विराटनगर। मोरङका मुख्य ३ व्यावसायिक संस्थाले सोमबार बिहानैदेखि नेपाल राष्ट्र बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयलाई ठप्प बनाएका छन्।
ब्याज वृद्धिको विरोधमा बिहीबारदेखि सुरु गरिएको आन्दोलनका कार्यक्रमअन्तर्गत सोमबारदेखि व्यवसायीले राष्ट्र बैंकको प्रादेशिक कार्यालयलाई ठप्प बनाएका हुन्। विभिन्न ५ सूत्रीय माग राख्दै मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र सीएनआई प्रदेश १ बिहीबारदेखि आन्दोलनमा उत्रिएका थिए।
बैंकको प्रादेशिक कार्यालयका प्रमुख मीना पाण्डेका अनुसार कार्यालयका प्रादेशिक कार्यालयका ५२ कर्मचारीमध्ये २ जना बैंकपरिसरभित्रै बस्छन्। उनीहरूबाहेक आ–आफ्ना घर वा डेराबाट ५ कर्मचारीमात्र भित्र पस्न सकेका छन्। बाँकी ४७ कर्मचारीले हाजिर गर्न र आ–आफ्नो कार्यसम्पादन गर्न पाएनन्।
प्रमुख पाण्डेले यसबाट समग्र बैंकको कामकारबाहीमा अवरोध पुगेको बताइन्। आन्दोलित व्यवसायीले बिहिबार र शुक्रबारको घेराउमा विभिन्न व्यापारिक बैंकका नगद बोकेका गाडीलाई मात्र अवरोध गरेका थिए। तर सोमबार बिहान ९ बजेदेखि नै बैंकको मुख्य प्रवेश–द्वारमा धर्ना बसेका व्यवसायीले कर्मचारीसमेतलाई छिर्न दिएनन्।
धर्ना कार्यक्रम अपराह्न ५.०० बजेसम्म सञ्चालन गरिनेछ। व्यावसायिक संस्थाले चालू पुँजी कर्जा निर्देशिका खारेज गरिनुपर्ने, एकल अंकको ब्याजदर कायम गरिनुपर्ने, स्प्रेड दर र संस्थागत ब्याजदर अधिकतम २ प्रतिशत निर्धारण गरिनुपर्ने तथा बैंकर र व्यवसायीलाई अलग बनाइनुपर्ने माग राख्दै आएका छन्।
मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले सरकार र राष्ट्र बैंकले व्यवसायीका मुद्दालाई सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने बताए।
अध्यक्ष रिजालले सरकारले बलप्रयोग गर्न खोजेमा व्यवसायीले त्यसको सशक्त प्रतिकार गर्ने जानकारी दिँदै केही अप्रिय घटना भएमा त्यसको जिम्मेवार सरकार नै हुनुपर्ने चेतावनी दिए।