काठमाडौं । फिल्म हलहरुले चलचित्रबाट हुने कलेक्सनको झूटो विवरण पठाएपछि चलचित्र विकास बोर्डले अनुगमन तिब्र बनाएको छ ।
बोर्डमा हलवालाहरुले पठाईरहेको कलेक्सनको विवरण र बक्स अफिसको सर्भरबाट बोर्ड र कर कार्यलयमा आईरहेको विवरणमा फरक पाइएपछि अनुगमन थालेको बोर्डका अध्यक्ष केशव भट्टराईले बताए ।
क्यापिटल नेपालसंग कुरा गर्दै उनले अधिकांश हलहरुबाट गलत विवरण बोर्डमा आईरहेको जानकारी दिए । ‘विग मुभिजहरुको विवरण क्लियर छ,’ उनी भन्छन्, ‘तर क्युएफएक्समा एकाध बाहेक अधिकाँंस हलहरुबाट नमिल्ने विवरणहरु आईरहेका छन्।’
चालू आर्थिक वर्षको सुरुदेखि काठमाडौं लगायत देशभरका फिल्म हलहरुमा बक्स अफिस लागू भइसकेको छ । आन्तरिक तथा प्राविधिक समस्याका कारण एकाध हलहरुमा बक्स अफिस लागु भएको छैन ।
लागु भएसँगै सम्पूर्ण हलहरुको बक्स अफिसको सर्भर बोर्ड र कर कार्यलयमा राखिएको छ । यसले गर्दा हलहरुको सम्पूर्ण कलेक्सन तथा टिकेटिङको विवरण पारदर्शी रुपमा हेर्न सकिने व्यवस्था छ । तर हलहरुले फरक विवरण पठाएपछि समस्या आएको बोर्डको भनाई छ ।
बोर्ड तथा कर कार्यलयमा आउने भने पनि हल सञ्चालकहरुले गतल विवरण पठाएका छन । तर पनि हलवालाहरुले पठाउँदै आएको डीसीआर अर्थात् कलेक्सनको विवरणहरु ठिक नआईरहेको अध्यक्ष भट्टराईको भनाई छ ।
यद्यपी वास्तविकताको जाँच गरी डेटाको भेरिफिकेसन गर्न अहिले बोर्डले कर्मचारी खटाएको उनले जानकारी दिए ।भेरिफिकेसन गर्ने टोलीको अन्तिम रिपोर्ट नआएसम्म केही पनि बताउन नसकिने उनको भनाई छ ।
बक्स अफिस कार्यान्वयका लागि बनाइएको कार्यविधि अनुसार नै दुई महिनाअघि बोर्डले आन्तरिक राजस्व कार्यलय, गृह मन्त्रालय, लगायत सरोकारवालाहरु संस्थाहरुको पदाधिकारीहरुको एउटा अनुगमन टोली पनि खडा गरिसकेको छ ।
हाल उक्त अनुगमन टोलीले पनि यसै काममा लागिरहेको अध्यक्ष भट्टराईले बताएका छन् । ‘अहिले बोर्डका धेरै कर्मचारीलाई यही कामका लागि खटाइएको छ’ उनले भनेका छन् ।
यसअघि फिल्मको कलेक्सन र आयबारे बोर्ड तथा कर कार्यलयलाई हलवालाहरुको एकल विवरणमा निर्भर हुनुपरेको थियो । बक्स अफिस लागु भएसँगै यो अवस्था नरहने र यसले समग्र फिल्म क्षेत्रबाट उठ्ने कर संकलन पनि बढाउने छ ।