काठमाडौं। आतिथ्य सत्कार उद्योगमा लगानी बढेसँगै तारेस्तरका विभिन्न ठूला होटल निर्माण तीव्र गतिमा भइरहेको छ। यही मेसोमा सिद्धार्थ बिजनेस ग्रुपले साढे २ अर्ब लगानी गरेर भैरहवामा पाँचतारे ‘डिलक्स’ होटल निर्माण पूरा गरेको छ।
साढे दुई दशकदेखि विभिन्न ठाउँमा कटेज रेस्टुराँ, तीनतारे र चारतारे स्तरका होटल सञ्चालन गर्दै आएको सिद्धार्थ ग्रुपको यो पहिलो पाँचतारे होटल हो। नयाँ होटल आगामी माघ २३ गते ‘सफ्ट लन्च’ गर्ने तयारी ग्रुपको छ।
ग्रुप स्थापनाको २५औं वार्षिकोत्सव पारेर आफ्नो पहिलो पाँचतारे होटल सञ्चालन गर्न लागिएको प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्ण न्यौपानेले जानकारी दिए। ‘हामी निकै उत्साहित छौं। हाम्रो सपना पूरा हुँदैछ,’ सिइओ न्यौपानेले क्यापिटल नेपालसँग भने, ‘माघ २३ बाट हाम्रो अर्को टर्निङ प्वाइन्ट सुरु हुनेछ।’
सुरुमा पाँचतारेमात्र भनेर निर्माण सुरु गरिए पनि पछि ‘डिलक्स’ का रूपमा परिणत गरिएको थियो। चार बिघा क्षेत्रफलमा निर्माण भएको उक्त होटलका ८५ कोठा पहिलो चरणमा सञ्चालन हुनेछ। दोस्रो चरणमा भने १ सय कोठा थप हुने न्यौपानेले बताए। त्यसका लागि आवश्यक सबै प्रक्रिया र पूर्वाधार निर्माण भइसकेको छ।
कोरोना महामारी र आर्थिक मन्दीका कारण निर्माण ढिलाइ हुँदा लागत बढेको छ। सुरुमा करिब १ अर्ब २५ करोड रुपैयाँमा होटल निर्माण तय गरिएको भए पनि पछि संरचना थप गर्दै जाँदा २ अर्ब ५० करोडहाराहारी लगानी भइसकेको सिइओ न्यौपानेले जानकारी दिए।
कोरोना महामारीपछि चीनबाट सामान ल्याउन समस्या भएकै कारण निर्माण ढिलाइ भएको उनले बताए। नेपालमा निर्माण हुने अधिकांश होटलले आवश्यक सामान ल्याउन चीनकै भर पर्नुपर्ने भएकाले पनि निर्माणमा ढिलाइ भएको जनाएको छ।
पाँचतारे होटलमा नयाँपन ल्याउने उद्देश्यसाथ सबैभन्दा ठूलो ‘कन्फ्रेन्स हल’ निर्माण गरिएको छ। सुरुमा ८ देखि १० हजार वर्गफिटको कन्फ्रेन्स हल निर्माण तयारी गरे पनि अहिले त्यसलाई बढाएर १७ हजार वर्गफिट बनाइएको छ।
नेपालमा भएका पाँचतारे होटलमध्यकै सबैभन्दा ठूलो हल आफ्नोमा रहेको र ठूला कार्यक्रम गर्न थप सहज हुने विश्वास न्यौपानेको छ। उनका अनुसार होटलभित्रै क्यासिनो पनि सञ्चालन हुनेछ। त्यो पनि ‘लक्जरियस’ हुनेछ। २० हजार वर्गफिट क्षेत्रफलको क्यासिनो निर्माण भएर सञ्चालनका लागि सम्बद्ध कम्पनीलाई जिम्मा दिइसकिएको छ।
तीबाहेक होटलको १२औं तलामा ‘लक्जरियस रेस्टुराँ’ समेत निर्माण भएको छ। तराईबाट हिमाल हेर्न चाहनेलाई लक्ष्य गरी निर्माण भइरहेको उक्त रेस्टुराँबाट माछापुच्छ्रे हिमालको दृश्यावलोकन समेत गर्न सकिने होटलले जनाएको छ।