काठमाडौं। सिमेन्ट व्यापारमा मन्दी आएर गम्भीर अवस्थामा पुगेकाे साैर्य सिमेन्टले कारखाना निर्माण गर्दा लिएको ऋणसमेत तिर्न नसक्ने अवस्था आएपछि लगानीकर्ता बिक्री गर्न तयार भएका छन्।
करिब १५ अर्ब रुपैयाँ लगानीमा स्थापना भएको सौर्य सिमेन्टको उत्पादन हाल २० प्रतिशतभन्दा तल पुगेको छ। भर्खरै खुलेको र लागत पनि बढी भएकाले पुराना लगानीकर्ताले नयाँ लगानीकर्ता खोजिरहेका छन्।
सौर्य सिमेन्टमा मुलुकका तीन ठूला व्यावसायिक घराना शंकर ग्रुप, अम्बे ग्रुप र सिके गोल्छा परिवारको संयुक्त लगानी छ। उनीहरूले २०७७ फागुनबाट उद्योग सञ्चालनमा ल्याएका थिए। उत्पादनमूलक उद्योगमा सफलता कमाएका दुई व्यावसायिक घरानाको पछिल्लो उद्योग सौर्य सिमेन्ट हो।
एक लगानीकर्ताले ग्राहक आएको अवस्थामा सौर्य सिमेन्ट बिक्री गर्न सबैजना सहमत भएको जानकारी दिए। ‘दुई समूहसँग आ–आफ्नै स्वामित्वका सिमेन्ट उद्योग पनि छन्।
त्यसबाहेक रिद्धिसिद्धि सिमेन्टमा पनि दुई व्यावसायिक समूहको साझेदारी छ,’ ती लगानीकर्ताले क्यापिटल नेपालसँग भने, ‘पूर्वको बजार हेरेर नयाँ सिमेन्ट उद्योग खोलेका थियौं। तर, जुन बेलादेखि सौर्य सिमेन्ट बजार आयो, त्यही बेलादेखि नेपालको अर्थतन्त्र निरन्तर संकुचनतर्फ अघि बढ्यो। अहिले थेग्नै नसक्ने अवस्था भएपछि बाध्य भएर उद्योग नै बेच्ने अवस्थामा पुगेका हौं।’
सौर्य सिमेन्ट उद्योग सिरहा मिर्चैयामा छ। उसले उत्तम चुनढुंगा खानी प्रयोगमार्फत सिमेन्ट बनाइरहेको थियो। तर, मुलुकको वर्तमान आर्थिक अवस्थाका अगाडि टिक्न नसकेर बिक्री गर्न नयाँ ग्राहक खोजी भइरहेको हो। उद्योगमा हालसम्मकै सबैभन्दा आधुनिक मेसिन प्रयोग गरिएका छन्। उद्योगबाट ओपिसी, पिपिसी र पिएससी सिमेन्ट उत्पादन भइरहेको छ। सौर्य सिमेन्टले नेपालमै पहिलोपटक ‘लो अल्कलाइ’ सिमेन्ट पनि उत्पादन गर्छ।
यो सिमेन्ट ठुल्ठूला जलविद्युत, सिँचाइका नहर तथा खानेपानीका ड्याम निर्माणमा प्रयोग गरिन्छ । सिमेन्टको आयु बढी हुने भएकाले पानी हुने परियोजनामा धेरै प्रयोगमा आउँछ ।
यस उद्योगमा चुनढुंगा खानीदेखि सिमेन्ट उत्पादनसम्म एकीकृत प्रविधियुक्त प्लान्ट जडान गरिएको छ। तर, दुई वर्षदेखि निर्माण क्षेत्रको विकास ठप्प भएपछि त्यसको सिधा असर उद्योगमा परेको हो। सौर्य सिमेन्ट उद्योगका लागि चाहिने चुनढुंगा खानी उदयपुर कटारीमा छ। ‘खानीमा झन्डै ५० वर्षलाई पुग्ने चुनढुंगा छ, जुन मुलुककै सबैभन्दा उच्च गुणस्तरको मानिन्छ,’ ती लगानीकर्ताले भने।
कोभिड महामारीका कारण सिमेन्ट माग घटेपछि सौर्य सिमेन्ट उद्योग ४०/४५ प्रतिशत क्षमतामा चलिरहेको थियो। तर, अहिले पनि २० प्रतिशत क्षमतामा झरेको छ। जसबाट उद्योगले आफ्नो सञ्चालन खर्चसमेत उठाउन सकेको छैन।
सौर्य सिमेन्ट पूर्वी नेपालको सबैभन्दा ठूलो उद्योग भएको ती लगानीकर्ताको भनाइ छ। यो उद्योग उत्पादन क्षमतामा मात्र नभई आधुनिक प्रविधि प्रयोगमा पनि अग्रणी छ। माइनिङदेखि सिमेन्ट उत्पादनसम्म एकीकृत प्रविधिको प्लान्ट स्थापना गरिएको छ।
मुलुकमा थुप्रै पूर्वाधारका काम हुन बाँकी छन्। आधुनिक सहर, सडक, जलविद्युत, भवन निर्माणलगायत कामले गति समात्ने बित्तिकै सिमेन्ट खपत बढ्ने अपेक्षासाथ उद्योग स्थापना गरिए पनि परिस्थिति बदलिएकाले बेच्न लागेको लगानीकर्ताहरूको भनाइ छ।