काठमाडौं । कोरियाली मोटर उत्पादक मोट्रेक्स कम्पनीले तीन वर्षभित्र नेपालमै चारपांग्रे गाडी उत्पादन थाल्ने लक्ष्यका साथ अगाडि बढाइएको योजना कार्यान्वयनको अन्तिम चरणमा पुगेको छ ।
तीन वर्षभित्र उद्योग सञ्चालन गरी पाँच वर्षमा २० हजार गाडी उत्पादन गर्ने लक्ष्यका साथ एक्सेल प्लान्ट खोल्न कोरियन कम्पनी मोट्रेक्स र लगानी बोर्डबीच भएको सम्झौता कार्यान्वयको अन्तिम चरणमा पुगेको हो ।
एक्सेल प्लान्ट खोल्न कोरियन कम्पनी मोट्रेक्स र लगानी बोर्डबीच २०७६ मंसिर २५ गते सम्झौता भएको थियो । तर विविध कारण देखाउँदै सो सम्झौता कार्यान्वनतर्फ अगाडि बढ्न सकेको थिएन । निरन्तर छलफल भएर सो सम्झौता कार्यान्वयनको अन्तिम चरणमा पुगेको लगानी बोर्डले जनाएको छ ।
‘योजनालाई अगाडि बढाउन दुई पक्षबीच निरन्तर वार्ता भइरहेको छ,’ लगानी बोर्डका सहप्रवक्ता रमेश अधिकारीले क्यापिटल नेपालसँग भने ‘दुई पक्षबीचको वार्ता टुंगिएर उत्पादनको काम छिट्टै सुरु हुनेछ ।’सहप्रवक्ता अधिकारीकाअनुसार उद्योगका लागि मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा उपलब्ध गराउने सहमति भइसकेको छ ।
‘मोतिपुर औद्योगिक क्षेत्रमा उद्योग राख्न दिने भनेर उद्योग मन्त्रालयबाट एक प्रकारको सहमति आइसकेको छ, यसर्थ उत्पादनको काम मोतिपुरबाटै हुने देखिन्छ,’ अधिकारीले भने ‘यो क्षेत्र पूर्णरुपमा तयार नहुँदासम्म अन्य कामका लागि कम्पनीले निजी रुपमा जग्गा व्यवस्थापन गर्न पाउने कुरा भएको छ ।’ उनकाअनुसार मोतिपुर औद्योगिक क्षेत्र उत्पादनका लागि पूर्णरुपमा तयार नहुँदासम्म कम्पनीले अन्य प्रयोजनका लागि आवश्यक जग्गा लिनुपर्ने हुन्छ ।
त्यस्तै मोट्रेक्स कम्पनीले माग गर्दै आएको कर छुटको विषय भने हालसम्म टुंगिन सकेको छैन । कम्पनीले अन्तःशुल्कमा प्रोत्साहनको माग राख्दै कर छुट दिएमा आफूलाई सहज हुने बताउँदै आएको छ ।
तर अधिकारीकाअनुसार यो विषय अब एक पटक वार्ता गरेर टुंग्याइने छ । ‘मोट्रेक्स कम्पनीले आयकर र अन्तःशुल्कमा छुट पाउनुपर्ने माग राखिरहेको छ,’ अधिकारीले भने ‘यो विषय टुंगिएको छैन, अब अन्तिम पटक वार्ता गरेर यो विषयलाई पनि टुंग्याइने छ।’ उनकाअनुसार कम्पनीले छुट पाउनुपर्ने दाबी गरिरहेका कारण यसमा सहमति हुन सकेको छैन । तर यो विषय पनि एउटा वार्ताबाट नै टुंगिने उनको भनाइ छ ।
२०७६ सालमा नै गाडी उत्पादन गर्ने भन्दै मोट्रेक्स कम्पनीले आवेदन दिएपछि त्यसको एक वर्षपछि मोट्रेक्स र लगानी बोर्डबीच सो सम्झौता भएको थियो । सुरुमा सम्झौता गर्दा रुपन्देहीको मोतीपुर औद्यागिक क्षेत्रमा नै प्लान्ट राख्ने र यसका लागि कम्पनीले १०० विघा जग्गा पाउने जनाइएको थियो ।
त्यस्तै उद्योग स्थापनाका लागि बुटवल औद्योगिक क्षेत्रभित्र रहेको बुटवल धागो कारखानाको जग्गा दिने विषयका पनि चर्चा भएको थियो । तर उद्योगमा रहेका पुराना मेसिन प्रतिस्थापन गर्न झन्झटिलो भएका कारण यो स्थान छनोटमा परेको थिएन र हाल भने मातीपुरमा नै उद्योग स्थापना हुने निश्चित भएको छ ।
चारपांग्रे गाडी उत्पादन गर्न कम्पनीले न्युनतम १५ अर्ब रुपैयाँ खर्च गर्ने जनाइएको थियो । बोर्ड बैठकले गाडी उत्पादन प्लाण्ट राख्न १० अर्ब रुपैयाँ लगानी स्वीकृत गरिसकेको छ । सम्झौता भएको लामो समयसम्म कोरोना महामारीको कारणले योजना अगाडि बढ्न सकेन ।
लगानी बोर्डले पनि कोरोना महामारीको कारणले योजना सम्पन्न भइसक्ने समयसम्म पनि अगाडि बढ्न नसकेको प्रतिक्रिया दिँदै बस्यो । तर, कोरोना महामारी सामान्य अवस्थामा फर्किएपछि योजना अघि बढाउने प्रयास भए पनि योजनाले भने गति लिन सकेको थिएन । सम्झौतापछि मोटे«क्स कम्पनी र लगानी बार्डबीच यस योजनालाई अगाडि बढाउन पटकपटक वार्ता भए पनि टुंगोमा पुगेको थिएन । हाल भने यस योजना अगाडि बढ्ने देखिएको छ ।