काठमाडौं। फ्रान्समा मुख्यालय रहेको होटल व्यवस्थापन समूह ‘एकोर’ ले काठमाडौं सुकेधारामा रहेको पाँचतारे होटल ‘द मेट्रोपोलिटन’ को व्यवस्थापन हेर्ने जिम्मेवारी पाएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा द्विराष्ट्रिय समिति सभापति देशबन्धु बस्नेत (अजित) ले एकोर ग्रुप नेपाल ल्याएका हुन्। व्यवसायी बस्नेतको लगानीमा चाँडै सञ्चालनमा आउने पाँचतारे होटल द मेट्रोपोलिटनको व्यवस्थापन हेर्ने जिम्मा एकोरले पाएको हो।
बस्नेतको मेट्रोपोलिटनलाई एकोरले मेक्योर ब्रान्डमा सञ्चालन गर्ने सम्झौता भएको छ। यससम्बन्धमा भारत नयाँदिल्लीमा दुई कम्पनीबीच सम्झौता भएको छ। सम्झौतामा होटलका अध्यक्ष बस्नेत र एकोरका वरिष्ठ उपाध्यक्ष पुनित देवानले हस्ताक्षर गरेका छन्।
‘होटलको भौतिक निर्माणका सबै काम सकिएको छ। हामीले ३ अर्ब रुपैयाँभन्दा माथि लगानी गरेका छौं,’ होटलका अध्यक्षसमेत रहेका बस्नेतले क्यापिटल नेपालसँग भने, ‘विश्वप्रसिद्ध होटल व्यवस्थापन समूह एकोरको पहिलोपटक नेपाल प्रवेशले आतिथ्य सत्कार उद्योगमा भिन्नै उत्साह थपेको छ। हामी आगामी ११ महिनाभित्र होटल सञ्चालनमा ल्याइसक्छौं।’
पाँचतारे द मेट्रोपोलिटनमा १ सय ५ वटा कोठा छन्। १० तला अग्लो मेट्रोपोलिटनमा रेस्टुरेन्ट, कन्फ्रेन्स हल, जिम, सौना, स्विमिङ पुल, ब्यांक्वेट हललगायत सबै सुविधा उपलब्ध हुनेछ।
५५ वर्षअघि सन् १९६७ मा स्थापना भएको होटल व्यवस्थापन समूह एकोरले हाल संसारका १ सयभन्दा बढी देशमा ५ हजार ३ सयभन्दा धेरै होटलका व्यवस्थापन हेरिरहेको छ। एकोरले लक्जरी, प्रिमियम, मिडस्केल र इकोनोमी गरी चार वर्गमा होटल व्यवस्थापन गर्दै आएको छ।
बस्नेतको द मेट्रोपोलिटनमा भने एकोरको मिडस्केल वर्गको मेक्योर ब्रान्ड प्रवेश गरेको हो। मिडस्केल वर्गमा मेक्योरसहित मन्त्र, नोभोटेल, एडागियो, मामा सेल्टर र ट्राइब ब्रान्ड पर्छन्। एकोरले व्यवस्थापन हेरिरहेका होटलमा हालसम्म २ लाख ३० हजारभन्दा बढीले रोजगारी पाएका छन्। एकोरले सन् २०२१ मा २ अर्ब २० करोड युरो आम्दानी गरेको थियो।