काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्राे पटक प्रधानमन्त्री बनेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका सदस्य दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।
राष्ट्रपति कार्यालयद्वारा आज साँझ विज्ञप्ति जारी गरेर दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकाे जानकारी दिएकाे हाे ।
यसअघि अध्यक्ष दाहालले प्रधानमन्त्रीका लागि प्रतिनिसभाका १६९ जना सदस्यको समर्थनसहितको दाबी पेस गरेका थिए। राष्ट्रपति भण्डारीले यही पुस ३ गते सात दिनको समयसीमा दिई प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेकी थिइन्।
त्यसको समयसीमा आजै साँझ ५ बजे सकिएको हो। उक्त समयसी अगावै नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदको समर्थन पेस गरेका थिए।
स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहले पनि उनलाई समर्थन गरेपछि २७५ सदस्यीय प्रतिनिधिसभामा प्रचण्डले १६९ सांसदको समर्थन पाएका छन् ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि विकसित राजनीतिक घटनाक्रमसँगै उनी प्रधानमन्त्री बन्न सफल भएका हुन। उनको नियुक्तिसँगै निर्वाचन परिणाम प्राप्त भएपछि विकसित राजनीतिकरूपमा देखिएको अन्योल स्वतः सकिएको छ।
पछिल्लो निर्वाचनमा मतका आधारमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र क्रमशः पहिलो, दोस्रो र तेस्रो शक्तिका रूपमा स्थापित भएका हुन्। विसं २०६४ मा सम्पन्न संविधानसभा सदस्य निर्वाचनमा सबैभन्दा ठूलो दलको अध्यक्षको हैसियतमा तथा २०७३ साउनमा नेपाली कांग्रेसको समर्थनमा दाहाल प्रधानमन्त्री भएका थिए। उनले दोस्रो कार्यकालमा आफूले जनअपेक्षाअनुसार काम गर्नसकेको सार्वजनिकरूपमा नै बताउँदै आएका छन्।
नवनियुक्त प्रधानमन्त्री दाहाललाई नेकपा एमालेको ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको छ, नागरिक उन्मुक्ति पार्टीका चार र अन्य तीन स्वतन्त्र सांसदको समर्थन छ।
दाहाल विसं २०६५ को साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। यस्तै, २०७३ साउन १९ गते दोस्रो पटक प्रधानमन्त्री बनेका दाहाल २०७४ जेठ २३ गतेसम्म कार्यकारी प्रमुखका रूपमा रहेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको बैठकले अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो।
नवनियुक्त प्रधानमन्त्री दाहालको जन्म विसं २०११ मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाविस वडा नम्बर २ लेवाडेमा भएको हो। पिता मुक्तिराम र माता भवानीका जेठो छोरा दाहालले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमा नै लिए।
विसं २०२६ मा चितवनको नारायणी विद्या मन्दिर मावि शिवनगरबाट प्रवेशिका परीक्षामा उत्तीर्ण भई २०२७–२०२९ पाटन बहुमुखी क्याम्पसबाट आइएस्सी पूरा गरी २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएस्सी गरेका थिए। उनले एमपीएसम्मको अध्ययन गरेका छन्।
२०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौं–१० र रोल्पा–२ बाट निर्वाचित भएका थिए। २०७० मंसिरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा सिराहा–५ बाट निर्वाचित भएका थिए। प्रचण्ड २०७३ साउन १९ गते व्यवस्थापिका–संसद्मा ३६३ सदस्यको बहुमत प्राप्त गरी नेपाल सरकारको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भए।
यस्तै, २०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट अध्यक्ष प्रचण्डले ४८ हजार २७६ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए। तत्कालीन वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा झण्डै दुई तिहाइ मत प्राप्त भए पनि पूरा कार्यकाल चल्न सकेन।
विसं २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि तत्कालीन नेकपामा फुट आयो। सर्वोच्च अदालतको आदेशपछि तत्कालीन पाँच दलीय गठबन्धनको तर्फबाट २०७८ असार २९ गते शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भयो। सो सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्यो।
यस्तै, २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उनी गोरखा क्षेत्र नम्बर २ बाट २६ हजार १०९ मत प्राप्त गरी विजयी भएका हुन। सत्तारूढ गठबन्धनमा सहमति नभएपछि आजै नेकपा एमालेसहितका दलको सहमतिमा अध्यक्ष दाहाल प्रधानमन्त्री बनेका हुन्।