काठमाडौं । विगतका बर्षहरुमा चाडपर्वको समयमा उत्साही हुने सुनचाँदी व्यवसायी यो बर्ष भने निराश भएका छन् । सुनको मुल्यमा भएको बृद्धिले चाडपर्वको मुख्य मौसम असारपछि नै ब्यवसायमा गिरावट आएको ब्यवसायीहरुले बताएका छन् ।
विगतका वर्षहरुमा चाडपर्वहरु नजिकिएसँगै सुनचाँदीको कारोवारमा उच्च बृद्धी हुने गरेकोमा यो वर्ष असार महिना देखि अहिलेसम्म बजार २५ प्रतिशतमा सिमित भएको सुनचाँदी व्यवसायी महासंघका पुर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । उनका अनुसार चार महिना अघि ७५ प्रतिशतले घटेको बजार उक्सिनुको सट्टा घट्ने क्रममा छ । उनले भने ‘पहिला पहिला दैनिक औषत ६० किलो सुन व्यापार हुने गरेकामा अहिले बजारमा करिब १५ किलोग्राम सुन बिक्री भइरहेको छ । सुनको मुल्यमा सुधार नआएसम्म व्यापारमा पनि कुनै सुधार हुदैन, माग पनि बढेको छैन ।’
शुक्रबार नेपाली बजारमा सुन प्रति तोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । चार महिना पहिला असार १ गते सुनको मुल्य प्रतितोला ६३ हजार थियो । छोटो समयमा भएको अत्याधिक मुल्य बृद्धिले सामान्य नेपाली उपभोक्ताको पहुचभन्दा माथी सुनलाई पु¥याएको ब्यबसायीहरु बताउछन् । शाक्यले भने ‘७० हजार भन्दा बढीको सुन लगाउन नेपालीहरुलाई कठिन छ । हरेक वस्तुमा भएको मूल्यबृद्धिले आधारभुत आवश्यकता परिपुर्ती नै पहिलो प्राथामिकता रहेकाले र गहरगना लगाउने रहर कम गरिरहेका छन् ।’
सुनचाँदीको कारोवार बढी हुने नेपालका न्यूरोड, असनलगायतका बजारमा मानिसको चहलपल निक्कै कम रहेको सुनचाँदी व्यवसायीहरुले बताएका छन ।
चार महिना देखि लगातार अन्तर्राष्ट्रिय बजारमा डलरको मुल्य बढ्नु, चीन र अमेरिका बिच व्यापारीक युद्ध चलिरहनुलगायतका कारणले सुनको मुल्य बढीरहेको सरोकारवालाहरु बताउछन् ।
मंसिरसम्म सुधार नभए व्यवसाय निरन्तरतामा कठिन
नेपालमा अहिले २५ हजार व्यवसायीले सुनचाँदी ब्यवसायमा संलग्न छन् । सो ब्यवसायमा रोजगार गर्ने २ लाख भन्दा बढी कालिगढ रहेका छन् । उनिहरुसँग आश्रित २० लाख जनासख्या रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । व्यवसाय सुधार नआए अधिकांश कालिगढ बेरोजगार हुने महासंघको जिकिर छ ।