काठमाडाैं। छैटाैं सिन्धुली महोत्सव २०७९ को तयारी पूर्णरुपमा भइसकेको छ। 'कृषि, उद्योग, पर्यटन र व्यवसायमा लगानी अभिवृद्धि गरौं, समृद्ध र समुन्नत सिन्धुली निर्माणको लागि अघि बढौ' भन्ने नाराका साथ सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुली र कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा छैटाैं सिन्धुली महोत्सव सञ्चालन गर्न लागिएको हो।
शुक्रबारदेखि सुरू हुने महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउने र पर्यटन प्रवर्द्धन गर्ने रहेको मेला मूल आयोजक समिति संयोजक सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिए। शुक्रबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडुले उद्घाटन गर्ने महोत्सवको अहिले स्टल, मञ्च निर्माणको काम धमाधम भइरहेको छ।
महोत्सवमा प्रवेश गर्नको लागि प्रवेश द्धारमा श्रृगारिएको गेट तयार गरिएको छ। महोत्सवको लागि ६ वटा स्वागत गेटहरु निर्माण हुने चरणमा छन्। शुक्रबार बिहान सबै तयारी पूरा गरिने अध्यक्ष श्रेष्ठले बताए। जिल्लाको कमलामाई नगरापलिका ६ स्थित माढीबजार, ढुंग्रेबास, भिामान, मरिण तथा खुर्कोटमा गेट निर्माण भइरहेको छ। महोत्सवको शुक्रबार बिहान ११ बजे उदघाटन हुने आयोजकले जनाएको छ।
महोत्सवमा स्थानीय उत्पादन तथा बाह्य सामाग्री, व्यापार मेला धार्मीक तथा ऐतिहासिक स्थलहरु र खेल तथा मनोरञ्जन मुख्य आर्कषण रहने छ। त्यस्तै महोत्सव अवधीभर विविध सांस्कृतिक कार्यक्रम, राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुती लगायतको कार्यक्रमहरु रहने आयोजकले जनाएको छ।
महोत्सवमा स्थानीय कृषिमा आधारित बस्तुहरु, हस्तकला, घरेलु उद्यमी सामाग्री तथा दैनिक उपभोग्य वस्तुहरु, अटोमोवाइल्स, बिभिन्न यान्त्रीकीकरण उपकरण, इलेक्ट्रोनिक प्रदर्शनी, जडीबुटी तथा बनपैदावार प्रदर्शनी लगायत तिन सय वटा व्यापारिक स्टल राखिने छ। महोत्सव यही पुस १८ गते समापन हुनेछ।