काठमाडौ । रोजगारदाता र कर्मचारी नआएपछि सामाजिक सुरक्षा कोषमा दर्ता हुने समय थपिने भएको छ । सामाजिक सुरक्षा कोषले दर्ता हुने समय असोज मसान्तसम्म दिएको थियो । सो अवधीसम्म सबै रोजगारदाता र कर्मचारी कोषमा सुचिकरण हुन नआएपछि समय थप्न लागेको कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले बताए । ‘कति समय थपिन्छ भन्ने अहिले टुंगो लागेको छैन,दुई/तीन दिनमा टुंगो लाग्छ ’ कार्यकारी निर्देशक ज्ञवालीले क्यापिटल नेपालसंग भने ।
कोषका अनुसार असोज मसान्तसम्म ६ हजार ६ सय रोजगारदाता र ९० हजार कर्मचारी दर्ता भएका छन् । अधिकाँश ठूला व्यावसायिक प्रतिष्ठान अझै कोषमा दर्ता हुन आएका छैन । चौद्यरी ग्रुप, गोल्छा अर्गनाइजेसन, डाबर नेपाल, गोल्यान समूह, नोबेल मेडिकल, ट्रिनिटी, शंकर ग्रुप, सूर्य नेपाल, मेडिकेयर, किस्ट मेडिकल, होटल ग्राण्डी, टाइगर, युनिलिभर नेपाल लिमिटेड होटल अन्नपूर्णलगायतका व्यवसायिक संस्थाहरु कोषमा दर्ता भइसकेको कार्यकारी निर्देशक ज्ञवालीले बताए । कामदार तथा श्रमिकको कोषमा ३० प्रतिशत रकम जम्मा हुने छ । जसमा रोजगादाता कम्पनीले २० र १० प्रतिशत कर्मचारीको तलव कट्टा गरी कोषमा जम्मा हुनुपर्ने छ ।
कोषले यस वर्ष निजी सङ्गठित संस्था तथा त्यहाँ कार्यरत कर्मचारीबाट योगदान रकम ४० अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ ।
गत वर्ष साउन १ गतेदेखि सामाजिक सुरक्षा योजना पूर्णरुपमा कार्यान्वयनमा आएको छ । यही असोज मसान्तभित्र सम्पूर्ण रोजगारदाता र आफूसँग श्रम सम्बन्ध कायम गरेका श्रमिकलाई कोषमा सूचीकृत गराउनुपर्ने व्यवस्था छ । कोषले संकलित योगादान रकम लगानी गर्न योजना तयार गर्दै छ । जलविद्युत् यातायातलगायत पूर्वाधार, पर्यटन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने उनको भनाइ छ ।