काठमाडौं। सरकारले मुलुकका विभिन्न स्थानमा एक दर्जन ‘सिग्नेचर ब्रिज’ निर्माण गर्ने भएको छ। दर्जनमध्ये एउटा सिग्नेचर ब्रिज बनाउन ठेक्का आह्वान गरिसकेको सडक विभागले बाँकी ११ पुल बनाउन अध्ययन गरिरहेको छ।
पुल निर्माण जिम्मेवारी विभागअन्तर्गतको पुल महाशाखाको हो। महाशाखाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) कृष्णराज अधिकारीले १२ वटा सिग्नेचर ब्रिजमध्ये अधिकांश पूर्व–पश्चिम राजमार्गमा बनाउने तयारी रहेको बताए।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवन नारायणी नदी, बुटवल तिनाउ, बारा बकैया, रौतहट बागमती, झापा रतुवा र मोरङ गछिया नदीमा सिग्नेचर ब्रिज निर्माण गर्ने योजना सरकारको छ।
त्यस्तै पृथ्वीराजमार्गमा कास्की विजयपुर खोला, काठमाडौं शंखमुलस्थित बागमती, परासी–भुमही सडकअन्तर्गत रुपन्देही रोहिनी खोला र धरान–धनकुटा सडकस्थित तमोर नदीमा पनि सिग्नेचर ब्रिज बनाउने योजना छ। १० स्थानमा सिग्नेचर ब्रिज निर्माण गर्ने योजना सरकारले सन् २०१७ अगाडि नै बनाएको थियो।
त्यसबाहेक मादी र सेती नदीमा पनि सिग्नेचर ब्रिज बनाउने योजना थपिएको सिडिई अधिकारी बताउँछन्। तर, यी पुल कहिले बन्छन्, एउटा पुल बनाउन कति खर्च हुन्छ भन्ने विषयमा विभाग अनभिज्ञ छ।
नेपालमा पहिलोपटक सिग्नेचर ब्रिज निर्माण गर्न लागेकाले नेपाली इन्जिनियरसँग प्राविधिक ज्ञान र निर्माण व्यावसायीसँग अनुभव छैन। जसका कारण विभागले डिजाइन र लागतको विषयमा ठोस काम गर्न सकेको छैन। सामान्यतया हाल निर्माण हुने पुलभन्दा सिग्नेचर ब्रिजको लागत ६ गुणासम्म बढी हुने महाशाखाको भनाइ छ।
अनुभव नहुँदा निर्माण व्यावसायी सिग्नेचर ब्रिज निर्माणको ठेक्का प्रक्रियामा सहभागी हुन चाहेका छैनन्। सडक विभागले गत कात्तिक २ गते नारायणीमा सिग्नेचर ब्रिज बनाउन ठेक्का आह्वान गरेको थियो। मंसिर २१ सम्म पुल बनाउन निर्माण व्यवसायीले इच्छा नदेखाएपछि विभागले फेरि ठेक्का आह्वान गरेको छ।
विभागका इन्जिनियरहरू पनि पृथ्वी राजमार्गमा पर्ने पोखराको विजयपुर खोलाको सिग्नेचर ब्रिज बनाउन आफैं अध्ययन गर्ने तयारीमा छन्।
पूर्व–पश्चिम राजमार्गमा निर्माण हुन लागेका सिग्नेचर ब्रिजको अध्ययनमा विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) ले सहयोग गर्ने भएको छ। त्यस्तै तमोर नदीमा बन्ने सिग्नेचर ब्रिजको ‘कन्सेप्चुअल डिजाइन’ को काम अन्तिम चरणमा पुगेको पुल महाशाखाले जनाएको छ।
कन्सेप्चुअल डिजाइन तयारीको काम विकास सहायता कार्यान्वयन महाशाखाको समन्वयमा भइरहेको छ। गछियामा बनाउन लागिएको पुलको अध्ययन एडिबीले गर्ने छ।
सञ्चालनको तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै विजयपुर खोलामा सिग्नेचर ब्रिज निर्माण गर्न लागिएका कारण विभागले प्राथमिकतामा राखेर अध्ययन गर्ने जनाएको छ।
‘अबको पहिलो प्राथमिकता नारायणी र विजयपुर खोला तथा काठमाडौं शंखमुलस्थित बागमतीमा निर्माण गर्न लागिएको सिग्नेचर ब्रिजलाई दिइने छ,’ सिडिई अधिकारीले क्यापिटल नेपालसँग भने, ‘एकपटक हामीले यी ठाउँको विस्तृत अध्ययन गर्छौं र एडिबीसँग पनि सहकार्य गर्छौं।’
उनका अनुसार शंखमुलमा शंखपार्कसँगै रहेको पुलमा सिग्नेचर ब्रिज बनाउने विषयमा छलफल भइरहेको छ। त्यस्तै तिनाउमा बनाउन लागिएको पुलको कन्सेप्ट डिजाइन भइरहेको छ।
‘सवारी चाप धेरै र एसियाली राजमार्गका रूपमा विकास गर्न लागिएको लगायत सबै हिसाबमा उपयुक्त भएर धेरै सिग्नेचर ब्रिजको योजना अगाडि सारिएको हो,’ अधिकांश सिग्नेचर ब्रिज पूर्व–पश्चिम राजमार्गमा निर्माण गर्ने योजना बनाउनुको कारणबारे सिडिई अधिकारीले भने।
सिग्नेचर ब्रिज आधुनिक प्रकारको हो। यो अन्य पुलको तुलनामा निकै आकर्षक हुने इन्जिनियर बताउँछन्। लागतका हिसाबले निकै महँगो मानिने सिग्नेचर ब्रिजको अवधारणा भारतबाट सुरु भएको मानिन्छ। भारतको बाजिरबाद र पूर्वीदिल्ली जोड्ने यमुना नदीको पुल भारतको पहिलो सिग्नेचर ब्रिज हो।
त्यसबाहेक इरासमस ब्रिज, रोटर्डाम ब्रिज, लन्डनको मिलेनियम ब्रिज, अल्मिलिया ब्रिज लगायत सिग्नेचर ब्रिजका रूपमा परिचित छन्। चीनले पनि धेरै सिग्नेचर ब्रिज बनाइसकेको छ।
सिग्नेचर ब्रिज ‘सिमेट्रिकल’ आकारमा निर्माण गरिन्छ। त्यसले पुलको सम्पूर्ण भार थाम्ने गर्छ। पछिल्लो समय ‘एसिमेट्रिकल आकार’ मा पनि सिग्नेचर ब्रिज निर्माण गर्ने चलन छ। सिग्नेचर ब्रिज डिजाइन निकै जटिल हुने गर्छ। इन्जिनियरका अनुसार ब्रिजको बीचमा पिलर बनाएर पूरै भागलाई तारले धान्ने गर्छ।
विदेशतिर बन्ने सिग्नेचर ब्रिज निर्माणमा उच्च गुणस्तरीय र बाक्लो स्टिल प्रयोग गर्ने गरेको पाइन्छ। आवश्यकता र पुलको डिजाइनअनुसार स्टिल प्रयोग हुन्छ। निर्माण क्रममा स्टिलसँगै उच्चस्तरको कंक्रिट सामग्री प्रयोग गरिन्छ।
सिग्नेचर ब्रिजमा पाइलन र डेक सबैभन्दा महत्वपूर्ण कम्पोनेन्ट हुन्। सिग्नेचर ब्रिज सफल निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन, माटो परीक्षण, भूगोल, पुल बन्ने स्थानलगायत अध्ययन तथा अनुसन्धान जरुरी हुन्छ। सिग्नेचर ब्रिज निर्माणमा ठूलो क्रेन आवश्यक पर्छ।
हेर्दा आकर्षक र कलात्मक हुने हुँदा सिग्नेचर ब्रिज अन्यभन्दा फरक खालको हुन्छ। नेपालमा अहिलेसम्म पुरानै शैलीका परम्परागत पुलमात्र बनाइरहेको अवस्थामा बन्ने सिग्नेचर पुलले पर्यटक आकर्षित गर्ने विभागको भनाइ छ।