काठमाडौं। पूर्वाधार क्षेत्रमा लगानी गर्न सञ्चालनमा आएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को व्यवसायसँगै नाफा बढ्दै गएको छ।निफ्राले आगामी तीन वर्षमा खुद नाफा २ अर्ब २ करोड रुपैयाँ बढी पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ। गत आर्थिक वर्ष २०७८/७९ मा निफ्राले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा गरेको छ।
बैंकले चालू आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा गर्ने लक्ष्य लिएको छ। त्यसैगरी २०८०/८१ मा १ अर्ब ६८ करोड र २०८१/८२ मा २ अर्ब २ करोड ७८ लाख रुपैयाँ खुद नाफा गर्ने प्रक्षेपण गरेको हो।
नाफामा भएको वृद्धिले प्रतिसेयर आम्दानी (इपिएस) र सेयरधनीले पाउने लाभांश पनि बढ्ने छ। बैंकका अनुसार यो वर्ष प्रतिसेयर आम्दानी ७.२६, आगामी वर्ष ७.८२ र तेस्रो वर्ष ९.३९ रुपैयाँ पुग्ने प्रक्षेपण छ। चालू आर्थिक वर्ष पहिलो त्रैमाससम्म बैंकले ३७ करोड रुपैयाँ खुदनाफा गरेको छ। अधिल्लो वर्ष सोही अवधिमा २४ करोड रुपैयाँ खुद नाफा गरेको थियो।
बैंकले ऊर्जा ऋणपत्र निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको प्रक्षेपित वित्तीय विवरणमा उक्त नाफाको लक्ष्य पूरा गर्न चालू आर्थिक वर्ष खुद ब्याज आम्दानी बढाएर २ अर्ब ७५ करोड ५२ लाख, आगामी आर्थिक वर्ष ३ अर्ब ३ करोड ७८ लाख र तेस्रो वर्ष ३ अर्ब ६९ करोड १८ लाख ब्याज आम्दानी गर्ने लक्ष्य रहेको जनाएको छ।
यस्तै बैंकको निक्षेप वृद्धिदर ४ सय ५९ प्रतिशत बढ्ने अनुमान छ। यस्तै आगामी वर्ष २ सय २० र तेस्रो वर्ष २५.६१ प्रतिशत पुग्ने अनुमान छ। कर्जा सापटी वृद्धिदर यो वर्ष १ सय ८, आगामी वर्ष ५२ र तेस्रो वर्ष ३४ प्रतिशत बढ्ने अनुमान छ। पछिल्ला तीन वर्षमा निफ्राको नेटवर्थमा भएको औसत प्रतिफल ४.७८ रुपैयाँ छ। यो वर्ष नेटवर्थको औसत प्रतिफल ६.५३, ६.८६ र तीन वर्षमा ७.९४ प्रतिशत पुग्ने अनुमान छ।
तयार पारिएको वित्तीय विवरण, प्रक्षेपण अनुमान तथा आधार हालको वित्तीय बजारको स्थिति, निष्कासनकर्ता कम्पनीको विगत वर्षका कारोबार वृद्धि, भावी योजना, विस्तार रणनीति, हालको दक्षता र निष्कासनकर्ता कम्पनीले प्राप्त गरेको हालसम्मको कार्य प्रगतिका आधारमा पुनरावलोकन गरिएको बैंकले जनाएको छ।
यस्तै बैंकले कर्जा निक्षेप अनुपात, सञ्चालन खर्च वृद्धिदर, निष्क्रिय कर्जा प्रतिशत, अनिवार्य नगद मौज्दात, बैधानिक तरलता अनुपात तथा पुँजीकोष अनुपातका साथै नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डअनुसार कायम गरी वित्तीय विवरण प्रक्षेपण गरेको हो।
बैंकले आगामी तीन वर्षमा सेयरधनीलाई नगद लाभांश वितरण गर्ने लक्ष्य लिएको छ भने चुक्ता पुँजी नबढाउने भएको छ। ऊर्जा ऋणपत्रबाट प्राप्त रकममध्ये १ अर्ब ५० करोड अर्धजलाशय जलविद्युत र ३ अर्ब ५० करोड नदी प्रवाही आयोजनामा लगानी गर्ने जानकारी बैंकले दिएको छ।
हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ छ। बैंकले चुक्ता पुँजी नबढाइ लगानी विस्तार गर्ने रणनीति बनाएको छ। बैंकले विदेशी दाताबाट ल्याएको पैसा विभिन्न पूर्वाधार क्षेत्रमा लगानी गर्ने छ।
अघिल्ला वर्षका तुलनामा बैंकको ब्याज आम्दानी र नाफामा सुधार हुँदै गइरहेको देखिन्छ। बैंकले दिर्घकालीनरूपमा सेयरधनीलाई राम्रो प्रतिफल दिने योजना बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामकृष्ण खतिवडाले बताए। बैंकले पूर्वाधार क्षेत्रमा लगानी गर्ने भएकाले अन्य बैंक तथा वित्तीय संस्थाका जस्तै तत्कालै राम्रो प्रतिफल दिन नसकिने खतिवडाको भनाइ छ।
जलविद्युतमा बढी लगानी
बैंकले कूल ऋणको आधा जलविद्युत आयोजनामा लगानी गरेको छ। हालसम्म ३२ अर्ब ८९ करोड ८० लाख रुपैयाँ ऋण लगानी स्वीकृत गरेको छ।
जसमध्ये जलविद्युतमा १६ अर्ब ६५ करोड ९० लाख, मनोरञ्जन तथा रिक्रिएसन पूर्वाधार ६७ करोड ५० लाख, अस्पताल ५ अर्ब १३ करोड, तीनतारे माथिका होटल ५ अर्ब ५८ करोड, उद्योग–कलकारखाना २ अर्ब १३ करोड र अन्यमा २ अर्ब ७० करोड ९० लाख रुपैयाँ ऋण लगानी स्वीकृत गरेको निफ्राले जनाएको छ।
बैंकले जलविद्युत, सौर्य ऊर्जा, होटल, रिसोर्ट, फनपार्क, केबुलकार, शिक्षा, स्वास्थ्य, सिमेन्ट, स्टिल, सहरी पूर्वाधार÷स्मार्ट सिटी, विशेष आर्थिक क्षेत्रलगायत परियोजनामा स्रोत लगानी गर्दै जाने योजना बनाएको छ।