काठमाडौं। नेपाल विद्युत प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकको विद्युत लाईन सप्लाई काट्दा इन्टरनेट सेवा अवरुद्ध भई अत्यावश्यक सेवामा असर पुगेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले आपत्ति जनाएको छ।
विद्युत प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई अव्यवस्थित तार हटाउन निर्देशन दिएको थियो। तर विद्युत प्राधिकरणले तोकेको अवधिमा सेवा प्रदायकले अव्यवस्थित तार नहटाएपछि प्राधिरकणले आफैंले तार काट्न सुरु गरेको थियो।
विद्युत प्राधिरकणले तार काटेपछि राज्यका धेरै स्थानमा इन्टरनेट अवरुद्ध हुन पुगी बैंकिंग सेवा, हवाई सेवा लगायतका अत्यावश्यक सेवा अवरुद्ध हुन पुगेको जनाउँदै दूरसञ्चारले विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको हो।
दूरसञ्चार प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ अनुसार कसैले पनि यस्तो सेवा प्रवाह अवरुद्ध गरेमा दण्डनीय हुने व्यवस्था भएको समेत उल्लेख गरेको छ। साथै दूरसञ्चार सेवा अवरुद्ध गर्ने कार्य प्रति गम्भीर दुखः व्यक्त गर्दै राज्यको अति आवश्यक दूरसञ्चार सेवा अवरुद्ध गर्ने जो कोहीलाई कानुनी कारवाही गर्न र यस्ता पूर्वाधारको सुरक्षा गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
साथै हरेक समस्याको समाधान वार्ताबाट मात्र हुन सक्ने जनाउँदै दुर सञ्चार प्राधिकरणले सबै पक्षलाई आपसी छलफलगरी समस्याको समाधान गर्न आग्रह गरेको छ। दूरसञ्चार सेवाको निर्वाध उपयोग गर्ने/गराउने व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संघ नेपाल तथा सम्बन्धित पक्षलाई दूरसञ्चारले अनुरोध गरेको छ।
विद्युत प्राधिकरणले यसअघि कात्तिक १५ गते र मंसिर १८ गते सूचना जारी गर्दै तोकिएको समयमा तार व्यवस्थापन गर्न ताकेता गरेको थियो। साथै पुस ५ गतेपनि सूचना जारी गर्दै प्राधिकरणले सेवा प्रदायकले तार नहटाएपछि आफैंले हटाउन सुरु गर्ने बताएको थियो।
पटक–पटक ताकेता गर्दा पनि नहटाएको भन्दै प्राधिकरणले पहिलो चरणमा त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, केशरमहल, लाजिम्पाट, नारायणगोपाल चोक र बुढानीलकण्ठ क्षेत्रका तार हटाउने जनाएको थियो। साथै प्राधिकरणले तार काट्दा हुने नोक्सानीका लागि प्राधिकरण जिम्मेवार नहुने समेत विद्युत प्राधिरकणले स्पष्टिकरण दिएको थियो।