काठमाडौं। मध्यबानेश्वरको भित्री गल्ली। भेनस अस्पतालको अघिल्लो गल्लीबाट करिब ५ सय मिटर भित्र गएपछि ‘एक्सप्रेस इट्स’ यता लेखिएको सानो साइनबोर्ड देखिन्छ। झट्ट हेर्दा लाग्दैन कि यहाँभित्र यति मिठा परिकार तयार भइरहेका छन् र अर्डरअनुसार विभिन्न ठाउँमा ‘डेलिभरी’ भइरहेको छ।
त्यहाँको बाहिरी वातावरणभन्दा भित्र बेग्लै छ। एक्सप्रेस इट्स भएको घरको आँगन पुग्ने बित्तिकै मिठो बास्ना नाकमा ठोक्किन्छ। तर, त्यहाँ अन्य रेस्टुन्टमा जसरी खाना र खाजा खानेको भीड लागेको देखिँदैन। देखिन्छ त, मात्र खाना डेलिभरीका लागि आएका मोटरसाइकल र साइकल। त्यहाँ आउँछन्, आफ्नो अर्डरअनुसारको सामान बोक्छन् अनि हिँडिहाल्छन्।
आँगनको तल्लो छेउमा एउटा घर छ, जहाँ पाँच/६ जना सेफले एकैसाथ विभिन्न परिकार बनाइरहेका हुन्छन्। अर्कातर्फ रहेको (मुख्य) घरको तल्लो कोठामा चार/पाँचजना युवा एकसाथ ल्यापटपमा काम गरिरहेका छन् भने केही साथमा रहेको टेलिफोनमा व्यस्त देखिन्छन्। उनीहरू उता (इन्टरनेट) अनलाइनमार्फत आएका अर्डर किचन पठाउने, अर्डर पक्का गर्ने र लिन आउनेलाई पठाउन व्यस्त हुन्छन्।
एकै किचनमा पाँच ब्रान्डका परिकार
एक्सप्रेस इट्स खडा गरेर म्याडओभर पिज्जा, खाजा एक्सप्रेस, इन्डियन तड्का, वक स्टोरी र वल्र्ड अफ बर्गरजस्ता पाँच ब्रान्ड एउटै किचनबाट तयार हुन्छ। यस्ता किचनलाई ‘क्लाउड किचन’ भनिन्छ। नेपालमा भर्खरै सुरु भएको क्लाउड किचन धेरैका लागि नयाँ र नौलो भएको सञ्चालक सुदीप सिंह बताउँछन्।
सिंहसहित ६ साथीले एक वर्षअघि सुरु गरेको एक्प्रेस इट्सले धेरैको मन जित्न सफल भइसकेको छ। खाना र खाजा डेलिभरी गर्न आफ्नै राइडर र फुडमान्डु, पठाओ, भोजडिल लगाय फुड डेलिभरी कम्पनीसँग सहकार्य गरेका छन्।
मध्यबानेश्वरपछि ललितपुर सानेपामा पनि अर्को किचन राखेका छन्। सानेपा आसपासबाट धेरै पिज्जाको माग आइरहेकाले छिटो र सहज डेलिभरी गर्ने उद्देश्यसाथ दुई कुक राखेर किचन सञ्चालन गरिरहेका छन्। सानेपाबाट भने पिज्जामात्र डेलिभरी हुने गरेको छ।सुरूमा म्याड ओभर पिज्जाबाट किचन सुरु भएको एक्सप्रेस इट्सले अर्डर राम्रो आएसँगै विभिन्न ब्रान्ड थप्दै गएको हो। ‘हाम्रो खाना ५५ प्रतिशत अन्य डेलिभरी कम्पनीबाट जान्छ भने ४५ प्रतिशत हामी आफैं गर्छौं,’ सुदीप भन्छन्।
हाल हरेक ब्रान्डको प्रचार गर्न गाह्रो भए पनि भविष्यमा एउटै किचनमा धेरै ब्रान्ड र सयौं आइटम उत्पादन गर्न सकिने उनको भनाइ छ। पाँच ब्रान्डमध्ये सबैभन्दा धेरै ४५ प्रतिशत पिज्जा बिक्री हुन्छ। अहिले धेरै अर्डर आउने क्षेत्र ठमेल, लाजिम्पाट, सानेपा, बालुवाटार, झम्सिखेल हुन्। हाल बिहान ११ देखि राति १ बजेसम्म किचन चल्ने गरेको छ।
लन्डनमा बिजनेस डिप्लोमा सकेर फर्किएका सुदीप
काठमाडौं ठमेलमा जन्मिएका सुदीपले सामाखुसीमा बाल्यकाल बिताए। उनका बुबा आयात–निर्यात व्यापार गर्थे। त्यही भएर उनलाई पारिवारको व्यापारिक वातावरणले केही प्रभाव पारेको थियो। एसएलसी दिएपछि केही समय भने बुबाको अफिसमा काम गरे, अनि उच्च शिक्षा अध्ययन गर्न बेलायतको लन्डन गए।
लन्डनमा बिजनेस डिप्लोमा गरेर फर्किएका सुदीपले बुबालाई काम सघाउनतिर लागेनन्। आफ्नै स्वामित्वमा नयाँ व्यापार गर्ने सोच उनको मनमा सानैदेखि रहेकाले केही नयाँ गर्ने ध्यानमा लागिरहे। तर, परिस्थिति भनौं वा पर्याप्त आर्थिक संकलन गर्न सक्ने स्थिति नभएकै कारण उनले केही समय जागिर सुरु गरे।
एक ट्राभल कम्पनीमा सोसल मिडिया एक्जिक्युटिभका रूपमा काम गरे पनि सन्तुष्ट भने हुन सकेनन्। सुदीपले सन् २०१२ मा ‘सोसल साथी‘ नामक कम्पनी सुरु गरे। सामाजिक सञ्जालमा मार्केटिङ र ब्रान्डिङ गर्ने उद्देश्यसाथ अगाडि बढेएपछि त्यसलाई पूर्ण सफलतामा लैजान सकेनन् र ६ महिनामै कम्पनी बन्द भयो।
त्यसपछि फेरि ट्राभलकै जागिरमा फर्किए। पछि उनी कम्युनिटी होमस्टे नेटवर्क भन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) भएका बेला नेदरल्यान्डको बुकिङ डटकमले २०१८ मा आयोजना गरेको ‘बुकिङ बुस्टर’ नामक स्टार्टअपका लागि गरेको कार्यक्रममा छनोट भएर २ लाख २५ हजार युरोसहितको पुरस्कार प्राप्त् गरे।
अब भने फुड आइटमलाई प्रविधिमार्फत विस्तार गर्ने योजना उनले बुने। क्लाउड किचनप्रति चासो बढेसँगै गुगलमा त्यससम्बन्धी अध्ययन बढाए। उबरका संस्थापक ट्राभिस कालानिकले क्लाउड किचनमा ठूलो लगानी गरेको थाहा पाए।
दुबईको किटोपी, किचन युनाइटेडजस्ता विश्वचर्चित क्लाउड किचन अध्ययन गर्दै नेपालमा पनि यसको सम्भावना राम्रो रहेको निष्कर्षमा पुगे। उनी आफू एक्लैले लगानी गर्न सक्ने आँट आएन। त्यसपछि आफ्ना केही साथीसँग छलफल गरे। साथीहरूको साथ र सहयोगमा कोभिडकै बीचमा व्यवसाय सुरु गरे। कोभिडका कारण रेस्टुरेन्ट गएर खाने वातावरण नभएको र ‘टेक अवे’ को व्यापारको लोकप्रियता बढिरहेका बेलामा उनले पनि यस क्षेत्रमा हात हाले। र, अहिले उनको टिम सफल पनि भएको छ।
फुड प्याकेजिङमा ध्यान
फुड डेलिभरी सुरु भए पनि प्रभावकारी नभएको निष्कर्षमा उनको टिम पुग्यो। आकर्षक र सफा हुने गरी प्याकेजिङ गर्न फुड प्याकेजिङ उत्पादन समेत सुरु गरे। फुड प्याकेजिङमा गुणस्तरीय सामग्री आयात गर्ने भनेर तीन साथी मिलेर कारिका सोलुसन कम्पनी सुरु गरे। वातावरणमैत्री, दिगो र राम्रो गुणस्तरको पेपरबेस प्याकेजिङ सामग्री आयातले बजारबाट राम्रो प्रतिक्रिया पाएको छ।