काठमाडौं। नेकपा (माओवादी) केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीका ररूपमा सोमबार सपथ लिँदैछन्। तेस्रोपटक प्रधानमन्त्री नियुक्त प्रचण्डले मुलुकको अर्थतन्त्रको बागडोर कसलाई सम्हाल्न दिन्छन् भन्ने चासो बढ्न थालेको छ।
खासगरी सत्ता साझेदार नेकपा (एमाले) र माओवादी केन्द्रका नेतामध्येबाटै अर्थमन्त्री चयन हुनेछन्। प्रधानमन्त्री माओवादी केन्द्रले पाएपछि अर्थ मन्त्रालयसहित महत्वपूर्ण मन्त्रालय एमालेले पाउने निश्चित छ। तर, अर्थ मन्त्रालयको जिम्मा कसले लिने टुंगो अझै लागेको छैन।
तै पनि, सत्ता समीकरण गरेका दलबीचको प्रारम्भिक सहमतिअनुसार अर्थ मन्त्रालय एमालेको भागमा पर्ने देखिन्छ। यदि, एमालेले अर्थमन्त्री लिने भए पूर्व अर्थमन्त्री विष्णु पौडेल निर्विकल्प देखिन्छन्। पौडेलनिकट केही व्यवसायीले पनि अर्थमन्त्रीमा उनैलाई अगाडि सार्न दबाब दिइरहेका छन्। तर, पौडेल भने उपप्रधानसहित गृहमन्त्री बन्ने चाहना बोकेर अगाडि बढेको उनीनिकट केही नेताको दाबी छ।
पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्यालाई लिएर पनि नेताहरूको चाहना अर्थमा त्यति नपरेको देखिन्छ। पौडेलको चाहना पनि अहिलेको अवस्थामा अर्थ मन्त्रालय लिनुभन्दा गृह मन्त्रालय लिनु छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि पौडेललाई नै अर्थमन्त्रीको जिम्मेवारी दिने तयारी थालेको सम्बद्ध स्रोतहरूको भनाइ छ।
यसअघि रहेको गठबन्धन तोडेर एमालेसँग सत्ता समीकरण गराउन पौडेलको भूमिका अग्रस्थानमा छ। त्यही भएर पनि उनले रोजेको मन्त्री पाउने सम्भावना धेरै रहेको एमालेनिकट एक नेताले जानकारी दिए।
त्यस्तै माओवादीलाई एमालेसँग समीकरण गराएर प्रधानमन्त्री बन्न सफल बनाउने भूमिका उपमहासचिव वर्षमान पुनको छ। उपचार सकेर चीनबाट फर्केलगत्तै उनले एमालेका नेताहरूसँग सत्ता समीकरणका लागि छलफल अगाडि बढाएका थिए। एमालेका तर्फबाट पौडेल र माओवादीका तर्फबाट पुनसहितका नेताहरूको सक्रियताका कारण दुवै पार्टीले भनेजस्तै पद प्राप्त भएको दाबी नेताहरूले गर्दै आएका छन्।
त्यही भएर माओवादीभित्र पुनले रोजेको मन्त्रालय पाउने सम्भावना उच्च छ। पुनले चाहे अर्थमन्त्री बन्न सक्छन्। माओवादीनिकट एक नेताका अनुसार अर्थमन्त्रीको चाहना पुनले राखेका छन्। हुन त पुनले यसअघि जनार्दन शर्मा अर्थमन्त्री हुँदा पनि अर्थको चाहना राखेका थिए।
तर, प्रचण्डले जनार्दनलाई अर्थमन्त्री बनाएपछि पुन उनीसँग रुष्ट बनेका थिए। अहिले भने प्रचण्ड पनि पुनसँग सकारात्मक रहेका छन्। सत्ता समीकरण दलबीच सहमति जुटे पुन अर्थमन्त्री बन्न सक्छन्। प्रचण्डले पनि सके अर्थमन्त्री नभए आर्थिक सल्लाहकारका रूपमा आफैंसँग राख्ने चाहना राखेका थिए।
पौडेल र पुन यसअघि पनि अर्थमन्त्री भइसकेका छन्। पौडेल छोटो समयका लागि अर्थमन्त्री हुँदा राम्रो काम गरेको भन्दै निजी क्षेत्रले पनि उनलाई चाहेको छ। त्यस्तै पुन पनि अर्थ मन्त्रालयमा रहँदा राम्रो काम गरेको र हालका अर्थमन्त्री शर्माभन्दा उत्तम रहेको विश्लेषण हुन थालेको छ।