दोहा, कतार। खाडी मुलुक कतारको मध्यसहरस्थित ‘अन्डरग्राउन्ड’ मा कुद्ने मेट्रोको गतिजस्तै कतारको विकास गति एक दशकमा तीव्ररूपमा अगाडि बढेको छ। खाडीको एउटा सानो देशले विकासका मारेको अभूतपूर्व छलाङ र संसारकै सबैभन्दा ठूलो इभेन्ट ‘विश्वकप फुटबल’ सफलतापूर्वक गरेको आयोजनाले संसारलाई नै जिब्रो टोक्न बाध्य बनायो।
खासगरी युरोप र अमेरिकाले जुन ‘प्रोपोगान्डा’ का आँखाले कतारलाई हेरिरहेका थिए, त्यही देशका फुटबलप्रेमी कतारमा उर्लिएर फुटबलको मजामात्र लुटेनन् आफ्नै देशको गतिमा विकासको लय देखेर तीनछक्क परेर फर्किए। ४ लाख बढी नेपालीको कर्मथलो कतारको विकास र रणनीति नेपालका लागि अझ चाखलाग्दो र चासो दुवै हो। कतारको विकासका लागि नेपाली पौरखीको योगदान उस्तै छ।
हो, कतारले एकैपटक संसारभरि आफ्नो ‘मेगा ब्रान्डिङ’ गर्याे। उसको विकास पूरापुर योजनाबद्ध छ। गगनचुम्बी भवन, ग्यास, तेल, समुद्र र मरुभूमिले चिनिने कतारलाई अहिले व्यवस्थापन, प्रणाली, विकास र योजना (म्यानेजमेन्ट, सिस्टम, डेभलपमेन्ट एन्ड प्लानिङ) ‘एमएसडिपी’ को ‘मास्टरमाइन्ड’ कार्यशैलीका लागि फरक नजरमा विश्वले हेरिरहेको छ। छिमेकी मुलुकका नाकाबन्दीमा पनि तीव्र आर्थिक विकासका कारण कतारले आफूलाई शक्तिशाली प्रमाणित गरेको छ।
खासमा यो सबै पछिल्लो संस्करणको विश्वकप फुटबल आयोजना गरेर कतारले अझ बढी संसारलाई देखाएको हो।
मरुभूमिले घेरिएको खाडीको सानो देश कतारले सन् २०३० सम्ममा १ करोड वृक्षरोपण गर्ने योजना बनाएको छ। मरुभूमि हरियाली बनाउने कतारलाई यो सामान्य योजना हो। विश्वकपकै लागि १० लाख रुख कतारले आफ्नो सहरमा सजाइसकेको थियो।
उसले विश्वकप फुटबल आयोजना गर्ने जिम्मा २०१० मै पाउँदा संसारभरिका देशको नजर कतारमा परिसकेको थियो। त्यसअघि अरबी मुलुक कतारलाई संसारले तेल र ग्यासमा भरिपूर्ण र सामरिक राजनीतिमा अमेरिकाको ‘बेसक्याप’ रहेको देशका रूपमा चिन्ने गरेका थिए।
विश्वकप आयोजना गर्ने भएपछि कतारले तीव्र गतिमा भौतिक पूर्वाधार निर्माणमा जोड दियो। उसले आठवटा स्टेडियम (रंगशाला), पुरस्कार र अन्य भौतिक पूर्वाधारमा २ खर्ब २० करोड अमेरिकी डलर खर्चियो। यो रकम विश्वकप फुटबल इतिहासमा हालसम्मकै सर्वाधिक बढी हो।
कतारको एउटै सहर दोहा (राजधानी) मा विश्वकप आयोजना भएको थियो। यसअघि फरक देशले फरक सहरमा र त्यसपछि पनि फरक–फरक देशले फरक–फरक सहरमा विश्वकप आयोजना गर्दैछन्। तर, कतारले एउटै सहर दोहाभित्रको ५५ किलोमिटरभित्र आठ स्टेडियम बनाएर खेलको भव्य उद्घाटन र समापन गर्याे। र, यो पनि साबित गरिदियो– कतार धनी र विकसित मुलुक हो।
कतारको यो वैभवशाली विकासमा पछिल्लो पुस्ताको नेतृत्वको दिर्घकालीन सोच भएको कतारका लागि नेपालका राजदूत डा. नरेशविक्रम ढकाल बताउँछन्। ‘पाँच वा १० वर्षपछि देशलाई कुन स्थानमा लैजाने भन्ने खाका तयार गरेर निरन्तर काम गर्ने शैलीले कतारको चमत्कारिक विकास भएको हो,’ राजदूत ढकाल भन्छन्।
बलियो अर्थतन्त्र भएको मुलुक र विकासको रफ्तार कस्तो छ भन्ने देखाउन पनि कतारले विश्वकप फुटबल आयोजना गरेको आभाष दिलायो। उदाउँदो अर्थतन्त्र भएका मुलुक जापान, दक्षिण कोरिया, दक्षिण अफ्रिका, ब्राजिल जस्तामा विश्वकप फुटबल आयोजना भइसकेका छन्।
आप्रवासीसहित २७ लाख जनसंख्या रहेको कतारमा त्यहीँका नागरिकको संख्या भने ३ लाख ५० हजारमात्र छ। कतारमा ९२ देशका नागरिक छन्। सबैभन्दा धेरै ७ लाख भारतीयदेखि थोरै लाट्भियाका २२ जना रहेको कतारको सरकारी तथ्यांक छ। कतारमा नेपालीको संख्या ४ लाख छ।
कतारको विकास लय
एक शताब्दीअघि समुद्रमा माछा मार्ने र मोती खोज्ने कतारीको प्रमुख पेसा थियो। पेट्रोल र ग्यास पत्ता लगाउनुअघि कतार गरिब देश नै थियो। सन् १९३९ मा तेल र ग्यास क्षेत्रको खोजपछि यसको उत्पादन र वितरण हुन थालेसँगै विश्वको एउटा गरिब देश बिस्तारै स्रोतमाथिको पहुँच र बिक्री–वितरणले राजस्व बढाउँदै अगाडि बढ्यो।
अहिले कतार विश्वकै सबैभन्दा बढी प्रतिव्यक्ति आम्दानी भएको देशमा दरिएको छ। तेल र ग्यास कतारी अर्थव्यवस्थाको आधारस्तम्भ नै हो। कूल सरकारी राजस्वमा ७० प्रतिशतभन्दा बढी योगदान तेल र ग्यासको छ। ८५ प्रतिशत निर्यात आम्दानी यही क्षेत्रबाट कतारले गर्ने गर्छ। विश्वको तेस्रो ठूलो प्राकृतिक ग्यास भण्डार कतारमै छ। ग्यासको दोस्रो ठूलो निर्यातकर्ता पनि ऊ नै हो।
कतारका शासक शेख हामद बिन खालिफा अल थानीको नेतृत्वमा २०११ देखि ६ वर्षसम्म कतारको विकास खाका तयार भएको थियो। त्यही बेला पहिलो राष्ट्रिय विकास रणनीति तयार गरियो। सोही रणनीतिका आधारमा विकासका काम भए। र, २०३० को ‘कतार नेसनल भिजन’ प्राप्त गर्न योजना बनिरहेका छन्।
१९७० देखि हालसम्म सहरी विकासका योजनालाई कतारले दिर्घकालीन सोचसाथ अगाडि बढाइरहेको छ। कतारी जनताका लागि सरकारले सबै कुरा निःशुल्क गरेको छ। जस्तै, स्वास्थ्य, शिक्षा, रोजगारी, आवास अनुदान उपलब्ध गराएको छ।
विश्वकप फुटबलका लागि कतारले अन्डरग्राउन्ड मेट्रो सञ्चालनमा ल्यायो, आठ ठूला स्टेडियम बनायो, ठूला राजमार्ग र भित्री सडक निर्माणमा तीव्रता दियो, ठूला होटल निर्माण गरी सञ्चालन गर्याे, १० लाख रुख रोपेर सहरमा हरियाली बनायो, हमाद अन्तर्राष्ट्रिय विमानस्थललाई सुविधासम्पन्न र लक्जरियस बनायो, एकैपटक ४ हजार बस थप्याे (तीमध्ये ७ सय विद्युतीय छन्), सूचना प्रविधिमा नयाँ आयाम थप्यो। जस्तो, विश्वकपकै लागि भनेर ‘हाया कार्ड एप’ निर्माण गरेर त्यसैका आधारमा टिकट बुकिङ, त्यसैलाई नै भिसा बनाएर निःशुल्क र निर्वाध कतार प्रवेश, त्यसैका आधारमा निःशुल्क सिम कार्ड, निःशुल्क बस सेवा र निःशुल्क मेट्रो सेवा उपलब्ध गरायो। यो एप २० लाख बढीले डाउनलोड गरेको कतार सरकारले जनाएको छ। यो एपलाई विश्वकपपछि पनि कतारले उपयोगी बनाएर प्रयोगमा ल्याउने जनाएको छ।
विश्वकप आयोजक बन्ने निश्चित हुनुअघि पनि कतारको विकास अघि बढिरहेको थियो। तर, विश्वकप कतारमा हुने भएपछि छिमेकीहरू साउदी अरब, दुबई (युएई), ओमान, इजिप्ट र बहराइनले कतारमाथि नाकाबन्दी लगाए। आतंकवादलाई सघाएको आरोप कतारमाथि थोपरेर नाकाबन्दी गरे पनि कतार एक्लैले सफल र भव्यतापूर्वक विश्वकप फुटबल आयोजना गरिदियो। साउदी अरबलाई ‘मन लागेर’ नाकाबन्दी गरेको सन्देश संसारभरि प्रवाह गर्न पनि कतार सफल भयो। साउदीले नै साढे तीन वर्षपछि कतारमाथि लगाएको नाकाबन्दी फिर्ता लिने निर्णय लियो।
नाकाबन्दीले कतारलाई आर्थिकरूपमा थप मजबुत बनाएको त्यो बेलाको उसको आर्थिक सूचकांकले देखाउँछ। नाकाबन्दीका बेला कतारको आर्थिक वृद्धिदर २.५ बाट बढेर ३.१ पुगेको थियो।
नाकाबन्दीपछि कतार आत्मनिर्भर अर्थतन्त्रमा गयो। घरेलु उत्पादन र उद्योगहरू सञ्चालनमा आए। त्यही बेला २०१७ सेप्टेम्बरमा ७ अर्ब ४० करोड डलर लगानीमा हमाद बन्दरगाह सञ्चालनमा ल्यायो। त्यसअघि कतार दुबईलगायत छिमेकीका बन्दरगाह प्रयोग गथ्र्याे। अहिले आफ्नै बन्दरगाहमा सामान ओसारपसार गर्छ। त्यसपछि कतारमा पानीजहाजको लर्को देखिनु स्वाभाविक भएको छ।
कतारमा कूल बजेटको ५० प्रतिशत हिस्सा पूर्वाधार निर्माणमा खर्च गर्ने गरिन्छ। पर्याप्त बजेट र योजनाले विकास गतिलाई तीव्रता दिएको छ।
विश्वकप फुटबलपछि २०२२ अन्त्यमा कतारको अर्थतन्त्र ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण अर्थविदले गरिरहेका छन्। विश्वकप आयोजनाले कतारको अर्थतन्त्रमा १७ अर्ब डलर बढीको योगदान हुने अनुमान छ।
कतार र नेपाली कामदार
कूल ११ हजार ५ सय ८० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको कतारमा नेपालीको जनसंख्या ४ लाखहाराहारी छ। अधिकांश नेपाली कामको खोजीमा कतार पुगिरहेका छन्। महिनामै १० हजारहाराहारी नेपाली काम खोज्दै कतार पुग्ने गरेको वैदेशिक रोजगार विभागको तथ्यांक छ। तर, कतारमा जमेर व्यवसाय गरी बस्ने नेपाली पनि बाक्लिँदै छन्। व्यवसाय गर्ने नेपालीको संख्या दिनहुँ बढ्दै गएको छ। बैंकर, इन्जिनियर, पाँचतारे होटलमा सेफ, डक्टरलगायत उच्च पदमा नेपाली पुगिरहेका छन्।
कतारले आप्रवासी कामदारका लागि न्यूनतम तलब वृद्धि गरेको छ। उनीहरूको ज्यालामा १ हजार रियालभन्दा बढी वृद्धि गरेको हो। कतारले कानुनै बनाएर ३२ डिग्रीभन्दा माथिको गर्मीमा कम्पनीले काममा लगाउन नपाउने नियम बनाएको छ।
नेपालस्थित कतारी दूतावासले सार्वजनिक गरेको प्रतिवेदनमा प्रतिमहिना १ हजार रियालभन्दा कम आम्दानी भएका श्रमिकको तलब १ हजार ८ सय रियाल पुगेको उल्लेख छ। खान र बस्न राम्रो सुविधा भएका कम्पनीले अनिवार्य १ हजार रियाल र यस्तो व्यवस्था नभएका कम्पनीले १ हजार ८ सय रियाल तलब दिनैपर्छ। यसको प्रत्यक्ष फाइदा नेपाली कामदारलाई भएको छ।
कतारस्थित नेपाली कामदार र अन्य आप्रवासी कामदारको सेवा सुविधा, अलपत्र पर्ने र मृत्यु हुने विषयमा कतार सरकारले अझै संवदेशनशील हुनुपर्ने र चासो राख्नुपर्ने अन्तर्राष्ट्रिय मानव अधिकार, श्रम संगठनहरूले चर्काे दबाब दिँदै आएका छन्।
कतार र नेपालबीचको श्रम सम्झौता परिमार्जन गर्ने समय भएको छ। त्यसका लागि एक वर्षअघि कतारका श्रमसचिवको नेतृत्वमा एक प्रतिनिधिमण्डल नेपाल आएको थियो। नयाँ सम्झौताको मस्यौदा बनाउन नेपाली पक्षलाई आग्रह गरिएपछि नेपालले नयाँ सम्झौताको मस्यौदा बनाएर कतारलाई जानकारी गराइसकेको छ। नयाँ सम्झौतामा कामदारको हकअधिकार र सुविधा बढ्ने अनुमान छ।
कतारको विकासमा योगदान गर्न पाउँदा गर्व लाग्छ
आरके शर्मा
एनआरएन आईसीसी उपाध्यक्ष तथा प्रबन्ध निर्देशक, पिजन इन्जिनियरिङ कम्पनी, कतार
कतारले विश्वकप आयोजना गरिरहँदा पूर्वाधारमा विकासको फड्को मारेको छ। यहाँको नेतृत्वको दूरदर्शी भिजनले कतारको विकासलाई तीव्र गतिमा अगाडि बढाएको हो।
कतारको नेतृत्वले २५ वर्षपछि आफ्नो राष्ट्र कस्तो देख्ने र १० वर्षपछि आफ्नो राष्ट्र कस्तो हुन्छ भन्ने दिर्घकालीन लक्ष्य तयार गरी बढेको देखिन्छ।
त्यो लक्ष्यसँगै यहाँको नेतृत्वले त्यसलाई कार्यान्वयन गर्न समयमा आयोजना सक्नका लागि त्यस्तै किसिमका विज्ञ राखेको पाइन्छ। ती विज्ञ टिमले हरेक समयमा अनुगमन गरिरहेका हुन्छन्।
यसरी हेर्दा कतारको पूर्वाधार विकासको फड्को मार्नुमा पहिला नेतृत्वको भिजन सेटिङ छ, नेतृत्वको दृढ चाहना छ।
म झन्डै दुई दशक हुन लाग्यो यहाँ आएको। यहाँ छिरेको दिन र अहिले हेर्दा सपनाजस्तो पनि लाग्छ। तर, अहोरात्र कतारको समृद्धि यहीँ बसेर देख्न पाएको हुँदा गर्व पनि लाग्छ। तर, कहिलेकाहीँ लाग्छ हाम्रो देशमा किन यही गतिमा समृद्धि हुन सकेन। नेपालमा कहिले होला यस्तो समृद्धि, विकास भनेर अलिकति चिन्ता पनि लाग्छ।
कतारले प्रविधिमा आधारित धेरै सेवालाई अगाडि बढाइसकेको छ। कतारको विकासमा नेपालीहरूको पनि योगदान छ। यसले नेपालीलाई पनि गर्व बनाउने काम भएको छ। सरकारले नेपाल र नेपाली कामदारलाई सम्मानति नजरले हेरिरहेको छ।
नेपाली कामदारका लागि कतार खास गरेर मैले दुइटा कुरा प्रष्टयाउन चाहेँ, जुन निर्माणलगायत अदक्ष र अर्धदक्ष कामदार विदेश जाने नेपाली दाजुभाइ तथा दिदीबहिनीका लागि गन्तव्यमध्ये कतार सबैभन्दा राम्रो गन्तव्य हो किनभने कतारले स्वास्थ्य, सुरक्षा, कल्याणकारी सुविधा विश्वस्तरीयरूपमा प्रदान गरेको छ। त्यसैले नेपाली कामदारका लागि कतार सुरक्षित र राम्रो गन्तव्य हो।
अप्रवासी कामदारबारे उठाइने कुरामध्ये कतार एउटा यस्तो देश हो, जहाँ कामदारका लागि स्वाथ्य सुरक्षा विश्वस्तरीय नियम कानुनअनुसार छ। जो देशमा बस्छन् र काम गर्छन् उनीहरूलाई समस्या भएको देखिँदैन तर बाहिर हल्ला अर्कै आउने गरेको पाइन्छ।
जुन नियम कानुन उल्लंघन गर्ने, कहीँ कतै कम्पनीको पाटो एउटा रह्यो तर सरकारले नितान्त सबै कामदारको हकहित सुरक्षित गरेको हुन्छ। स्वास्थ्य सुरक्षा एकदम दृढरूपले लागू हुनुपर्छ भन्ने कुरा कानुनमा प्रष्ट छ।
मेरो कम्पनी आफैंले पनि फिफा विश्वकप परियोजनामा काम गरेको हुँदा कतार सरकारको कानुनले कामदार होस् वा अरू किसिमको व्यवसायी होस् सबैको अधिकार सुनिश्चित गरेको देखियो।
कतारमा दक्ष कामदारको माग देखिन्छ। १० वर्ष र अहिले तपाईंले तुलना गर्ने हो भने अहिले डाक्टर, पाइलट, क्याप्टेन, इजिनियर, प्रोजेक्ट डाइरेक्टर, चार्टर अकाउटेन्ट, फाइभ स्टार होटलका सेफ, सिनियर म्यानेजर धेरै देख्न सकिन्छ। हो, नेपालले यो हिस्सा अझ धेरै लिनुपर्छ भन्ने चाहिँ छ।
त्यसका लागि नेपाल सरकारले समयसापेक्ष सिकाइ प्रणाली पनि परिर्वतन गर्न जरुरी छ। अब हामीहरू १९औं शताब्दीको इतिहास पढाउनुभन्दा २१औं शताब्दीमा विज्ञान, प्रविधि, डिजिटलाइजेसन ट्रान्सफर्मेसनले कहाँ के प्रभाव गर्दछ र हाम्रा विद्यार्थी भाइबहिनीले कस्तो किसिमको ‘स्किल डेभलप’ गर्नुपर्दछ भनेर त्यो किसिमको दिशामा लाग्नुपर्छ।
कतारसँग श्रममात्र होइन, लगानीबारे पनि कुरा भइरहेका छन्। तर, हाम्रा राजदूतहरूो राजनीतिक नियुक्ति र कार्यकाल लामो नहुँदा ठोस नतिजा निस्केको छैन। द्विपक्षीय व्यापार सन्धीबारे हामी अगाडि बढ्न सकेका छैनौं।
कतारबाट नेपालमा लगानी भित्र्याउन सरकार, अर्थ मन्त्रालय आफैं पनि लाग्नुपर्दछ। सरकारले नै पहल लिनुपर्छ। हामीले कतारका व्यवसायीलाई नेपालमा लगानीको सम्भावनाबारे प्रष्ट्याउन सधैं कोसिस गरिरहेका छौ र व्याख्या पनि गरिसकेका छौं।
मैले पहिले पनि भनिसकेँ कतारबाट नेपालमा लगानी भित्र्याउन कतार इन्भेस्टमेन्ट अथोरिटीले कतारका नागरिकलाई नेपालमा लगानी भित्र्याउन एउटा संकेत दिनुपर्छ। त्यसका लागि अघि मैले भनेको सन्धीलगायत काम हामीले गर्न सकेका छैनौं।
पर्यटनबारे पनि प्रचारप्रसार गर्न सकिएन। यहाँबाट घुम्न जाने पर्यटक छन् तर नेपालले यहाँ प्रचारप्रसारका लागि पहल गरेको पाइँदैन। पर्यटन प्रवद्र्धनका कार्यक्रम युरोप–अमेरिकातिर बढी केन्द्रित गरेको पाइन्छ। तर, विश्वपर्यटन बजारमा खर्च गर्न सक्ने पर्यटक बस्ने मध्यपूर्व क्षेत्रलाई कहिल्यै पनि नेपाल सरकारले प्राथमिकतामा राखेको पाइएन।
कतारमा नेपाली व्यवसायीले राम्रो गर्दै गइरहेका छन्। पहिलो पुस्ताले गरेको व्यवसाय अहिले गतिशील छ। नेपाली व्यवसायीको ठूलो इतिहास छैन तर बिस्तारै बढ्दै छ। निर्माण, स्वास्थ्य, होटल, सेक्युरिटी क्षेत्रमा व्यवसाय बढ्दै छ। १५ वर्षअघि कतारमा व्यवसाय गर्ने देवकाजी डंगोल, बद्री पाण्डे त्यसपछि सागर नेपालीलगायत म आउँदै गर्दा त्यतिखेर औंलामा गन्ने व्यवसायी हुनुहुन्थ्यो भने झन्डै हजार नेपालीले कतारमा व्यवसाय गरेको पाइन्छ।
विश्वकप पूर्वाधारका लागि मेरो कम्पनीले काम गर्ने मौका पायो। हो, मैले सन् २०१४ देखि नै विश्वकपका योजनामा काम सुरु गरेँ। कामदारको सुरक्षा, सेवा सुविधामा ध्यान दिएर हामीले विभिन्न चरणमा काम ग¥यौं। हामीले अहिलेसम्म यहाँ निर्माण भएका आठवटा स्टेडियम सानादेखि ठूलामा काम गर्ने मौका पायौं। त्यो सँगसँगै तत्काल जुन ग्रान्ड डिमान्ड फिफा म्याच भइरहेका छन्, त्यसमा पनि लजिस्टिकका हिसाबले होस् वा सर्ट टर्म सपोर्टका हिसाबले होस्, हामीले झन्डै ३ हजारभन्दा माथि मेन डेस्कको टिमले फरक–फरक क्षेत्रमा सर्भिसको काम गर्याैं।
सेक्युरिटी गार्ड, लजिस्टिक स्टार्फ, सर्भिस स्टाफलगायतमा सर्भिस दिइरहेका छौं। यो विश्वमै धेरै ठुल्ठूला कम्पनीले चाहँदा पनि प्रतिस्पर्धा गर्न गाह्रो हुने काम हामी नेपालीको कम्पनीले गर्याे।
यसमा हामीले धेरै अनुभव बटुल्न पाएका छौं। यी अनुभव नेपालको विकासमा आउने कुनै ग्रान्ड डिमान्डका लागि पक्कै पनि हामीले खर्चिने छौं।
...
कामदारले प्रविधिमा आधारित रहेर रेमिट्यान्स पठाउन थालेका छन्
जितेन्द्र पाण्डे
कन्ट्री म्यानेजर, रिया मनी ट्रान्सफर, कतार
रिया मनी टान्सफरमार्फत हामीले १ सय ७० भन्दा बढी देशमा सेवा प्रदान गर्दै आइरहेका छौं। नेपाली श्रमिकले रेमिट्यान्स पठाउने र विदेशीले पठाउने कुरामा केही फरक छ।
मुख्यतः नेपालको रेमिट्यान्स ठूलो आकारको हुन्छ। चार/पाँचजना मिलेर एक समयमा एकजनाले पठाउने भन्ने अवधारणा नेपालीको रहेका कारण नेपालीको रेमिट्यान्स ठूलोमात्रामा रहेको पाइन्छ। सुरुसुरुमा यस्तो भए पनि हाल भने निकै परिवर्तन भएको छ।
अहिले सामान्यतः सबैको हातमा मोबाइल छ, बैंकको सेवा छ, वालेटहरू पनि छ। यसैकारण सामान्य कारोबारमै रकम जाने गरेको छ। मैले देख्दै गर्दा पहिलाको तुलनामा यसमा निकै परिवर्तन आएको छ। पहिला कम्तिमा १ लाख नेपाली रुपैयाँ एकपटकमा जान्थ्यो। तर, मोबाइल वालेटलगायतले यसमा पूरै परिवर्तन आएको छ।
कतारमा अन्यको देशको तुलनामा नेपालीले नेपाल पठाउने रकमको ट्रान्ज्याक्सन नम्बर ठूलो भएको हामीले पाएका छौं। जस्तो, फिलिपिनी वा अन्य हेर्दा १ सय डलरभन्दा कम भएको हामी पाउँछौं।
कम्पनीका लागि जति बढी ट्रान्ज्याक्सन भयो, त्यति राम्रो हुन्छ किनकि फाइदा बढी हुन्छ। हामीले एजेन्टलाई पे गर्दा पनि ट्रान्ज्याक्सनबाटै गर्छाैं र बिजनेस क्याल्कुलेसन पनि ट्रान्ज्याक्सनबाटै गर्छौं। ग्राहकका लागि हेर्दा पनि खासै चार्ज पनि बढी छैन, एकपटक पठाउँदा १८ कतारी रियाल लाग्ने गर्दछ।
सानो तथा ठूलो जुनआकारमा पठाए पनि यसमा खासै परिवर्तन छैन। पहिलाको तुलनामा रेमिट्यान्स पठाउन धेरै सजिलो भएको छ। पहिला धेरै गाह्रो थियो। सन् २००५ मा कतारमा २० वटा एक्सचेन्ज थिए भने शाखा पनि २० देखि २२ नै थिए। हाइवे बाहिर रहेका कामदारले पैसा पठाउन समस्या थियो। जहाँ भए पनि दोहा आएर रकम पठाउनुपर्ने बाध्यता थियो त्यही पनि एकदम लामो लाइन हुन्थ्यो। ग्राहकलाई मिलाउन पनि एकदम कठिन हुने गथ्र्याे। पछि बिस्तारै शाखा बढ्दै गएपछि सहज भयो।
अझ स्पष्ट भन्दा कोरोना महामारीपछि पैसा पठाउन झन् सजिलो भएको छ। किनकि, सबै एक्सचेन्जले मोबाइल एप सुरु गरेका छन्, शाखा पनि तीव्र गतिमा बढिरहेका छन्। यसरी एकदम सहज भएको छ। कामदारले मोबाइल एप प्रयोग बढाउँदै लगेका छन्।
दक्ष र अदक्ष कामदारले पनि प्रविधिमा आधारित रहेर रेमिट्यान्स पठाउन सुरु गरेका छन्। विभिन्न एक्सचेन्ज कम्पनी र शाखाले यसका लागि क्याम्पेन गरिरहेका छन्। प्रविधिलाई कसरी प्रयोग गर्ने, मोबाइल एप कसरी प्रयोग गर्ने, कसरी प्रयोग गर्दा राम्रो हुन्छ भन्ने कुरा एक्सचेन्ज कम्पनी, बैंकहरूले गराइरहेका हुन्छन्।
अब नेपाल सरकारले गर्नुपर्ने कुरामा जनचेतना जगाउनेखालका कुरा गर्नुपर्ने छ। हामीले भन्दै पनि आइरहेका छौं, दूतावासमा पनि परामर्श गरिरहेका छौं र यस्ता किसिमका कार्यक्रम हुँदै पनि आएका छन्। अब कतिपय कुरामा यस्तो–यस्तो गर्नुपर्ने भन्ने कुरा पनि हामीले गरिरहेका छौं। नीतिगतरूपमा अझै सुधार भयो भने रेमिट्यान्सका लागि अझै सुधार हुन्थ्यो भन्ने पनि छ। यसका लागि पहल पनि गरिरहेका छौँ।
नेपालमा राम्रो खालको नीति बनाएको खण्डमा जनचेतना पनि बढ्ने देखिन्छ। यसले गर्दा प्रोत्साहन गर्ने काम पनि हुन्छ। त्यो खालको अवस्था बनाए नेपालको रेमिट्यान्स अझै बढ्ने देखिन्छ। श्रीलंका, पाकिस्तानमा निःशुल्क भइरहेको छ। बंगलादेशमा पनि भर्खरै सुरु गरेको छ, जहाँ सबै सरकारीतर्फबाट हुने गर्दछ। यस्तोखालको अवस्था र नीति भयो भने झन् राम्रो हुने देखिन्छ। मुख्यतः हुन्डी रोक्नुपर्ने हुन्छ।
...
कतारको लगानी भित्र्याउन सरकारी पहल जरुरी
हेमबहादुर गुरुङ
अध्यक्ष, कतार भिसा सेन्टर
कतारले विश्वभरि आफ्नो लगानी बढाइरहेको छ। कतारले देश बाहिर अर्बाैं-अर्ब अमेरिकी डलर लगानी गरिरहेको सन्दर्भमा नेपालले पनि यसको फाइदा लिन सक्नुपर्छ।
गत वर्ष नेपालबाट राष्ट्रपति विद्यादेवी भण्डारीले कतार भ्रमण गर्नुभएको थियो। उच्चस्तरीय भ्रमणले नेपाल र कतारको सम्बन्ध थप मजबुत बनेको छ। कतारबाट पनि नेपालमा उच्चस्तरीय भ्रमणको पहल भइरहेको जानकारी अहिले आइरहेको छ।
कतार र नेपालको सम्बन्धलाई सधैं श्रमसम्बन्धसँग जोडेरमात्र अर्थ लगाइयो। द्विपक्षीय व्यापार, लगानी र पर्यटनको व्यापक सम्भावना हुँदाहुँदै हामीले त्यसतर्फ कम चासो दिइरहेका छौं।
आर्थिकरूपमा सम्पन्न कतारजस्तो मुलुकसँगको हाम्रो सम्बन्ध व्यापार र लगानी बढ्ने हो भने हामीले कतारको लगानीमात्र भित्र्याउँदैनौं, कतारले गरेको विकासको मोडल पनि सिधा भित्रिन्छ।
कतारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा समेत चासो देखाएको थियो। निर्माण र त्यसपछि सञ्चालन व्यवस्थापनमा कतारको चासो हुनु सकारात्मक विषय हो। यसबारे कतारले नेपाल सरकारसमक्ष प्रस्ताव पनि पेस गरिसकेको छ। त्यस्तै पश्चिमसेती आयोजनामा पनि कतारले लगानी गर्न चासो राखेको थियो। कतार सरकारको लगानी रहेको नेब्रास पावर कम्पनीले पश्चिमसेतीमा लगानी गर्न चाहेको कुरा बाहिर आएको थियो। यस विषयमा कतारी पक्षसँग नेपालको लगानी बोर्डका अधिकारीले छलफल गरिसकेका छन्। कतारले नेपालमा पूर्वाधार, जलस्रोत, पर्यटन, कृषिमा लगानी गर्ने सम्भावना धेरै नै छ। यसका लागि हाम्रो कुटनीतिक र सरकारी पहल गम्भीर हुनुपर्छ।
सरकारले पहल गर्ने हो भने नेपालबाट हस्तकला, हिमालय क्षेत्रको पानी, ताजा तरकारी, फलफूल कतार पुग्न समय लाग्दैन। त्यस्तै कतारका धनी पर्यटकलाई लक्ष्य गर्दै नेपालको पर्यटन प्रवर्द्धन गर्ने हो भने नेपाल भ्रमणमा आउने कतारी पर्यटक बढ्न पनि समय लाग्दैन।
कतार जान कतार सरकारले नेपालमा कतार भिसा सेन्टर स्थापना गरेर सरल र सहज भिसा उपलब्ध गराइरहेको छ। कतार फाउन्डेसनमार्फत नेपालको शिक्षा क्षेत्रमा पनि सहयोग गरिरहेको छ। त्यस्तै कतार एयरवेजमार्फत सिधा उडानबाट पनि नेपाल र नेपाली कामदारलाई सहज बनाएको छ।
...
हल्ला गरेजस्तो होइन, कतारमा नेपाली कामदारको सुविधा राम्रो छ
सन्तोष पौडेल
स्टोरकिपर, युनाइटेड डेभलपमेन्ट कम्पनी, द पर्ल कतार
रोजगारीका लागि कतार उत्तम देश हो। यहाँ नेपाली कामदारका लागि काम गर्ने वातावरण राम्रो छ। सेवा र सुविधा पनि राम्रो छ। कतार सरकारको नियम कानुन सबैलाई समान छ। सरकारले दिने भनेको तलब, सेवा, सुविधा, अधिकार अधिकांश कम्पनीले दिएका छन् तर केहीले मानिरहेका छैनन् जस्तो पनि देखिन्छ।
हामी नेपाली कामदार जुन पदमा काम गरिरहेका छौं, सोही ग्रेडअनुसार सेवा सुविधा उपलब्ध छ। कम्पनीले स्वास्थ्य सुविधामा पनि ध्यान दिएको छ। स्वास्थ्य कार्ड अनिवार्य बनाएको छ। यहाँको सरकारी अस्पतालमा हरेक देशका नागरिकलाई सहज पहुँच र उपचार छ।
कामदारको मृत्युका विषयमा अलि बढी हल्ला हुन्छ। संसारको सबै देशमा प्राकृतिक, दुर्घटनालगायत कारण मृत्यु हुन्छ। तर, यहाँको हल्ला बढी हुन्छ। हरेक कम्पनीमा ‘सेफ्टी अफिसर’ राखेर काम गराइएको हुन्छ। सुरक्षाका सबै उपाय अपनाएरमात्र काम गर्न दिइन्छ। दुर्घटना भएर घाइते हुँदा, मृत्यु हुँदा सरकारकै पहलमा कम्पनीले क्षतिपूर्ति उपलब्ध गराइरहेका छन्। नेपाली दूतावासले पनि समन्वय राम्रो गरेको पाएको छु। केही खराब कम्पनीले नियमअनुसार काम नगर्दा गाह्रो हुने हो। त्यसमा पनि सरकारले उनीहरूलाई जरिवाना गरिरहेको हुन्छ।
...
कतारको सुविधाले नेपाली कामदारमार्फत रेमिट्यान्स बढिरहेको छ
हेमराज सुवेदी
कन्ट्री हेड, आइएमई लिमिटेड, कतार
नेपाली कामदारका लागि उत्कृष्ट गन्तव्य बनिरहेको खाडी मुलुक कतारले विकासमा महत्वाकांक्षा हासिल गर्दै गैरहेको छ। यहाँ १२ वर्ष अघिदेखि नै विश्वकप फुटबलका लागि पूर्वाधार बनाउन सुरु भएको थियो।
स्टेडियम बनाउने, सडक निर्माण, मेट्रो, बाटो, होटल, रियल स्टेट, हरियाली, पार्कलगायत क्षेत्रमा धेरै नै फड्को मारेको अवस्था छ र ‘कतार भिजन २०३०’ ले अझै माथिल्लो अवस्थामा पुगेको हेर्न सकिन्छ जस्तो लाग्छ।
कतारको विकास र समृद्धिमा नेपालीलगायत अन्य आप्रवासी कामदारको ठूलो योगदान छ। कतार सरकारले नेपाली कामदारको सधैं प्रशंसा गरेको पाइन्छ। नेपाली कामदारको इमान्दारिता, लगनशिलताको प्रशंसा गरेको पाइन्छ साथै उच्च प्रथमिकतामा राखेको पाइन्छ। र, अहिले पनि विश्वकप खेल मैदानमा सुरक्षाकर्मी तथा आतिथ्य सत्कार (हस्पिटालिटी) क्षेत्रमा धेरै नेपालीले काम गरिरहेका छन्।
नेपाली कामदारका लागि कतार राम्रो गन्तव्य नै हो। पहिलेभन्दा आर्थिकरूपमा राम्रो हुँदै गएको छ। यसलाई अझ राम्रो बनाउन नेपालबाटै सरकारका तर्फबाट पहल गर्नुपर्दछ। नेपालबाट आउने कामदारलाई आफू जान लागेको कम्पनी, कामको तालिम, पाउने सुविधाबारे जानकारी गराएर, अहिलेभन्दा पनि अझ दक्ष कामदार पठाउन सके सरकार तथा कामदारको हितमा हुनेछ।
नेपाली कामदारको रेमिट्यान्स सचेतना विगतभन्दा राम्रो छ। रेमिट्यान्स पठाउँदा वैधानिक च्यानल प्रयोग गर्नुपर्छ भन्ने बढिरहेको पाउँछौं। नजिक र पायक पर्ने ठाउँमा पैसा पठाउने शाखा, तुरुन्त पैसा पाउनु, रियलटाइम खातामा जम्मा हुनुका साथै मोबाइल वालेटमा जम्मा हुनु, पहिलाभन्दा केही सक्षम व्यक्ति रोजगारीमा आउनु र समय–समयमा रेमिट्यान्स कम्पनी तथा बैंक, दूतावास, राष्ट्र बैंकबाट गरिने सचेतनाका कार्यक्रमले राम्रो हुँदै गएको छ।
अपेक्षितरूपमा रेमिट्यान्स नबढ्नुमा केही अनौपचारिक माध्यम बढ्नु समस्या हो। हुन्डी तथा सुन कारोबारले पनि असर गरेको देख्न सकिन्छ। रेमिट्यान्स बढाउन सरकारका तर्फबाट रेमिट्यान्स कम्पनी तथा बैंक–वित्तीय संस्थालाई साथमा लिई वैदेशिक रोजगारीमा जानेलाई बैधानिक च्यानल प्रयोग गर्न प्रोत्साहन गर्नुपर्दछ। त्यसमा अहिले भइरहेको रेमिट्यान्स खातामा अतिरिक्त ब्याज, आइपिओमा आरक्षण कायम राख्दै, पैसा पठाउँदा सेवा शुल्कमा छुट, निश्चित रकममा अतिरिक्त थप रकम, श्रम गर्दा छुट, लगानी गर्नेका लागि उपयुक्त वातावरण लगायत सुविधा हुनुपर्छ।
त्यसबाहेक बचत गर्ने बानीको विकास भइरहेको छ। यो पहिलेको दाँजोमा बढिरहेको छ। श्रम गर्नेलाई खाता अनिवार्य, रेमिट्यान्स खातामा १५ प्रतिशत ब्याज बढी दिने कुराले त्यसमा सकारात्मक प्रभाव परेको छ र कोरोनापछिको अवस्थामा डिजिटल प्रयोगले पनि बचत गर्नुपर्छ भन्ने सिकाएको छ।