काठमाडौं। सरकारी स्वामित्वको नेपाल आयल निगमले खाना पकाउने (एलपी) ग्यासको घाटापूर्ति गर्न हवाई इन्धनमा अचाक्ली नाफा लिँदै आएको छ। अन्तर्राष्ट्रिय बजारमै निरन्तर इन्धनको मूल्य घटिरहेका बेला नेपालमा भने हवाई इन्धनको मूल्यमा अधिक नाफा लिएर निगमले बिक्री गर्दै आएको छ।
कालोबजार तथा केही सामाजिक अपराध सजाय ऐन २०३२ अनुसार सरकारले तोकेको कुनै पनि माल वस्तु र व्यापारको प्रचलन अनुसार सामन्यतया सयकडा २० भन्दा बढी नाफा लिएर बिक्री गर्न पाइँदैन। २० प्रतिशतभन्दा बढी नाफा लिएको अवस्थामा अथवा अभावको मौका छोपी वस्तुको समुचित नाफा लिई बिक्री गरेमा निजलाई पाँच वर्षसम्म कैद वा जरिवाना वा दुवै हुनसक्छ।
सरकारी ऐन उल्लंघन गर्दै लामो समयदेखि निगमले हवाई इन्धनमा अधिक नाफा लिएर बिक्री गर्दै आएको छ। अहिले हवाई इन्धन (आन्तरिक र वाह्य गरेर) ७८ रुपैयाँ १६ पैसा नाफा लिँदै आएको छ।
आन्तरिक उडानक लागि हवाई इन्धन प्रतिलिटर १ सय ९० रुपैयाँ लिटर र अन्तर्राष्ट्रिय उडानका लागि (बाह्य)का लागि १.६४५ अमेरिकी डलरमा बिक्री गर्दै आएको छ। एलपी ग्यासमा भने निगमले २ सय ७७ रुपैयाँ घाटा खाँदै बिक्री गर्दै आएको छ। अहिले एलपी ग्यास प्रतिसिलिन्डर १ हजार ८ सय रुपैयाँमा बेच्दै आएको छ।
निगमले विभिन्न बहानामा हवाई इन्धनमा अचाक्ली नाफा खाँदै आएकोप्रति वायुसेवा सञ्चालकहरूले लामो समयदेखि विरोध जनाउँदै आएका छन्। सरकारलाई पटक–पटक हवाई इन्धनको मूल्य समायोजनका लागि आग्रह गर्दा पनि बेवास्ता गरेको व्यवसायीको भनाइ छ।
अहिले वायुसेवा उद्योगमा चहलपहल देखिएपछि धेरै रकम इन्धनमा खर्चगर्नुपरेकाले समस्या भइरहेको कैलाश हेलिकोप्टरका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेले बताए। निगमको सञ्चित घाटा कम गराउन र एलपी ग्यासको घाटापूर्तिका लागि हवाई इन्धनको मूल्य वृद्धि गर्नु गलत भएको उनको भनाइ छ।
‘इन्धनको मूल्य वृद्धि हुँदा हवाई भाडा मँहगो भएको र स्वदेशी तथा विदेशी पर्यटक समस्यामा परेका छन्,’ पाण्डेले क्यापिटल नेपालसँग भने, ‘नेपाल आउने पर्यटकको एउटै गुनासो नै हवाई भाडा रहेकाले पर्यटक बढाउने नीतिमा हवाई इन्धन घटाउने विषयप्रति पर्यटन मन्त्रालयले गम्भीररूपमा सोच्नुपर्ने बेला आएको छ।’
हेली एभरेस्टका प्रबन्ध निर्देशक फुर्पाग्याल्जे शेर्पाले आम्दानीको २० प्रतिशत हवाई इन्धनमा खर्च भइरहेको बताए। सरकारले बनाएको कालोबजारी ऐन आफैं उल्लंघन गरेको भन्दै पर्यटन मन्त्रालयले तत्कालै अन्तरमन्त्रालय समन्वय गरेर समाधान निकाल्नु पर्ने उनको भनाइ छ।
आन्तरिक उडान गर्ने वायुसेवा तथा हेलिकोप्टर कम्पनीका छाता संगठन वायुसेवा सञ्चालक संघले पनि लामो समयदेखि हवाई इन्धनको मूल्यमा अचाक्ली नाफा लिने गरेको र त्यसलाई पुनरावलोकन गरिनुपर्ने भन्दै आयल निगम र सरकारको ध्यानाकर्षण गराउँदै आएको छ।
ग्यासमा अनुदान दिएको भन्दै हवाई इन्धनको मूल्य घटाउन निगम चाहँदैन। पछिल्लो समय नेपालमा हवाई यात्रु संख्या बढिरहेको छ। तर, निगमले भने धनी वर्गले मात्र हवाई यात्रा गर्ने आँकलन गर्दै आएको छ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले हवाई क्षेत्र सबैको पहुँचभन्दा बाहिर रहेकाले पनि इन्धनको मूल्य घटाउने विषयले प्राथमिकता नपाएको बताए। ‘सबै वर्गले प्रयोग गर्ने एलपी ग्यासमा अनुदान दिइरहेका छौं तर त्यसैको घाटा पूर्तिका लागि हवाई इन्धनबाट नाफा लिएका हौं,’ उनले भने।
जनताको प्रत्यक्ष सरोकार रहने पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य समायोजन अन्तर्राष्ट्रिय बजारअनुसार नै गर्दै आएको उनको भनाइ छ।