्ने बताएका छन्।
उद्यमी–व्यवसायीले चालू पुँजी कर्जा लिएर दुरुपयोग गरेको शंका गर्दै अन्तर्राष्ट्रिय मुद्रा कोषले निरन्तर केन्द्रीय बैंकलाई दबाब दिँदै आएको थियो। चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन ल्याउन आइएमएफकै भूमिका रहेको राष्ट्र बैंकका अधिकारीहरु दाबी गर्छन्।
उनीहरुका अनुसार व्यवसायीले अति गरेपछि अहिलेको चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन आएको हो। ‘आइएमएफले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन कडाइसाथ लागू गर्न भनेको छ,’ राष्ट्र बैंकका अर्का एक अधिकारीले भने, ‘तर, हामी साँच्चिकै अप्ठ्यारो बुँदा तत्कालै सच्याउन र आगामी दिनमा सरलीकृत गरी पूर्णरुपमा लागू गर्न तयार छौं।’
केन्द्रीय बैंकले मार्गदर्शनलाई गत पुसकै ड्राफ्ट गरेर सुझावका लागि सरोकारवालालाई पठाएको थियो। तर, सरोकारवालाले त्यसमा कुनै चासो नदिई हेलेचेक्र्याइँ गरेर बसेका थिए। त्यसपछि केन्द्रीय बैंकले गत साउनमा पुन ड्राफ्टको विषय उठान गरेर कात्तिक १ बाट लागू गर्ने बताएपछि व्यवसायीबीच खैलाबैला मच्चिएको थियो।
त्यहीबीचमा केन्द्रीय बैंकले उनीहरुसँग आवश्यक छलफल गरेर गत पुसभन्दा मार्गदर्शनलाई थप लचिलो बनाएको थियो। तै पनि, उक्त मार्गदर्शनमाथि व्यवसायीले असहमति जनाउँदै आएका छन्।