काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा काम गरेका ७०० श्रमिकले भुक्तानी पाएपछि अवरोध हटेको छ । ज्याला नपाएको भन्दै मजदुरले आयोजनाको काममा अवरोध गर्दै आएका थिए । श्रमिकलाई ३ करोड रुपैयाँ भुक्तानी गरिसकिएको आयोजनाले जनाएको छ ।
मेलम्ची खानेपानी विकास समितिले सामान आपूर्ति गर्ने कम्पनीहरुलाई पनि भुक्तानी दिनका लागि विवरण संकलन काम सुरु गरेको छ । यसअघि निर्माणकर्मी तथा श्रमिकले साइटमा पुगेको ठेकेदार कम्पनीलाई आफुहरुलाइ भुक्तानी नदिएसम्म आयोजना अघि बढ्न नदिने भन्दै अवरोध गर्दै आएका थिए ।
अहिले भने आयोजनाको बाँकी काम सुरुङ र मुहानको काम गर्न नयाँ ठेकेदार चिनिँया सिनो हाइड्रो कर्पोरेशन आयोजना साइटमा पुगेर काम थालेका छ । आयोजनाका अनुसार, यसअघि काम गरेर भुक्तानी नपाएका झन्डै ७०० श्रमिकलाई सरकारले भुक्तानी गरिसकेको छ ।
त्यस्तै, सप्लायर्स तथा भेन्डरका लागि विवरण र प्रमाण संकलन गरेर सरकारले आवश्यक छलफल गरी टुङ्गो लगाउने भएपछि अहिले आयोजनाको काम अघि बढाउन सहज भएको हो ।
चिनिँया ठेकेदार कम्पनी सिनो हाइड्राले बाँकी काम अघि बढाएको आयोजनाका सिनियर डिभिजन इन्जिनियर राजेन्द्रराज पन्तले बताए । यसअघि भुक्तानी नपाएर काममा अवरोध पुर्याउने श्रमिकले ज्याला पाइसकेको, सप्लायर्स र भेन्डरका लागि पनि व्यवस्थापन हुने भएपछि अहिले बाँकी काम अघि बढाउन कुनै अवरोध नरहेको पन्तले बताए ।
उनले ठेकेदार कम्पनी पनि साइट पुगेर काम सुरु गरिसकेकाले एकबर्ष भित्र नै आयोजना सम्पन्न हुने अपेक्षा रहेको बताए । ‘यसअघि भुक्तानी नपाएर काममा अवरोध पुग्यो । लामो समयसम्म आयोजना अन्योलमा पर्र्यो’ उनले भने’ भेन्डर र सप्लायर्सको भुक्तानीका लागि पनि विवरण र प्रमाण संकलन हुँदैछ।’
आयोजनामा अहिले कुनै अवरोध नभएको र ठेकेदारले भनेअनुसार नै काम गरेमा एक बर्षभित्रै आयोजना पूरा हुने उनको भनाइ छ । ‘आयोजनामा अहिले त्यस्तो अवरोध हुने स्थिति छैन् । थोरै काम बाँकी छ’ उनले भने ‘ठेकेदारले ६ महिनामा सके बोनस समेत पाउने छ । यसले पनि ठेकेदारले चासोका साथ काम अघि बढाउनेछ भन्ने हामीलाई लागेको छ ।’
इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड सिमेस्ट्रि(सीएमसी) ले आयोजनाबाट हात झिकेपछि त्यहाँ काम गरिरहेका निर्माणकर्मी र सप्लायर्सले भुक्तानी पाउन सकेका थिएनन् । आयोजनाको ठेकेदार कम्पनीलाई काममा अवरोध गर्दै आएका थिए ।
सिनो हाइड्रोलाइ १५ महिनामा ‘हेडवक्र्स’को काम सक्ने गरी समय दिइएको आयोजनाले जनाएको छ । ‘हेडवक्र्स’ निर्माणको लागत १ अर्ब २ करोड रुपैयाँ छ ।