काठमाडौं। सर्वसाधारण बचतकर्ताको करोड रकम कुम्ल्याएर बेपत्ता आरक्ष सहकारीका अध्यक्ष शारदा आचार्य न्यौपाने र प्रमुख कार्यकारी अधिकृत (सिइओ) कमल न्यौपाने पक्राउ परेका छन्।
तीन महिनादेखि बेपत्ता उनीहरू दाङबाट पक्राउ परेका हुन्। सहकारी अध्यक्ष आचार्य र सिइओ न्यौपाने नातामा श्रीमान्–श्रीमती हुन्।सहकारीका अध्यक्ष आचार्य र सिइओ न्यौपाने दाङबाट पक्राउ परेको काठमाडौं महानगर सहकारी विभागका निर्देशक देवेन्द्र पोखरेलले बताए। सहकारी समस्यामा देखिएपछि गत भदौबाट आचार्य र न्यौपाने फरार थिए।
अध्यक्ष र सिइओ नै फरार भएपछि गत भदौमा ५ सय ६३ बचतकर्ताले १ करोड ४५ लाख मागदाबी गर्दै काठमाडौं महानगर सहकारी विभागमा उजुरी दिएका थिए।
‘उनीहरू सम्पर्कमा नआएपछि प्रहरीलाई पक्राउ गरिदिन पत्र पठाएका थियौं,’ विभागका निर्देशक पोखरेलले क्यापिटल नेपालसँग भने, ‘मंगलबार (पुस ५) मा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ गरिसकेपछि प्रहरीले हामीलाई जानकारी गराएको हो।’
आरक्ष सहकारी अध्यक्ष आचार्य र सिइओ न्यौपाने पक्राउ परेपछि थप कारबाही प्रक्रिया अगाडि बढेको निर्देशक पोखरेलले बताए। ‘प्रहरीको प्रारम्भिक अनुसन्धानमा सहकारी अध्यक्ष शारदा आचार्य न्यौपाने र सिइओ कमल न्यौपाने श्रीमान्–श्रीमती भएको खुल्यो,’ पाेखरेलले भने, ‘उनीहरूले दाङमा जग्गा किनेर उतै लुकेर बसेको सुनिएको थियो।’
आरक्ष सहकारीले काठमाडौं सीतापाइला, चाबहिल र माछापोखरीको बुद्ध मलबाट कारोबार गर्दै आएको थियो। साथै, उनीहरूको नाममा दाङमा दुई टुक्रा जग्गा खरिद गरिएको खुलेको पोखरेलले बताए। उनीहरूको जग्गा बिक्री गरी बचतकर्ताको पैसा फिर्ता गरिने पोखरेलको भनाइ छ।
यो वर्ष सुरु भएयता पाँच दर्जन सहकारीमा समस्यामा देखिएको पोखरेलले जानकारी दिए। ‘यो वर्ष ६० बढी सहकारीका बचतकर्ताले पैसा नपाएको भन्दै विभागमा उजुरी दिएका छन्,’ उनले भने, ‘तीमध्ये एक दर्जन सहकारीका सञ्चालकको खोजी गरिदिन प्रहरीलाई पत्र काटेका छौं।’
विभागको सम्पर्कमा आएका बचतकर्ताको पैसा गर्न सहकारी सञ्चालक र बचतकर्ताबीच समन्वयको काम गरिरहेको पोखरेलले बताए। तीमध्ये एक दर्जन सहकारी सञ्चालक लामो समयदेखि सम्पर्कमा नआएपछि विभागले सञ्चालक खोजी गरी कारबाही अगाडि बढाउन प्रहरीलाई पत्र काटेको छ।
१२ सहकारीका फाइल प्रहरीमा
काठमाडौं महानगरअन्तर्गत सहकारी विभागले एक दर्जन सहकारीका सञ्चालन पक्राउ गरिदिन काठमाडौं उपत्यका प्रहरी प्रभागलाई पत्र पठाएको छ।
विभागले यो वर्ष नमस्ते गोसाइकुण्ड बचत तथा ऋण सहकारी, द नेक्स्ट बचत तथा ऋण सहकारी, जाम्बाला बचत तथा ऋण सहकारी, पूण्यभुमि बचत तथा ऋण सहकारी, जय हनुमान बचत तथा ऋण सहकारी, सुख समृद्धि बचत तथा ऋण सहकारी, डेभलपमेन्ट बचत तथा ऋण सहकारी, नवसंकल्प बचत तथा ऋण सहकारी, संरचना बचत तथा ऋण सहकारी, अमृताम्भ बचत तथा ऋण सहकारी र पर्फेक्ट बचत तथा ऋण सहकारीका सञ्चालक खोजी गर्न पत्र पठाएको छ।
ती सहकारी सञ्चालक बचतकर्ताको पैसा फिर्ता नगरी फरार भएपछि विभागले प्रहरीलाई गुहारेको पोखरेलले बताए।