काठमाडौं। काभ्रेपलाञ्चोकका विनोद पहरीले आगोले पोलेको रातो इँटा र चाइनिज इँटाको विकल्पमा ‘वातावरणमैत्री इँटा’ उत्पादन गरी बिक्री वितरण गर्ने लक्ष्यका साथ काम गरिरहेका छन्।
उनले इको ब्रिक्स एन्ड विल्डर्स नामक कम्पनी स्थापना गरेर कामको थालनी गरेका छन्। यसका लागि विभिन्न स्थानको रातो माटोको परीक्षण र इँटाको बलियोपना परीक्षण गरी रिपोर्ट प्राप्त भइसकेको छ। यस कम्पनीले घर बनाउने, भुइँमा बिछ्याउने, भित्तामा टाँस्ने, सडक पेटी तथा पर्खालमा लगाउनेलगायतका इँटाहरुको उत्पादन गर्ने जनाइएको छ।
नेपालमा वातावरण मैत्री आयोगले पनि नपोली निर्माणसम्बन्धी कामका लागि चिम्नी भट्टामा आगोले पोलेको रातो इँटा र चाइनिज रातो इँटाको विकल्पमा वातावरणमैत्री इँटा उत्पादन गरी प्रयोग गर्नु उचित हुने बताउँदै आएको छ। सोही कारण वातावरणमैत्री इँटा उत्पादन तथा बिक्री वितरण गर्ने मुख्य लक्ष्यका साथ उनले काम गर्न सुरू गरेका हुन्। उनले इको ब्रिक्स एन्ड विल्डर्स नामक कम्पनी स्थापना गरेर काम गरिरहेको छ।
यो प्रविधिमा आधारित रहेर छनोट गरिएको ८० प्रतिशत माटो, ९.८ प्रतिशत सिमेन्ट र ०.२ सोयल स्टेबलाइजरको उचित मिश्रणलाई इँटा आकारको फ्रेममा राखी कम्प्रेस गरेर इँटा तयार पारिने उनले जानकारी दिए। तयार पारीएको इँटालाई उचित मापदण्ड पुर्याइ ५ दिनमा नै बिक्री वितरण गर्न सकिने किसिमको रहने उनको भनाइ छ।
‘इको ब्रिक्स एन्ड विल्डर्स कम्पनीको रूपमा कम्पनी दर्ता गरी काभ्रेपलान्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–९ भकुन्डेबेंसीमा उद्योग स्थापना गर्न लागेका छौँ,’ पहरीले भने, ‘नगरपालिकाले भकुन्डेबेंसीलाई स्मार्ट सहर बनाउने घोषणा गरी यहाँ अवस्थित चिम्नी भट्टाहरू हटाएको हुँदा इँटाको माग र आवश्यक्तालाई ध्यानमा राखी यो कम्पनी खोलिएको हो।’
उनले सहरीकरण र औद्योगीकरण अगाडि बढिरहेको भकुन्डेबेंसीमा कच्चा पदार्थ, श्रमिक, बजार, विद्युत, यातायात र पानीलगायत अन्य पूर्वाधारको राम्रो सुविधा रहेको जानकारी दिए।
हाल घर बनाउने, भुइँमा बिछ्याउने टायल, भित्तामा टाँस्ने इँटा आकारको टायल, छाना छाउने इँटाका साथै घर निर्माण गर्ने, नक्सा डिजाइन गर्ने, मन्दिर, पाटी, पौवा बनाउने धारा, कुवा इनार पोखरी तथा एकीकृत नमुना बस्ती, भूकम्प प्रतिरोधी भवन निर्माण गर्ने लगायतको काम गर्ने कम्पनीले जनाएको छ।
विद्युतीय इलेक्ट्रिक मेसिन राखी दैनिक १० हजार इँटा उत्पादन गरी बिक्री वितरण गर्ने योजनाअनुसार उनले काम गरिरहेका छन्। आगोलेको पोलेको इँटाबाट हुने वातावरणीय प्रदूषण कम गर्न र गुणस्तरीय इँटा उत्पादन गर्न आफू प्रयत्नशील रहेको उनले जानकारी दिएका छन्।