काठमाडौं । नेपाल सरकार र नेपाली व्यवसायीको पहलकदमीपछि भारतीय सरकारले ५० हजार टन गहुँ नेपाल ल्याउन अनुमति दिएको छ । भारतले पाँच महिना अघि गहुँ निर्यातमा प्रतिबन्ध लगाए पछि चोर बाटोबाट नेपालमा गहुँ भित्रिरहेको थियो ।
नेपालमा भारतमै उत्पादन भएको गहुँ चोरी भएर भित्रिँदा महँगो मूल्य तिर्नुपरे पछि व्यवसायी र नेपाल सरकारले वैधानिक बाटोबाट गहुँ ल्याउन दिन भारतसँग आग्रह गरेका थिए ।
नेपाली पक्षको आग्रहपछि भारतीय पक्ष पनि नेपाललाई गहुँ दिन सहमत भए पनि निर्णय भएको थिएन । तर, बुधबार भारत सरकारको वैदेशिक व्यापार महानिर्देशनालयले २०२३ मार्च ३१ सम्मका लागि भारतबाट नेपालमा ५० हजार टन गहुँ निर्यात गर्ने अनुमति दिएको हो ।
त्यसैगरी महानिर्देशनालयले नेपाललाई ५० हजार टन गहुँ आयातका लागि आवश्यक विवरण उपलब्ध गराउन समेत भनेको छ ।
भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाली भान्सा महँगिएको थियो । एकातिर व्यवसायीले कालोबजारीबाट गहुँ किन्नुपर्ने बाध्यता थियो । जसले नेपाली उपभोक्ताले महँगो मूल्य तिरेर गहुँबाट बन्ने अन्य प्रडक्ट खरिद गर्न बाध्य थिए ।
गहुँबाट विभिन्न अन्य वस्तुहरु बन्छ । अहिले ती वस्तुको मूल्य ३० देखि ४० प्रतिशतसम्म बढेको थियो । त्यही भएर नेपाली पक्षले भारतीय सरकारलाई आग्रह गरेर गहुँ निर्यात खोलेको हो ।
नेपालले ८ लाख टन गहुँ नेपालमा खपत हुने तथ्यांक प्रस्तुत गरे पनि भारतीय पक्षले उक्त तथ्यांकलाई लिएर शंका गरेको थियो । नेपालमा यति धेरै गहुँ निर्यातको अनुमति दिँदा यहाँबाट पुन निर्यात हुन सक्ने खतरा भए पनि ५० हजार टन मात्रै गहुँ निर्यातका लागि बाटो खोलिदिएको हो ।