काठमाडौं। भक्तपुरका आनन्दकुमार श्रेष्ठ र सुलोचना श्रेष्ठले एग्रो आर्मी प्रालिमार्फत् ‘सेफ फुड, सेफ फार्मर’ को अवधारणामा टमाटार प्रशोधन गर्दै आएका छन। उनीहरुले अहिले १२ दिनमा बिग्रने टमाटारलाई १२ महिनासम्म सुरक्षित राख्न सकिने प्रविधिको विकासमा काम गर्दै आएका छन्।
किसानले उत्पादन गरेको टमाटर बजारमा खपत नभएर खेर गएको देखेपछि उनीहरुले त्यसलाई फ्याक्नुको साटो प्रशोधन गरेर नबिग्रने बनाउनेबारे आइडिया अघि सारेका छन। त्यसपछि उनीहरुले फ्याक्नुपर्ने बाध्यतालाई अन्त्य गर्न प्युरी बनाएर बोतलमा प्याक गरी बेच्ने काम सुरु गरेका छन्।
उनीहरुले ‘टमाटर प्युरी’ उत्पादन नामक व्यवसाय एग्रो आर्मी कम्पनीमार्फत् ‘सेभ फुड, सेभ फार्मर’को अवधारणामा गरिरहेका छन्। समयमा विभिन्न कारण बस किसानले उत्पादन गरेको टमाटर बजारमा खपत नभइ नस्ट भएर फ्याक्नु पर्ने अवस्था, त्यसको केही समयपछि बजारमा टमाटरको भाउ आकासिएर उपभोक्ता महँगीको मारमा पर्ने अवस्थालाई उनीहरुले नजिकबाट नियाले।
किसानको उत्पादित वस्तु नस्ट भएर नजाने, बजारमा अभाव भएको कारण महँगीमा नपर्ने हुँदा र बजारमा यस्तो उत्पादनको व्यापक माग पनि हुने भएकाले उनीहरुले यसमा काम गरेका हुन्।
विशेषगरी खाद्य सामाग्री तथा इन्धनमा भइरहेको मूल्य वृद्धिले नाफा प्रतिशत घट्दै जाँदा होटेल तथा रेस्टुरेन्टमा निकै समस्यामा पर्ने गरेका छन्। यी समस्याहरुमध्ये टमाटरको प्युरी पनि एक हो, जसको बजारमा अभाव हुने गरेको। त्यस्तै नेपालमा प्रयाप्त मात्रमा नहुँदा बाहिरबाट समेत ल्याउनुपर्ने बाध्यता छ।
त्यसैले उनीहरुले बजारको अवस्था अध्ययन गरेर टमाटरको प्युरि बनाइ बोत्तलमा प्याक गरेर पार्टी प्यालेस, होटेल तथा रेस्टुरेन्टमा बिक्रीवितरणको काम गर्दै आएका छन्। यस टमाटर प्युरी विशेष गरि मःमः को अचार, पिज्जा सस, ग्रेभी बनाउने प्रयोजनका लागि प्रयोग गरिन्छ। उपभोक्तालाई उनीहरुको उत्पादन धेरै नै गुणस्तरीय एवम् सस्तो पर्ने उनीहरुको दाबी छ।
बजारमा टमाटर १० रुपैयाँ किलोमा पनि बिक्री नहुँदा किसान मारमा पर्ने गरेका छन्। त्यसपछि त्यही टमाटर महँगिएर उपभोक्ताले एक किलोको १०० रुपैयाँभन्दा बढी तिर्नुपर्ने बाध्यता पनि आउँछ। यसैलाई मध्यनजर गरेर उनीहरुले १२ महिनासम्म राख्न मिल्ने र नबिग्रीने गरी प्युरी बनाउने काम गरेका हुन्।
यस उत्पादनले किसानको नबिकेको टमाटर पनि बिक्ने र ग्राहकलाई महङ्गिको समस्या नरहेने उनीहरुको भनाइ छ। उनीहरुको यो व्यवसायले उत्पादित वस्तुहरु खेर जाँदैन भने अर्कोतर्फ आर्थिक उपार्जनका लागि महत्वपूर्ण योगदान पुर्याउँछ।
होटेल तथा रेष्टुरेन्टले ६ महिनासम्म पुग्नेगरी एकैपटक यो प्युरी राख्न सक्ने र नबिग्रिने उनीहरुको दाबी छ। उनीहरुको यो अवधारणाले सबैभन्दा बढी फाइदा किसानलाई हुने गर्छ। यदि यसलाई हरेक ठाउँमा व्यवस्थित गरेर बढाउन सके बजार अभावको कारणले कहिल्यै पनि टमाटर खेर नजाने उनीहरु बताउँछन्। साथै बजारमा खपत नहुने डरले किसानले कम उत्पादन गर्नुपर्ने बाध्यता पनि नरहने हुन्छ।
नेपालमा सकेसम्म टमाटरको उत्पादन गरेर त्यसबाट प्युरी बनाई विभिन्न देशहरुलाई निर्यात गर्न सकेमा किसानको मात्र नभएर देशकै आर्थिक अवस्था सुधारमा सहयोग पग्ने उनीहरुको भनाइ छ। अहिलेको प्युरी उत्पादनलाई व्यवस्थित गर्दै थप अन्य वस्तुहरु उत्पादनका लागि पनि अध्ययन गरेर काम अघि बढाउने उनीहरुको योजना छ। नेपालभर उत्पादीत टमाटरहरुलाई खेर जान नदिने उनीहरुको लक्ष्य छ।