काठमाडौं। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग नेपाल उद्योग परिसंघले भेट गरेको छ। परिसंङ अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार बिहान प्रधानमन्त्रीको निजी निवास खुमलटारमा भेटवार्ता गरेको हो।
उक्त अवसरमा परिसंघ अध्यक्ष अग्रवालले निजी क्षेत्रका तर्फबाट बधाई एवं शुभकामना दिँदै चुनौतीपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्र सुधार नयाँ सरकारको पहिलो प्राथमिकता हुनुपर्ने सुझाव दिए।
परिसंघले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको अर्थतन्त्र 'बाउन्स ब्याक' गराउने अवधारणा प्रधानमन्त्री समक्ष पेस गरेको हो।
परिसंघले नेपाली अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रवर्द्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्र प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपायसमेत सुझाएको छ। परिसंघको सुझावलाई सरकारले उच्च प्राथमिकतामा राख्दै कार्यान्वयनमा लैजाने विश्वास अध्यक्ष अग्रवालले गरे।
परिसंघको बधाइ एवं अर्थतन्त्र सुधारका सुझाव ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रबाट यस्तै खालको सुझाव खोजेको बताए। ‘मैले निजी क्षेत्रबाट यस्तै अपेक्षा गरेको थिए। परिसंघले स्पष्टरूपमा सुधारका योजना दिएको छ, यसका लागि परिसंघलाई धन्यवाद,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डले सरकारको मुख्य ध्यान अर्थतन्त्र सुधार्नमै रहेको र यसका लागि परिसंघसँग सरकारले सहकार्य गर्ने बताए। ‘मन्त्रिपरिषद्को पहिलो बैठकबाटै हामीले अर्थतन्त्रलाई नै प्राथमिकतामा राखेका छौं। निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्नेछौं,’ उनले भने।
नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरू निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, वीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, परिसंघ उद्योग समिति सभापति गोकुल भण्डारी, परिसंघ महानिर्देशक दीपकराज जोशीले पनि बधाई तथा शुभकामना दिए।