काठमाडौं। काठमाडौंका अनिश गिरी र नारायण थापा मगरले ‘माइक्राेग्रिन्स’ को अवधारणामा काम गरिरहेका छन्। उनीहरूको यो अवधारणामा काम गर्ने अन्य व्यक्तिहरू पनि छन्। जसमा उनीहरूका साथमा देवकुमारी गिरी, यमननाथ गिरी पनि छन्। उनीहरूले नेपालमा आहारसम्बन्धी समस्या र रोग कम गर्ने 'मिसन' मा काम गरिरहेका छन्।
अध्ययन गर्दै जाँदा उनीहरूले नेपालमा आहाराबाट लाग्ने रोग धेरै भएको थाहा पाए। जसका लागि आहारामा सुधार ल्याएको खण्डमा त्यस्ता रोग न्यूनीकरण गर्न सकिन्छ। उनीहरूले आहारामा सुधारबारे पनि खोजी गर्न थाले। खोजी गर्दै जाँदा नेपालमा विभिन्न देशबाट बायो ग्रिन्स ल्याएर प्रयोग गरेको कुरा थाहा पाए।
त्यसपछि उनीहरूले स्वास्थ्यका लागि फाइदाजनक र बाहिरबाट आयात गर्नुपर्ने बाध्यता पनि हटेर जानु नेपाल र नेपालीको फाइदाको कुरा भएकाले त्यसमा काम गर्न थाले।
नेपाल जस्तो विकासोन्मुख देशमा आहारसम्बन्धी रोग (हृदय, मधुमेह, कोलेस्ट्रोल) तीव्र गतिमा बढिरहेको छ। यही समस्या कम गर्न उनीहरूले अध्ययन गरेर काम गर्न सुरु गरेका हुन्। अध्ययन गर्दा गर्दै उनीहरूमा यो समस्याबारे छलफल भयो। बायो ग्रिन्स विभिन्न विदेशी मुलुकबाट ल्याएर नेपालमा प्रयोग गरिएको पनि उनीहरूले थाहा पाए।
त्यसपछि उनीहरूले यो समस्या समाधान गर्न वा कम गर्न ‘माइक्रोग्रिन्स’ को परिचय दिइरहेका छन्। माइक्रोग्रिन्स एउटा युवा तरकारी हो, जसमा ४५ गुणा बढी एन्टिअक्सिडेन्ट, पोलिफेनोल र ८ गुणा बढी माइक्रोन्युट्रिएन्ट पाइन्छ र कोटिलेडन पात विकास गरेपछि काटिन्छ।
पोलिफेनोज हृदय रोगविरुद्ध लड्न, रक्त शर्करा स्तर कम गर्न र एन्टिकार्किनोजिक एजेन्ट हो। एन्टिअक्सिडेन्टले एन्टिएजिङ कम गर्ने एजेन्टका रूपमा काम गर्छ। सुक्ष्म पोषक तत्वले आरडिए पूरा गर्न मद्दत गर्छ।
केही समयअघि उनीहरूले प्रयोगशाला–अनुसन्धान समाप्त गरेर उत्पादनको काम गरिरहेका छन्। उनीहरूको लक्षित ग्राहक होटल र रेस्टुरेन्ट, व्यस्त जीवन तालिका भएका व्यक्ति, स्वास्थ्य सचेत र अस्वस्थ व्यक्ति र विभिन्न बजार रणनीतिमार्फत उनीहरूसम्म पुग्नेहरू हुन्।
उनीहरूको कूल प्रारम्भिक लागत लगभग ६ लाख छ र भुक्तानी अवधि लगभग १.६८ वर्ष हो। उनीहरू कच्चा माइक्रोग्रिन र माइक्रोग्रिनका उत्पादन बेचेर नेपालको राजस्व उत्पन्न गर्न चाहन्छन्। नेपालको सन्दर्भमा धेरै होटल र रेस्टुरेन्टले भारतबाट माइक्रोग्रिन आयात गर्छन्।
त्यसैले उनीहरू यहाँ अन्य देशबाट माइक्रोग्रिन आयात दर घटाउन र आफ्नै राष्ट्रको जिडिपी प्रवर्द्धन गर्न मद्दत गरिरहेका छन्। उनीहरू आफूलाई पोषक तत्वको 'पावरहाउस' भएको दाबी गर्छन्।
प्रयोगशाला–अनुसन्धानबाट पनि यो उपयुक्त देखिएका कारण बढिभन्दा बढी मात्रामा यसलाई देशमै उत्पादन गरेर विदेशी आयात रोक्ने उनीहरूको लक्ष्य छ। साथै, गुणस्तरीय उत्पादन गरेर अन्य मुलुकमा समेत यसलाई निर्यात गर्न सकेको खण्डमा राम्रो आम्दानीको स्रोत हुने समेत उनीहरूको ठम्याइ छ। उनीहरूले उत्पादन गरेको बायोग्रिन्स हाल विभिन्न होटल र रेस्टुरेन्टले प्रयोग गरिरहेका छन्।