काठमाडाैं । नयाँ सरकार गठन भएपछि सोमबारबाट उकालो लागेको पुँजीबजारले आज पनि निरन्तरता पाएको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५९.८७ अंकले बढेर १ हजार ९८३.९५ अंकमा कायम भएको हो ।
आज २ सय ६१ वटा कम्पनीको १ करोड २० लाख २९ हजार ६ सय ३ कित्ता सेयर ६३ हजार ६७ पटक खरिद–बिक्री हुँदा ३ अर्ब ८८ करोड ४३ लाख ९७ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा २ सय २ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा ८ वटा कम्पनीको मूल्य मात्रै घटेको छ । सबै समूहका उपसूचकहरु हरियो देखिएका छन् ।
सबैभन्दा धेरै जीवन बिमा समूहको उपसूचक तीन सय ७२.२१ अंकले बढेको छ । त्यस्तै, निर्जीवन बिमा समूहको उपसूचक २८३.४२, होटल तथा पर्यटन समूहको उपसूचक ११७.०१, विकास बैंक समूहको उपसूचक १००. ३९ र जलविद्युत् समूहको उपसूचक ९५.३५ अंकले बढेको छ ।
आज बैंकिङ समूहको उपसूचक ३५.०७, वित्त समूहको उपसूचक ६७.७३, लगानी समूहको उपसूचक ३.६८, उत्पादन समूहको उपसूचक ७२.३७, लघुवित्त समूहको उपसूचक ५५.५६ र अन्य समूहको उपसूचक ३७.०२ अंकले बढेको छ ।
आजको कारोबारमा सिद्धार्थ इन्स्योरेन्स लिमिटेड, मल्टिपर्पोज फाइनान्स कम्पनी लिमिटेड, अजोड इन्स्योरेन्स लिमिटेड, सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेड, धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेड र कालिका पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आजको कारोबारमा लक्ष्मी बैंकको सबैभन्दा धेरै २० करोड ९४ लाख ९० हजार ५ सय ९ रूपैयाँ बराबरको १० लाख ७० हजार पाँच ५ सय ९९ कित्ता सेयर खरिद–बिक्री भएको छ ।