काठमाडौं। मुलुकका अधिकांश बासिन्दा कृषि पेसामा आबद्ध छन्। विविध कारण कृषि निर्वाहमुखी हुँदै आएको छ। यसको प्रभाव कतिविधि छ भन्ने कृषि उत्पादन आयात गर्नुपरेबाटै प्रष्ट हुन्छ।
तरकारी खेती, माछा, कुखुरा, बंगुर, बाख्रापालन जस्ता कृषिसम्बन्धी व्यवसाय ठूलो मात्रामा हुन थालेको छ। तर, रोग लाग्ने, सोचेजस्तो आर्थिक लाभ नहुने, पर्याप्त उत्पादन नहुने लगायत समस्याले किसान सधैं मर्कामा छन्। यी र यस्तै समस्याका कारणले कृषि पेसाप्रति आकर्षण घट्दै गएको पाइन्छ।
तर, अब किसानका यस्तै समस्या समाधान गर्न कञ्चनपुरका बेबिना पाण्डे र कमलेश्वर भट्टले ‘कृषि क्रान्ति’ नामक योजनालाई मूर्तरूप दिँदैछन्। उनीहरूले पशुपन्छी तथा कृषि कर्म गर्न इच्छुक र गरिरहेका किसानका उत्पादन ‘कमर्सियल’ बनाउन प्रविधिमार्फत जोड्न उक्त योजना अगाडि बढाएका हुन्।
उनीहरूले किसानलाई भेटेरिनरी डाक्टरको सल्लाह–सुझाव दिने, किसानलाई व्यवसायसँग सम्बन्धित तालिम दिने, प्रविधि प्रयोग गर्न सिकाउने तथा प्रविधिका सहायताले उत्पादनकर्ता र बिक्री वितरण गर्नेलाई जोड्ने काम गर्दै आएका छन्।
त्यसैगरी दूरदराजमा रहेका किसानलाई तुरुन्त सल्लाह–सुझाव उपलब्ध गराउने, आवश्कताअनुसार किसानका कृषि फार्म व्यवस्थित गर्न मद्दत गर्ने, किसानका उत्पादन प्रविधिमार्फत बजारीकरण गरी बिक्री गर्न सहयोग गर्ने लक्ष्यसाथ काम गरिरहेका छन्।
‘किसानलाई सहयोग गरेर नेपालको उत्पादकत्व बढाउन र आयात घटाएर निर्यात बढाउन हामीले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको व्यापक प्रयोग गरिरहेका छौं,’ उनीहरू भन्छन्।
उनीहरूको ‘कृषि क्रान्ति’ नामको फेसबुक पेजमा ९७ हजार बढी फलोअर्स छन्। त्यस्तै फेसबुक गु्रप पनि असंख्य छन्। युट्युबमा १० हजार बढी सब्स्क्राइबर, टिकटकमा १३ हजारबढी फलोअर्स छन्।
ती सामाजिक सञ्जालका माध्यमबाट उनीहरूले टाढा–टाढाका किसानका व्यवसायमा देखिएका समस्या समाधानका उपाय, व्यवसाय बढाउन आवश्यक कुरा, प्राविधिक प्रयोगका विषय पनि सिकाउँदै आएका छन्।
मुलुकमा कृषि पेसा गर्नेले साना–साना विषयमा ध्यान नपुर्याउँदा ठूलो क्षति पुगेको उदाहरण उनीहरूले थुप्रै देखे। प्रविधि प्रयोग नहुँदा भएका समस्या, पशुमा विभिन्न रोग लाग्ने जस्ता समस्या पनि नजिकैबाट नियाले।
सोही कारण उनीहरूले यस्ता समस्या समाधान गर्न, पशुचिकित्सक नपाउने, भेटेरिनरीसँग सम्बन्धित सल्लाह–सुझाव दिने मानिस नहुने समस्या समाधान गर्ने लक्ष्यसाथ अध्ययन गरेर उक्त अवधारणामा काम गरिरहेका छन्।
नेपालमा कृषि पेसामा ठूलो जनशक्ति लागे पनि उनीहरूमा विविध समस्या देखापर्ने र त्यस्ता समस्या समाधान गर्न बेबिना र कमलेश्वरले काम गरिरहेका छन्। आफूहरूले गरेको कामले बढिभन्दा बढी किसानलाई फाइदा पुगोस् भन्ने चाहेको उनीहरूको भनाइ छ।
मुलुकको कृषिलाई थप प्रविधिमैत्री बनाउने, कृषिमा प्रविधि प्रयोग गर्दै बजारीकरण बढाउने, उचित भण्डारण उपाय सिकाएर किसानलाई बढी फाइदा पुर्याउने उनीहरूको लक्ष्य छ।
सामाजिक सञ्जालबाट नै बाख्रा, गाई, बंगुर, कुखुरापालन कसरी व्यवस्थित तरिकाले राख्ने, के–के खुवाउने, कस्ता रोग लाग्दा के उपचार गर्ने लगायत विषय प्रशस्तमात्रामा राख्ने गरेका छन्, जसले धेरै किसानलाई फाइदा पुग्ने गरेको छ।
सानो लगानीबाट व्यवसाय प्रवद्र्धन गरेका किसानका उदाहरण प्रस्तुत गरेर, तरकारी तथा अन्नबालीमा प्रयोग गर्न हुने र नहुने तत्व, रोप्ने, हुर्काउने, स्याहार गर्ने विधि सिकाउने काम उनीहरूले गर्दै आएका छन्। यस कामलाई थप बढाउँदै लगेर नेपालको जीवन निर्वाहमूखी कृषि पेसालाई माथि उकास्ने लक्ष्यमा काम गरिरहने उनीहरूको संकल्प छ।