काठमाडौं । सरकार स्वामित्वको विद्युत उत्पादन कम्पनी लिमिटेडले प्रस्तावित ४५४ मेगावाटको किमाथांका अरुण अर्धजलाशययुक्त आयोजना अघि बढाएको छ । आयोजना संखुवासभा जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका नेपाल–चीन सीमानजिक पर्छ ।
आयोजनाको कामअघि बढाउन कम्पनीले वातावरणीय अध्ययन प्रतिवेदन तयारी थालेको छ । आयोजनाको परामर्शदाता नेपाल विद्युत प्राधिकरणको एनइए इन्जिनियरिङ कम्पनी लिमिटेड रहेको छ । वातावरणीय अध्ययनको काम पूरा भएपछि आयोजना अघि बढ्ने छ ।
बिजुलीको अधिकतम माग हुने समयमा आयोजनाबाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ । भोटखोलाको वडा नम्बर २ स्थित छुम्सुर गाउँनजिक नदीको सतहदेखि ७० मिटर अग्लो बाँध बनाउने प्रस्ताव गरिएको छ ।
बाँध बनेपछि सो क्षेत्रमा १०३ लाख घनमिटरको जलाशय बन्ने छ । भोटखोला गाउँपालिका वडा नम्बर २ स्थित लिङगम गाउँको ५०० मिटर तल पुङमुछिमा विद्युतगृह बन्ने भएको छ ।
आयोजनामा ८ मिटर व्यास भएको ५ हजार १९८ मिटर लामो हेडरेस सुरुङ बनाइने भएको छ । आयोजनामा पानीको वहाव १४३ घनमिटर प्रतिसेकेन्ड ३७९ मिटर अग्लो हेडबाट खसालेर वार्षिक २ अर्ब ६५ करोड ५१ लाख २० हजार युनिट बिजुली उत्पादन हुने गरी आयोजनाको डिजाइन गरिएको छ ।
सुक्खायाममा आयोजनाबाट १ अर्ब ५ करोड ११ लाख ३० हजार युनिट बिजुली उत्पादन गर्ने अनुमान छ । यस्तै बर्खामा १ अर्ब ८७ करोड ३५ लाख ६० हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ ।
आयोजनाको विद्युतगृह भूमिगत हुने भएको छ । यस्तै सुरुङबाट ल्याइएको पानीलाई ४ वटा टर्वाइनमा खसाली विद्युत उत्पादन गरिने भएको छ । बिजुली उत्पादनपछि सो पानीलाई पुनः अरुणमा छाडिने छ । आयोजनास्थलसम्म पुग्न २६.८ किलोमिटर लामो पहुँचमार्ग बनाउनुपर्ने भएको छ । आयोनाको अधिकांश संरचनाहरु मकालु र वरुण राष्ट्रिय निकुञ्जमा बन्ने भएका छन् ।
अरुण जलाधार क्षेत्रमा १०६१ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणको तयारी भइरहेको छ । यो आयोजना विश्व बैंक र नेपाली संयुक्त लगानीमा बन्ने छ । आयोजना बनाउन २ अर्ब १४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
यस्तै विद्युत प्राधिकरण र भारतको एसजेबीएन लिमिटेडको संयुक्त लगानीमा ४९० मेगावाटको अरुण–४ आयोजना बन्ने भएको छ । एसजेबीएनले ९०० मेगावाटको अरुण तेस्रो आयोजना बनाइरहेको छ । सो आयोजनाको झण्डै ६५ प्रतिशत काम सकिएको छ ।
एसजेबीएनले नै ६७९ मेगावाटको तल्लो अरुण आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार पारेको छ । यो आयोजना पनि निर्माणमा जाने क्रममा छ । अरुण तेस्रो र तल्लो अरुण आयोजनाबाट उत्पादन हुने बिजुली भारतमा निर्यात हुने छ ।