काठमाडौं। भारतले थप २ जलविद्युत आयोजनाको ४० मेगावाट बिजुली निर्यात गर्न नेपाल विद्युत प्राधिकरणलाई अनुमति दिएको छ। २५ मेगावाटको काबेली बी–१ र २० मेगावाटको तल्लो मोदी जलविद्युत आयोजनाको बिजुली निर्यातका लागि नेपाल विद्युत प्राधिकरणलाई बाटो खुलेको छ।
योसमेत गरी आगामी बर्खामा प्राधिकरणले १० आयोजनाबाट ४५२.६ मेगावाट बिजुली इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री गर्न पाउने छ। थप आयोजनालाई पनि अनुमति दिने तयारी भारतको छ। प्राधिकरणले अहिले भारतबाट बिजुली आयात गरिरहेको छ। आउँदो ४ महिनासम्म प्राधिकरणले भारतबाट डे–अहेड मार्केटबाट बिजुली किनिरहेको छ।
प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत जेठ १९ गतेबाट आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो। अवधिमा विद्युत बिक्रीबाट ६ अर्ब ९७ करोड ६९ लाख भारु नेपाल भित्रिएको छ। पुस ३ सम्म देशभित्र खपत गरी अतिरिक्त भएको १ अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले भारतमा निर्यात गरेको थियो।
सुरुमा दुईवटा जलविद्युत केन्द्रहरुबाट उत्पादित ३९ मेगावाट विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री सुरु गरिएको थियो। त्यसपछि जेठ २७ बाट ६ वटा जलविद्युत केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो ।प्राधिकरणले गत १८ र ३० कात्तिकबाट थप दुई जलविद्युत केन्द्रबाट उत्पादित विद्युत निर्यात गर्न स्वीकृति पाएको थियो।
चिसो बढ्दा काठमाडौं उपत्यकालगायतको विद्युत माग बढेको तर खोलानालामा पानीको बहाब घट्दा नदी प्रवाहमा आधारित जलविद्युत केन्द्रहरुबाट उत्पादन कम भएसँगै विद्युत निर्यात बन्द भएको प्राधिकरणले जनाएको छ। वैशाख अन्तिम र जेठको पहिलो हप्ताबाट फेरि विद्युत निर्यात गर्ने प्राधिकरणको योजना छ।
आइएक्समा विद्युत खरिदबिक्रीका लागि २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ। त्यसैले हरेक ब्लकको मूल्य फरक–फरक हुने गरेको छ। प्राधिकरणले निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट ८ रुपैयाँ २२ पैसा रहेको छ।